चिसो मौसमले जनजिवन प्रभावित, हल्का वर्षातदेखि हिमपातसम्मका सम्भावना

खेमराज रिजाल
तुलसीपुर, १० पुस । पुस छोटो महिना भएका हुनाले ‘पुस फासफुस’ भन्थे तर सुरुआतमै देखिएको चिसो मनसुनी प्रभावका कारण मध्यपुस नआइपुग्दै नागरिक अत्तालिन थालेका छन् । यसले बालबालिका, बृद्धबृद्धा अनि आम गरिखानेलाई समेत प्रभावित पारेको छ ।

सडक किनारामा ‘गत्ता’ बालेर जिउ सेक्नेहरूको भिड देखिन थालेको छ । सवारीसाधनमा यात्रा गर्नेहरूले सडक छिचोल्न पाएका छैनन् । प्रायः नेपालभरि यसको प्रभाव देखिएको छ । विक्रम चौधरी दाङ–दिल्ली सार्वजनिक बस चलाउँछन् । आज मात्र दिल्लीबाट काठमाडौं आइपुग्दा कम्तीमा ६ घण्टा बढी समय लाग्यो । ‘कुनै रुटमा त प्रतिघण्टा ३० किमीको गति चलाउन पनि सकिएन, सडक असहज भएर भने होइन’, विक्रमले भने ।

भारतीय सीमामा यो क्रम विगत तीन दिनदेखि अलि बढी क्षेत्रमा फैलिएको छ । त्यहाँका प्रहरीका अनुसार यो मनसुनी खराबी अझै एक सातासम्म रहने छ । छिमेकी देश भारतमा मात्र होइन, नेपालमा पनि ‘लो भिजिविलिटी’को समस्या व्यापक बन्दै गएको छ । त्यसैले आफूहरूले चालक र कर्मचारीलाई सम्यमित भएर सवारी चलाउन भनेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले भने ।

केही दिन यता दिनभरको बाक्लो तुवालोका कारण यात्रुहरूलाई गन्तव्यमा पु¥याउन कठिनाइ भएको अन्य चालकले पनि बताएका छन् । यो तुवालोको समयमा ओभरटेक गर्नु भनेको सबैभन्दा ठुलो दुर्भाग्य हेनछ । यसमा लाइट डिम र लाइट हाइका विषयमा सबै चालकलाई सचेत हुन भनिएको समितिका अध्यक्ष हमालले बताएका छन् ।

मौसम तथा जलवायु विज्ञान विभाग विज्ञका अनुसार सक्रिय मनसुन समाप्त हुने र नयाँ मौसम सुरु हुने समयमा यस्ता उतारचढाव हुन्छन् । मनसुनभरमा परेको पानी पनि रित्तिइसकेको हुँदैन । फेरि अर्को वर्षातका लागि यो मनसुनी वायुले अवसर खोजिरहेको हुन्छ । त्यसका लागि उपयुक्त समय भनेको यही रहेको मौसमविद वसन्त जोसीले भनेका छन् । यो हवाको वेगसँगै कहिले कता वरालिन्छ त कहिले कता । त्यही कारण यसको प्रभाव कहाँ कति पर्ने भन्ने एकिन पूर्वानुमान गर्न सकिँदैन ।

दाङकै सन्दर्भमा पनि करिब बिहानको नौ÷दश बजेसम्मको भिजिविलिटी कमजोर हुन्छ । यो सयम भनेको विद्यार्थीले स्कुल बसको प्रतीक्षा गर्ने समय हो । खास गरी यो अवधिमा अत्यधिक गतिमा सवारी नचलाइदिन अभिभावकले व्यवसायीसँग अनुसोधसमेत गरेका छन् । ‘हित्तीको मान्छे पनि देखिन्न, त्यसैले सुस्त सुस्त गाडी चलाइदिनुस् है’, आफ्नो बच्चा स्कुल पु¥याउन सडकसम्म आएकी बिमला केसीले चालकलाई भनिन् । यस्तो बाक्लो तुवालोका कारण सडक जोखिम बढेको छ ।

खास गरी मध्य तथा पश्चिम तराई र मधेस प्रदेशमा अहिले बाक्लो तुवालोको प्रभाव छ । यसको असर बुधवारदेखि दाङ जिल्लामा पनि देखिएको छ । बुधवार दाङमा अत्यधिक चिसोको अनुभव गरिएको छ । दिनभरमा एक घण्टा पनि घाम लागेन । पसलहरूमा ग्राहक चहलपहल शून्य प्रायः देखिन्छ । पसलेहरू सडकमा आगो बालेर तापिरहेका देखिन्छन् । फलफूल पसल र चिसोको पसल पनि सुनसान छन् । चिया पसलहरूमा भने फाटफुट उपस्थिति देखिन्छ ।

अस्पतालमा खास गरी चिसोका बिरामी बढिरहेको स्वास्थ्य संस्थाले बताएका छन् । बिजौरीथित प्राप्ती मेडिकलमा नेवोलाइजर लगाउने बालवालिका र दमका बिरामी दिनभर भरिभराउ देखिन्थे । ‘यी त सिजनल बिरामी हुन्, यी बिरामीमा खास गरी श्वासप्रश्सासको समस्या देखिने गरेको प्राप्ती मेडिकलका सञ्चालक च्यावन भट्टराईले भने ।

उता तुलसीपुरस्थित तुलसी अस्पतालका चिकित्सक तथा बालरोग विशेषज्ञ डा किशोर खत्रीले पनि मौसम प्रतिकूल भएका कारण चिसोका बिरामी अत्यधिक बढेको बताएका छन् । यो समयमा सकेसम्म बालबालिकालाई प्रशस्त न्यानोमा राख्ने, तातो पदार्थ खुवाउने, श्वासप्रश्सासको समस्या भएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान सुझाव दिएका छन् ।

चिसो मौसममा बढी गरेर इन्फ्ल्यन्जा, दम तथा अन्य भाइरल सङ्क्रमण हुने भएकाले चिसोबाट बच्न अधिक्तम उपाय गर्ने उनले सुझाव दिए । श्वाप्रश्वासमा अधिक समस्या भए अक्सिजनसम्मको सेवा भएको स्वास्थ्य संस्थामा जान बिरामीलाई उनले सुझाएका छन् । मनसुनी परिवर्तनसँगै देखिएको बाक्लो तुवालोका कारण हवाइ सेवासमेत अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतै कतै मौसम खुलेपछि मात्र नियमित उडान भएका छन् ।

चिसो मौसमका कारण सबैभन्दा असहज अवस्था सडकमा ड्युटी गर्ने सुरक्षा निकायलाई भएको छ । केही वर्ष अघिका यस्ता जाडोका मौसममा चोक चाकमा दाउरा व्यवस्थापन हुने गर्दथ्यो । त्यसको चाँजोपाँजो स्थानीय प्रशासनले काठ व्यवसायीसँग मिलाएर गरिदिन्थ्यो तर यो वर्ष त्यस्तो अभ्यास देखिएको छैन । यसले गर्दा प्रहरी बिटमा कार्यक्षेत्र रहेका प्रहरी जवानलाई थप सास्ती व्यहोर्नुपर्ने भएको छ ।

साँझ झिसमिसेसम्म सुरक्षाकर्मीहरू काट्ठिएर काममा खाटिएका छन् तर जिल्ला प्रहरी प्रमुखले भने भालुबाङदेखि तुलसीपुरसम्मकै बिटहरूमा दाउराको व्यस्थापन भइसकेको दाबी गरेका छन् ।