टरिगाउँको डकौडा, हात्तिखौवाकी : जलपरी र एकान्तकुनाको पानी जहाज…

खेमराज रिजाल
तुलसीपुर, ११ पुस । आजको घाम घमाइलो छ । घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले लगाएको मेलामा सबैभन्दा ठुलो चर्चा टनेलमा अभिनय गर्ने एउटी जलपरीको छ । कतिपयले त तीनलाई नागिनी पनि भन्थे । खासमा वातानुकुलित पानीले भरिएको टनेलमा अक्सिजन फिट गरी नृत्य देखाउँदै दर्शकमाझ पुग्दा मुखबाट फुरररर फोहरा पालिदिँदा दर्शकका मोवाइल त्यसैतर्फ चुम्मा गर्न टासिन्थे । कला त हो…।

अहिले तुलसीपुरको मेलामा चलेको नयाँ भनेको छ त्यही त हो । अरू त बदाम, चना चटपटे, अचार, ब्ल्याङकेट आदि–आदि…। हो, यस्तै उत्पातपूर्ण नयाँ पना तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७५ सालमा ल्याएका थिए काठमाडौँमा पानी जहाजको कार्यालय खोलेर । २०७५ सालमा हाहाहा हुँहँुहँुहँु गर्दै २०७५ साल फागुन २ गते ललितपुरको एकान्तकुनामा यसरीनै होहल्लापूर्वक तामधामका साथ त्यो पानी जहाज कार्यालय उद्घाटन गरिएको थियो ।

त्यो बेला प्रधानमन्त्रीले पानी जहाज कार्यालयमा १६ जना कर्मचारी पनि नियुक्त गरेका थिए । ती कर्मचारी अझै पनि छन् भनिन्छ । त्यो बेला मान्छेले धुज्जु उठाउँथे पनि सायद भू–परिवेष्ठित मुलुकमा पानी जहाज कार्यालय कसरी खुल्यो । सायद मलाई त्यति जानकार त छैन । यस्ता अभ्यास अन्य विकशित मुलुकमा भएरै त होला प्रधानमन्त्री जस्तो अहोदाको व्यक्तिले पानी जहाज कार्यालय खोलेको । लाग्छ, अहिलेसम्म पनि त्यो पानी जहाज कार्यालयको गति उस्तै छ ।

२०२७ सालमा बनेको पानी जहाज ऐन थियो रे तर त्यो परिमार्जन पनि भएको छैन । न त खोलिएको पानी जहाज कार्यालयलाई कुनै कार्यदेश नै छ । खाली लगानी खेर गइरहेको छ । पानी जहाज कार्यालयबाट । हो, त्यसरी नै हामीले तुलसीपुरमा आयोजित महोत्सवमा जलपरीको एक फन्का हेर्दा गुमाएको पैसा कहाँ गएको छ । त्यसबाट हाम्रा आँखाले क्षणिक आश्चर्यभन्दा के पाए तर यो वापत कति पैसा मुुलुकबाट बाहिरियो भन्ने कुनै नेपालीलाई हेक्का छ ।

हरेक वर्ष हामीले यसरी नै मेला महोत्सवको आयोजना गर्दै आएका छौँ । मेला लगाउने ठेकेदारका अनुसार मेलामा सबैभन्दा बढी सहभागिता जुटाउन सकिने र बढी कारोबार हुने भनेकै तुलसीपुर नै हो । त्यसैले नै मेला महोत्सवको सिजनमा सबैको पहिलो रोजाइ हुन्छ तुलसीपुर । जे होस् तुलसीपुरमा मेला लगाइरहँदा सम्झौताको पुरै पैसा नपाए पनि जग्गाधनीले पैसा पाउँछन् । उपमहानगरपालिकाले पैसा पाउँछ । यातायात व्यवस्थापन र पार्किङ व्यस्थापनका नाममा केहीलाई आर्थिक लाभ होला तर दीर्घकालीन रूपमा सोचौँ त ती निर्भित स्टल यहीकै आयोजकले व्यवस्थापन गरेका हुन् ? यो प्रश्न सबैको मनस्पटलमा छ ।

कृतिम टनेलमा मत्स्य सुन्दरी हेरिरहँनुभन्दा ठिक सात दशक अघि तुलसीपुरकै टरिगाउँ विमानस्थलमा साच्चिकै रसियामा निर्मित डकौडा एयर आएको थियो । अठार यात्रु लिएर आउने डकौटाले यहाँबाट रुकुम, नेपालगन्ज र भैरहवा र काठमाडौँ सम्मको ट्रान्जिट सेवा पनि दिन्थ्यो तर त्यो डकौटा हराएको, आउँदै गरेको सिता एयर हराएको छ । आएको टुवीनटर हराउँदै आउँदै गरेको छ । हामीले नियमित हवाई सेवा देख्न र सेवा लिन सकिरहेका छैनौँ । सायद अब लगाउने चारवटा महोत्सवले टरिगाउँको विमानस्थलको स्तरोन्नतिका लागि बजेट खोज्नु पर्ने छैन ।

११ सालदेखि चल्न थालेको यो विमानस्थलको स्तरोन्नति नभइरहँदा यहाँ मेला र महोत्सवले चर्चा पाइरहेका छन् । नगरपालिकाको जलेको दमकल खरिदको सहयोगार्थ मेला लगाउन सकिन्थ्यो, तर उद्देश्य खोइ ? जब मेला सुरु हुन्छ, पत्रकार सम्मेलन गरेर खर्च सार्वजनिक गर्ने । जब महोत्सव सकिन्छ, आयव्यय सार्वजनिक नगरी आयोजक गुमनाम भइदिन्छन् । यस्तै शैली हाबी भएको छ मेला महोत्सव ।

भन्नु पर्दा त मेला महोत्सव सरोकारवालाको मिलिभगतको विषय हो । यसमा देखाउने दाँत एउटा चपाउने अर्कैै । किनकि तुलसीपुर मेला भराउनका लागि सर्वोच्कृष्ट क्षेत्र हो । खासमा मेरो व्यक्तिगत भनाइमा भन्दा त यो मेलाले मेरो घर परिवारको मात्र अनावश्यक रूपमा तीन हजार रूपैयाँ बढी अनुत्पादक रूपमा खर्च गरिदिने गरेको छ । हो, मैले फेरि सम्झे टरिगाउँको डकौडा, एकान्तकुनाको पानी जहाज कार्यालय र हात्तिखौवाको जलपरी सबै मेलाका स्वरूप हुन् । जति हेरे पनि उस्ता उस्तै…।