मुलुक परीक्षाको घडीमा

भुवन पोख्रेल

बुझ्नु पर्ने हुन्छ, २०÷४० वर्षसम्म सत्ता सम्हालेको दल पार्टीहरुका शीर्ष नेताहरु जनताबाट मागेर लुकेर बाच्नु पर्ने दिन आउने थिएन । उनीहरुले दशकौ गर्न नसकेको काम अब गर्लान् भन्ने विश्वास गर्न सकिँदैन । अवकाशमा गएर सल्लाहकारको भूमिका निर्वाह गर्नु पर्ने उमेरमा सत्ता रस्साकस्सीमा उत्रनु शीर्ष दलका नेताहरुलाई शोभनीय ठानिँदैन ।

पुरानै नेतृत्वले ठाउँ ओगटिरहँदा व्यापक जनअसन्तुष्टीबढेर जाने हुन्छ । आफूले काम गर्न नसक्ने अनि नयाँलाई पनि छेकिरहने प्रवृतिले देशको भलो हुँदैन । न त भ्रष्टाचारको जरा उखेलिन्छ न त बेथितिको अन्त्य नै । नेतृत्वमा पद, प्रतिष्ठा, सत्ता, कुर्सी को मोह रहिरहँदा मुलुकमा सुशासन कायम हुँदैन । जब दलहरु विधि, प्रक्रिया र पद्धतिमा चल्दछ तब मात्र देशमा सुशासनको अपेक्षा गर्न सकिन्छ । राजनीतिक सत्ता चलाउने भनेको दलहरुले नै हो तर दलहरु सच्चिएर अगाडि बढ्नु पर्छ ।

लोकतन्त्रको कडी राजनीतिक दलहरु हुन् । निर्दलीयताले त निरकुंशताको जन्म दिन्छ । नेपालमा निर्वाचन ढोका ढकढकाएर आइपुगेको छ । मुलुकको वर्तमान परिस्थितिलाई शान्तिपूर्ण निकास दिनका लागि भए पनि निर्वाचनको विकल्प अरु हुनै सक्दैन । नेपालमा नजिकिँदै गएको प्रतिनिधि सभाको निर्वाचनमा एक सय सात चुनाव चिन्ह सहित एक सय १४ राजनीतिक दल सहभागी हुनेछन् ।

नयाँ दल गठन गर्ने र संसदमा प्रवेश गर्ने आकांक्षा सकारात्मक रुपमा हेर्न सकिन्छ तर एक सय १४ राजनीतिक दलको सहभागीताले फेरि पटक–पटक झुण्ड संसद सिर्जना हुने सम्भावना बढाएको छ । जसले नेपालको स्थायित्व शान्ति सुरक्षा र विकासको मार्गमा फेरि कतै अवरोध त ल्याउने होइन भन्ने शंसय पैदा भएको छ । नेपालमा २०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएदेखि दलरुले चुनावमा बहुमत ल्याएर शासन सत्तामा पटक–पटक पुगे तर नेतृत्वको प्रवृति फेरिएन ।

मुलुकमा राजनीतिक स्थिरता कायम भएन । जनभावनालाई नेतृत्वले सम्बोधन गर्न नसक्दा वर्तमान परिस्थिति सिर्जना भएको हो । नेपालको राजनीति आज एउटा निर्णायक मोडमा उभिएको छ । यो मोड कुनै एक दल, एक नेता वा एक घटनाले बनाएको होइन । यो मोड तीन दशक लामो असफल राजनीतिक अभ्यास टुट्दै गएको जनविश्वास र नयाँ जेन–जी पुस्ताको सलबलाउँदो राजनीतिक चेतना नै हो । जेन–जी विद्रोह आकस्मिक आक्रोशको विस्फोट मात्र नभई त्यो त लामो समयदेखि भित्रभित्रै उम्लिरेको असन्तुष्टीको ज्वालामुखी थियो ।

