गोरक्ष समाचारदाता
दाङ, ११ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो जग्गामा भाडामा बसेका व्यक्तिलाई पुस मसान्तभित्र जग्गा खाली गर्न आग्रह गरेको छ । प्रतिष्ठानले विहिबार सूचना जारी गर्दै पुस मसान्तभित्र जग्गा खाली नगरे कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने समेत जनाएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ को दफा २६ बमोजिम घोराही–१४ स्थित जग्गामा ४०० शैयाको अस्पताल भवन निर्माणको प्रक्रिया अघि बढाउनु पर्ने भएकाले भाडामा लिएका व्यक्तिलाई तत्काल जग्गा खाली गर्न निर्देशन दिएको हो । प्रतिष्ठानले आफ्नो स्वामित्वमा रहेको घोराही–१४ अन्तर्गत कित्ता नं। ८१ को
सिस्ने सडक खण्डको दक्षिणतर्फको पाँच कट्ठा पार्किङ र सोही कित्ताको लमही–घोराही सडकखण्डको पूर्वतर्फको एक कट्ठा तीन धुर जग्गा भाडा दिने सहमति भएकोमा २०८२ असोजमा सकिएको र थप तीन महिनाको म्याद दिएकोमा उक्त समय पनि पुस मसान्तभित्र सकिन लागेकाले उक्त मितिमा जग्गा खाली गरिदिन सबैमा आग्रह गरेको छ ।
प्रतिष्ठानले जग्गा खाली गर्नका लागि २०८२ जेठ २९, २०८२ भदौ १० र २०८२ कात्तिक २ गते सर्त बमोजिम जग्गा खाली गर्न लिखित ताकेता गरिसकेको हुँदा पुस मसान्तभित्र उक्त जग्गामा रहेका सम्पूर्ण संरचना, सरसामान र सार्वजनिक सवारी साधनको पार्किङ समेत हटाउनु पर्ने स्पष्ट पारेको छ । प्रतिष्ठानले तोकिएको समयमा जग्गा खाली नगरेमा आगामी २०८२ माघ १ गतेदेखि कानुनी कारबाही अगाडि बढाउने जनाएको छ ।