घोराहीमा आन्तरिकतर्फको बजेट कटौती

अमरराज आचार्य
दाङ, १० पुस । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ मा आन्तरिकतर्फको बजेट कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको १८ र्औँ नगर सभामा नगर प्रमुख नरुलाल चौधरीले आन्तरिक राजस्व सङ्कलन कम हुनु, उपमहागरको भवन तथा वडा कार्यालयहरूमा भएको क्षतिको पुनःनिर्माणमा बजेट खर्च भएकाले पुँजीगत खर्च कटौती गर्ने प्रस्ताव पेस गरेका हुन् ।

नगर सभाले पारित गरे बजेट कटौतीको प्रस्ताव कार्यान्वनमा जानेछ । उपमहानगरपालिकाले कुल बजेटको करिब १० प्रतिशत बजेट कटौती हुने जनाएको छ । घोराहीले वडा कार्यालयहरूलाई दिने भनिएको ८० लाख रुपैयाँबाट ५० प्रतिशत कटौती गरेर ४० लाख रुपैयाँ मात्र दिइने नगर प्रमुख चौधरीले कार्यक्रमा जानकारी गराएका थिए । कार्यालयका महाशाखा तथा शाखाहरूका कार्यक्रमको बजेटमा ७० प्रतिशत बजेट कटौती गरिएको छ ।

प्राथमिकताका अनुसार केहीमा कम र केहीमा ७० प्रतिशतसम्म बजेट कटौती हुने, नगर स्तरीय योजना अन्र्तगत ४० प्रतिशत बजेट कटौती हुने, नगर स्तरीय सबै योजनामा ४० प्रतिशत बजेट कटौती गरिने नगर प्रमुख चौधरीले नगर सभामा जानकारी गराएका थिए । ठेक्का भइसकेका योजनाबाहेक नयाँ ठेक्का तथा उपभोक्ता समितिमार्फत् गरिने योजनाहरूमा बजेट कटौती प्रस्ताव पारित गरेर लागु गरिने उनले बताए ।

आन्तरिक स्रोतको कमी, क्षति पुगेका संरचनाको पुनःनिर्माण तथा अनुदानमा समेत कटौती भएकोले बजेट कटौती गर्नुपरेको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । ‘राजस्वको धेरै उठ्ने स्रोत मालपोत हो, यसबाट पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन सकेको छैन र लक्ष्य अनुसार उठ्ने आवस्था पनि छैन’, उनले भने ।

उनका अनुसार अन्य स्रोतबाट पनि लक्ष्य अनुसार राजस्व सङ्कलन हुन सकेको छैन । उपमहानगरपालिकामा जेन–जी आन्दोलनका क्रममा कार्यालय, वडा कार्यालयमा पुगेको क्षतिको पुनर्निर्माण, आवश्यक सामग्री खरिद गर्नुपर्ने भएकाले बजेट कटौती गरिएको प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । ‘कार्यालयको निर्माण, सेवा प्रभावका लागि आवश्यक सामग्री, वडा कार्यालयहरूको मर्मत तथा आवश्यक सामग्री व्यवस्थापन गर्नु पर्नेछ’, प्रमुख प्रशासकिय अधिकृत केसीले भने, ‘यसमा रकम खर्च हुने भएकाले आन्तरिक तर्फको बजेट कटौती गर्न नगर सभामा प्रस्ताव गरिएको हो ।’

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार आन्तरिकतर्फको पुँजीगत बजेट कटौती गरिएको छ भने चालुतर्फको बजेट कर्मचारीको तलव भत्तामा खर्च हुने भएकाले त्यसतर्फ भने बजेट कटौती गरिएको छैन । पुँजीगततर्फको बजेट कटौती भएपछि विकास निर्माणमा प्रभाव पर्ने देखिएको छ । नगर सभामा गरिएको बजेट कटौतीको प्रस्ताव कार्यपालिकाले निर्णय गरिसकेको उनले बताए ।

‘कार्यपालिकाबाट निर्णय भएको विषयलाई नगर सभाबाट पारित गराएर कार्यान्वनमा लगिनेछ’, प्रमुख प्रशासकीय अधिकृत केसीले भने ।

सडक बत्तीको रकम नगरपालिकाले उठाउने

घोराहीमा सडक बत्तीको महशुल शुल्क उपमहानगरपालिकाले उठाउने भएको छ । प्रतिघरबाट मासिक ३० रुपैयाँका दरले सडक बत्तीको शुल्क उठाउने नगर सभामा प्रस्ताव गरिएको छ । रकम उठाउन आर्थिक ऐनमा व्यवस्था नभएकाले आर्थिक ऐन २०८२ संशोधन गर्न प्रस्ताव गरिएको छ । यसअघि सडक बत्तीको रकम सम्बन्धित टोल विकास संस्थाले तिर्ने व्यवस्था रहेको थियो । यसैगरी हाड छाला सङ्कलन केन्द्रको मासिक प्रतिकट्ठा एक हजार पाँच सय रुपैयाँका दरले लिइने भएको छ । हाल कार्यपालिकाले तोके बमोजिम रहेको छ । यसका लागि आर्थिक ऐनमा व्यवस्था गर्न थालिएको छ ।

गाडी भाडामा लगाउने व्यवसायीबाट व्यसाय वार्षिक तीन हजार रुपैयाँ कर उठाइने भएको छ । यस अघि गाडी भाडामा लगाउने व्यवसायको व्यवस्था आर्थिक ऐनमा नभएकाले थप गर्न थालिएको छ । यसैगरी नगर सभामा नगर प्रमुख चौधरीले घोराही उपमहानगरपालिकाको सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेक, घोराही उपमहानगरपालिकाको करार सेवामा कार्यरत कर्मचारीका सेवा सुविधासम्बन्धी मापदण्ड २०८२ पेस गरेका छन् । नगर सभाको अर्को बैठक पुस ११ गते बस्ने भएको छ ।