बेरोजगारी, भ्रष्टाचार, अवसरमा पहुँच नहुनु, राम्रालाई भन्दा हाम्रलाई अघि सार्ने चाकढडी शासनले नै युवालाई सडक र सदन जताततै उर्लिने वातावरण तयार भएको हो । राजनीतिबाट वाक्क भएका युवाले राजनीतिप्रति चासो दिन थालेका छन् । युवाहरुले राजनीतिलाई फोहरी खेल हो भनी पन्छिनुको साटो राजनीति किन फोहरी भयो भनी खोतल्न थालेका छन् । युवा समूहमा सामाजिक सञ्जालमार्फत् देखिएको जागरणले विश्व नै चकित बनेको छ ।

जेन–जी आन्दोलनले भौतिक र मानवीय क्षति त भयो तर नयाँ राजनीतिक संस्कार स्थापित गर्ने गरी अघि स¥यो । युवाहरु अब राजनीतिक आलोचक मात्र होइन परिणाम देखाउन अग्रसर छन् । पुराना राजनीतिक दल कांग्रेस, एमाले र माओवादी तीनै दल मात्र जनताको नजरमा विश्वास योग विकल्प रहेनन् । जनतामा दलहरुप्रति गहिरिँदो वितृष्णा देखिन्छ । पुराना दलहरु विचारभन्दा व्यक्ति, नीतिभन्दा स्वार्थ र सङ्गठनभन्दा गुटमा सीमित हुँदा आजको विषम परिस्थितिको सामना गर्नुप¥यो ।

संसद पुनस्थापनाको माग गर्दै अदालतलाई राजनीतिक दबाबमा पार्ने प्रयास हुनुले पुरानो नेतृत्व परिवर्तन होइन, सत्ता दोहो¥याउने रणनीतिमा मात्रै केन्द्रित छ भन्ने प्रमाणित हुन्छ । यस्ता कारणले नै नागरिकमा वितृष्णा बढेर गएको छ । जनताले पुराना प्रवृतिबाट वाक्क भएर नयाँ अनुहार मात्र होइन, नयाँ संस्कार खोजिरहेका छन् । पात्र फेरिए पनि प्रवृति नफेरिएर जनता निराश छन् । पुराना शक्तिले आफ्नो स्वार्थ र गुटलाई प्राथमिकता दिन्छ ।

नयाँ पुस्ता अब पुरानै प्रवृति स्वीकार्न चाहँदैनन् । युवाले परिणामुखी, जवाफदेही र पारदर्शी नेतृत्व खोजिरहेका छन् । रवि, बालेन, कुलमानको पहलले पुरानो शक्तिको प्रभावलाई सन्तुलन गर्दै जनमत बटुल्ने सम्भावना बढेको छ । यदि नयाँ शक्ति पनि पुरानै दल जस्तो राम्रालाई भन्दा हाम्रालाई जोगाउने प्रवृति दोहोरियो भने जनताले माफि दिने छैनन् । रविको राजनीतिक कमाण्ड, बालेनको उत्प्रेरक शक्ति र कुलमानको कार्यान्वयन क्षमतालाई अन्तरघुलन गर्नका लागि यी तीनैजनता आसेपासेको साँघुरो घेराभन्दा बाहिर हुनुपर्छ ।

अज मुलुक लोकतान्त्रिक परीक्षाको घडीमा छ भने लोकतन्त्रको कडी निर्वाचन हो । पुराना दलहरुले पनि प्रतिशोध र प्रतिरक्षाको राजनीतिक कुसंस्कारबाट माथि उठेर लोकतन्त्रको संरक्षकको भूमिकामा मियो बनेर अडिनुपर्छ । लोकतन्त्रमा निर्वाचनको विकल्प हुँदैन । चुनावबाट पुराना दलहरु मागेर होइन चुनाव जितेर प्रणाली बदल्न कोसिरमा आजै जुट्ने बेला आएको छ । पुराना दलले पनि संयुक्त पहलमा अघि बढ्नुपर्छ ।

निर्वाचन जितेपछि दलहरुको सबैभन्दा ठुलो परीक्षा सुरु हुन्छ । अब पुराना दलहरु लोकतान्त्रिक, प्रगतिशील, समानुपातिक, समावेशी र अग्रगामी चरित्रको हुनुपर्छ । पार्टीहरुले कुशासन र भ्रष्टाचारसँग शून्य सहनशीलता नअपनाउने हो भने पतनको बाटोमा जाने छन् । अबको नयाँ पुस्ताले व्यक्ति पूजा, अन्धभक्त, स्तुतीगान र हिरोइज्मलाई विश्वास गर्दैन बरु विवेक सम्मत, तार्किक र संस्थागत प्रक्रियामा विश्वास गर्दछ । सत्तालिप्सा होइन स्पष्ट बहुमत नआएसम्म प्रतिपक्षमा बस्ने धैर्य देखाउने क्षमताको विकास पुराना दलले गर्नुपर्छ ।

