टेकबहादुर पुन
देउखुरी, ११ पुस । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले खेलकुदलाई शिक्षा प्रणालीको अभिन्न अङ्गका रूपमा विकास गर्नु पर्नेमा जोड दिएका छन् ।
लमही नगरपालिकाले देउपुरमा सुरु गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘खेलकुद केवल मनोरञ्जनको साधन नभई विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासको बलियो आधार भएको बताए उनले भने– विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्न सकेमा देशले अनुशासित, आत्मविश्वासी र स्वस्थ नागरिक पाउनेछ ।’ उनले भने ।
मन्त्री तिमिल्सिनाले राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताले ग्रामीण तथा नगरस्तरका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने ढोका खोल्ने उल्लेख गरे । ‘हामीले आज गाउँ र नगरका खेल मैदानमा देखिएका प्रतिभालाई सही मार्ग दर्शन, निरन्तर अभ्यास र राज्यको सहयोगमार्फत् अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन सक्यौँ भने खेलकुदमार्फत् पनि देशको पहिचान विश्वमा स्थापित गर्न सकिन्छ,’ उनले भने ।
उनले प्रदेश सरकार खेलकुद पूर्वाधार विकास, प्रशिक्षक उत्पादन तथा खेलाडी प्रोत्साहनमा निरन्तर लागिरहेको जानकारी दिँदै आगामी दिनमा विद्यालय केन्द्रित खेलकुद कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए । ‘एक विद्यार्थी, एक खेल’ को अवधारणालाई अघि बढाउँदै खेलकुदलाई पढाइसँगै जोड्न आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा लमही नगरप्रमुख जोगराज चौधरीले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने, नेतृत्व क्षमता विकास गर्ने र कुलतबाट टाढा राख्ने महत्वपूर्ण भूमिका खेल्ने बताए । नगरप्रमुख चौधरीले लमही नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राख्दै आगामी दिनमा खेल मैदान, उपकरण तथा प्रतियोगितामा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रमुख लक्ष्मी योगीले स्वागत मन्तव्य व्यक्त गर्दै खेलकुदमार्फत् विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुने उल्लेख गर्दै सबै विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको सक्रिय सहभागिताले मात्र कार्यक्रम सफल हुने बताइन् ।