देश बनाउने चर्को भाषण, दलको घोषणापत्र भन्दा नेतृत्वको चरित्रमा सुधार गर्नु पर्ने देखिन्छ । अहिलेको युवा पुस्ता राज्यमा रोजगारी, अवसर नपाएर विदेश पलायन भइरहेका छन् । उनीहरुलाई रोजगारी, सेवा प्रवाह न्याय र अवसरको मामलमा राज्य संक्षम बन्नु पनेै देखिन्छ । निर्वाचनमार्फत् बलियो जनदेश प्राप्त गर्नका लागि पुराना राजनीतिक दल आन्तरिम रुपबाटै सच्चिएर जनता माझ आउनुपर्छ ।

सत्ता केन्द्रित स्वार्थ पुराना दलले त्यागेर शासन प्रणालीलाई कुशल बनाउनु पर्दछ । पटक–पटकको अस्थिर सरकार, अस्वभाविक गठबन्धन, निर्णयहीनताको चक्र तोड्नु, स्पष्ट बहुमत र संस्थागत सुधार अपरिहार्य ठहर्छ । अब राजनीतिक दलका नेतृत्व वर्ग लोकरिझाइ नभई जिम्मेवार भएर चुनाबी मैदानमा उत्रिनु पर्छ । इतिहासले एक पटक ढोका खोल्छ त्यो समयमा जनताको विश्वास जित्न सकिएन भने पटक–पटक ढोका ढकढकाउँदा पनि इतिहास रच्न सकिँदैन ।

जेन–जी आन्दोलनपछि भएको अन्योलता, छटपटी र उकुसमुकुसलाई चिरेर उत्साहको लहर ल्याउन ताजा जनादेशमा जानुको विकल्प छैन । नेपालमा प्रजातन्त्र आएदेखि थुप्रै राजनीतिक उथलपुथल भए । प्रलयकारी हिंसात्मक माओवादी द्वन्द्व नि यही पुस्ताले देखे भोगेको हो । परिवर्तन र रुपान्तरणका लागि भएको विध्वसंको प्रत्यक्ष दर्शी यही पुस्ता हो ।

मुलुकमा २०६२÷०६३ को दोस्रो आन्दोलनपछि नयाँ राजनीतिक व्यवस्था अनुसार संविधान सभाबाट संविधानm सङ्घीय संरचनामा मुलुक गएको हो तर नेताहरुको पद, पैसा र प्रतिष्ठा प्रतिको मोहको कारण समाज रुपान्तरण हुन सकेन । जनताहरुको अवस्थामा सुधार हुन पनि सकेन । नेतृत्व वर्गमा विचार, सिद्धान्त नीतिमा खडेरी देखियो । बरु सत्तालिप्सामा जनमत र जनअपेक्षा विपरितका क्रियाकलापमा संलग्न भएो पाइयो ।

मुलुकमा सुशासन, विकास, शान्ति, समृद्धि र स्थिरताको आशा गरेका नागरिक निराश बन्न पुगे । नेतृत्वमा भ्रष्ट प्रवृति मौलाउँदै जाँदा जनभावनाको सम्बोधन भएन । नागरिक असन्तुष्टी चुलिँदै गयो, सामाजिक सञ्जालमा नेतृत्वका गलत प्रवृतिका विरुद्ध औंला उठाउन थालियो । युवाहरुलाई मुलुकभित्र रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता संविधानका मौलिक हकबाट बञ्चित हुनु प¥यो ।

विदेशतर्फको ठुलो पलायन र डिजिटल संसारको विस्फोट भइरहँदा युवाहरुले सामाजिक सञ्जालको प्रतिबन्धको विरोधमा जेन–जी आन्दोलन भाद्र २३ र २४ भयो । यो विद्रोले थुप्रै युवाले बलिदानी दिनु प¥यो । युवाको त्याग, बलिदानी र समर्पणबाट सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार बनेको छ र यो सरकारले फाल्गुन २१ गते चुनावको मिति घोषित गरेको छ । जेन–जी आन्दोलनमा सरकारमा रहेका राजनीतिक दल र नेतृत्व निर्धक्कका साथ चुनावी मैदानमा देखिँदै छन् ।

उनीहरुका नारा र भाषणले फेसर सर्वसाधरण जनताको भावना माथि खेल्ने छन् र उनीहरुले नै दिएको अमूल्य मतको अबमूल्यन गर्ने छन् अनि कसरी हुन्छन् मुलुकमा रुपान्तरण आम नागरिक अब चुनावको पूर्वसन्ध्यामा गम्भीर भएर सक्षम, पारदर्शी र जनपक्षीय नेतृत्वलाई जिताएर भष्टहरुलाई पाखा लगाउने समय यही हो । तपाई हाम्रो मतले उनीहरु चुनिने हुन् । त्यसर्थ तपाईको एक मत पनि निर्णायक बन्न सक्छ तसर्थ भीड, भाषण र नाराको पछि होइन सक्षम, जुझारु र संघर्षशील नेतृत्वलाई यस पटक मौका दिनुहोस् ।

जेन–जी विद्रोह र त्यसको आँडमा घुषपैठ, लुटपाट, ध्वसं, आगजनी पछि पुराना दलहरुको अब अवसान हुन्छ भन्ने जुन परिकल्पना गरिएको थियो । त्यो असत्य सावित भइसकेको छ । एमालेको महाधिवशेनसँगै पुराना दलका चर्का भाषण सुन्न थालिएको छ । विस्तारै केपी ओलीले राजनीतिक माहोल बनाएर पुनः पार्टी सभापतिमा चुनाव जिते । यसरी सत्ता सम्हाल्न नसकेर आफ्नो जिउज्यानको सुरक्षाका लागि प्रधानमन्त्रीको पदबाट भागेका व्यक्ति पुनः राजनीतिमा आफ्नो बर्चस्व कायम गर्नु र सार्वजनिक ठाउँमा फर्किने वातावरण बनाउनु चानचुने कुरा होइन ।

सबै आन्दोलका स्वरुप हेर्ने हो शासन सत्तामा रहेका दल र व्यक्तिका सुरुा दिन केही असजिलो रहे पनि त्यही फेरि सार्वजनिक जीवनमा फर्किएर राजनीतिक मियो बनेका उदारण नेपालमा थुप्रै छन् । भिडमै लछारपछार सहेका देउवा दम्पत्ति पनि सोचेभन्दा छिट्टै सार्वजनिक जीवनमा फर्किएका छन् ।

कांग्रेसका धेरैजसो नेताले संसद पुनस्थापना भन्दा पनि निर्वाचनमा जोड दिँदै आएका छन् तर एमालेले निरन्तर पुनस्थापनामा जोड दिएको छ । यदि दलहरु परिवर्तित मनस्थितिमा नदेखिने हो भने उनीहरुलाई चुनावमा घुँडा टेकाउने छन् जनताले । भर्खरै भएको जेन–जी विद्रोहको प्रष्ट सन्देश नेताहरु सच्चिउन भन्न हो राजनीतिक दलहरु रुपान्तरण होउन, पुस्ता अन्तरण होउन । यो युवा पुस्ताले भ्रष्टाचार र बेथित अन्त्य गरी सुशासन स्थापना गर्नको लागि आन्दोलन गरेको हो ।

जेन–जी विद्रोको रापताप सेलाउन नपाउँदै दलहरु विस्तारै पुरानै लयमा फर्कदै गएका छन् तर नेतृत्व वर्ग पुरानै मानसिकतामा चल्नु हुँदैन उनीहरुमा परिवर्तन देखिनु जरुरी छ । शीर्ष दलका नेताहरुले विद्रोह किन भयो भन्ने यथार्थलाई कदापी भुल्नु हुँदैन । बरु आफूहरु सच्चिने पर्यटन गर्नु पर्छ । नेतृत्व अब कि सच्चिने कि सक्किने बाहेयक अरु विकल्प छैन । विगतमा जस्तो आन्दोलनमा दमन गर्ने र विध्वंश मच्चाउनेहरुले यस पटक उन्मुक्ति दिनु हुँदैन । देशको वर्तमान जटिल अवस्था सिर्जना हुनुमा नेतृत्वको नालयकीपन देखिन्छ ।

नेपाली कांग्रेसका कतिपय नेताले विद्रोहको मर्म आत्मसात गरी सच्चिने प्रतिबद्धता जनाए । कांग्रेस अझै नेतृत्व परिवर्तन र पुस्तान्तरणको विषयमा स्पष्ट छैनन् । हस्तान्तरण, पुस्तान्तरणको दबाबमा परेका पुराना दलहरुको बिचमा नयाँ दलहरुले ठाउँ लिने छनक देखिन्छ । आफ्नो सिद्धान्त र लक्ष्यबाट पुराना पार्टीहरु बिमुख हुँदै जाँदा नयाँ शक्ति उदाउने सम्भावना देखिन्छ ।

युवाहरु माझ राम्रो छवि बनाइरहेका रास्वापाका रवि लामिछाने, बालेन, उज्यालो पार्टीलगायतका एउटै शक्तिमा आवद्ध हुने सम्भावना देखिन्छ । पुराना दलहरुमा वितृष्णा भइरहेको वर्तमान अवस्थामा नयाँ शक्ति उदायीमान हुन सक्ने प्रबल सम्भावना देखिन्छ । पुरानासँग दिक्क भएको जनमत नयाँ शक्तितर्फ आकर्षित नहोला भन्न सकिँदैन । नेपाली राजनीतिमा नयाँ दल रोज्नेलाई उत्साह छ भने पुराना दल रोज्ने निराश बन्दै छन् ।

परम्परागत राजनीतिको जग नै हल्लाउने गरी नयाँ राजनीतिक शक्ति उदयीमान बन्दै छन् । जनता अब पुराना दलको कार्यशैलीबाट असन्तुष्ट भएका छन् । कांग्रेस, एमाले, माओवादी लगायत परम्परागत दल र तीनका नेतालाई गाली गरेर रास्वपा उदाएको थियो । यदि रुपान्तरण नहुने हो भने रास्वपा पनि परम्परागत दल जस्तै उही दल–दलमा भासिने छ । नेताहरुलाई गाली गर्दै काठमाडौँका मेयर बनेका बालेन्द्र शाह पनि आलोचनामुक्त छैनन् ।

कुलमान घिसिङ पनि उज्यालो पार्टीको माध्यमबाट उदाएका छन् । जेन–जी पुस्ताको नेतृत्व गर्ने भन्दै नयाँ दलहरु उदयीमान बन्दै छन् । अबको राजनीतिक लडाई भाषणको होइन भिजनको हुनु पर्ने छ । नेपालका राजनीतिक पार्टीहरुले नेतृत्वमा पुस्तान्तरण रुपान्तरण हुनु पर्ने देखिन्छ । राजनीतिक दलहरु पुरानै नेतृत्वको वरिपरी घुम्ने हो भने त्यहाँ, विधि, प्रक्रिया, पद्धतिको गुन्ज्यास रहँदैन ।

नेतृत्वमा पुरानो पुस्ता असफल भइसकेको छ । यो पुस्ताले त्यही नेतृत्वबाट परिवर्तनको अपेक्षा गर्दैन । पुराना पार्टीहरुले मुलुकलाई मार्ग प्रशस्त गर्नुको साटो भागेर लुकेर ज्यान जोगाएको यथार्थलाई स्वीकार्नु पर्छ । पुराना दलका शीर्ष नेताहरुबाट जनताले निराशा सिवाय केही अपेक्षा राख्न सकिँदैन । नेताहरुको ठुलो तप्का जेन–जी विद्रोहका बेला लुकेर बसेको यथार्थलाई यति चाडै बिर्सिएर चुनावी मोहालमा रस्साकस्सीमा उत्रिएका छन् ।

पुराना दलहरुले प्रजातन्त्रको पुनः स्थापनादेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा योगदान पु¥याएकै छन् । उनीहरुले देश बनाउन पटक–पटक पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।