मेरो खुशी : नागरिको सेवामा समर्पित हुन पाउँदा …

उनी सधै सेवामा तल्लिन छन् । सरल सहज र सहयोगी भावना भएका समाजमा हुने हरेक सामाजिक कार्य होस् वा स्वास्थ्यसम्बन्धी गतिविधिका साथै सेवामा तल्लिन तुलसीपुर–९ निवासी बुद्धिराज सापकोटाले आफू सधै सत्कर्मका साथ काम गरेको बताउँछन् । उनले जीवनका हरेक मोडमा दुःखसँगै खुसीहरू पनि आफूले पाएको बताउँछन् ।

प्राविधिक विषय बढेर स्वास्थ्य सेवामा लागेका सापकोटाले आफ्नो पहिलो खुसी एक हजार पाँच सय तलब हातमा पर्दाको सुनाए । ल्याव टेक्निसिलयन पढेका सापकोटाले २०६७ सालमा आफूले मासिक तलब १५ सय बुझ्दाको दिन आफू निकै खुसी भएको सम्झिए ।

‘मेरो परिवारले मलाई आर्थिक अभाव रहँदा पनि टेक्निकल विषय पढाउनु भएको थियो, मैले सो विषय पढेर तुलसीपुरमा आएर पहिलो पटक स्वर्गद्वारी प्याथोलोजिमा जागिर खाए’ सापकोटाले भने । जागिरसँगै मेरो पहिलो महिनाको तलब १५ सय मेरो हात पर्दा म निकै खुसी भएको थिए । ‘मेरो पहिलो तलब १५ सय मेरो जीवनको पहिलो खुसी हो त्यही लेखिदिनु होला’ सापकोटाले भने ।

सापकोटाले त्यस दिन सो तलब लगेर आमाको हातमा दिएको समेत बताए । ‘मेरो आमाले आफूले लगाएको सुन समेत राखेर मलाई पढाउनु भएको थियो, पहिलो तलब आमाको हातमा पार्दा त्यो दिन मलाई जीवनमै पहिलो खुसी मिलेको थियो अन्य खुसीहरू पनि छन् तर म त्यो खुसी कहिले भुल्न सक्दैन’ सापकोटाले भने । उनले त्यो सँगै अब आफू आफ्नो खुट्टामा उभिन सक्ने भएछुँ भन्ने मनमा लागेको भन्दै खुसी व्यक्त गरे ।

‘मैले पढाइ सकेपछि अब आफ्नो खुट्टामा आफै उझिन सके अब म जहाँ गए पनि काम गरी खान सक्छु आफ्नो सिप बेचेर’ भन्ने खुसी लागेको उनले सुनाए । त्यस्तै मेडिकल ल्याब्रोटरी एशोसियसन अफ नेपाल (मेलान) को जिल्ला सचिवको जिम्मेवारी समेत निभाएका सापकोटाले प्रयोगशालाकर्मीहरूको छाता सङ्गठमा लागेर सबै ल्यावको एउटै मुल्य हुनुपर्छ भनेर आवाज उठाउनेदेखि विभिन्न सङ्गठनको हित र व्यवसायिक हितमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘साथीभाइ अग्रेजहरूले मलाई सचिव जस्तो जिम्मेवारी पदमा लग्नु भएको छ यसमा पनि म खुसी छु’ उनले भने । त्यस्तै उनले विश्वमा नै महामारीको रूपमा फैलिएको कोभिड–१९ को समयमा आफूहरूले विभिन्न स्थानमा पुगेर स्वाप सङ्कलनदेखि विभिन्न सेवा गरेको भन्दै धेरैको जीवनको सुरक्षा गर्न पाउँदा पनि खुसी लागेको सुनाए । ‘जुन बेला मानिस घरबाट बाहिर निक्लने अवस्था थिएन त्यति बेला हामी फिल्डमा खटिने गरेका थियौँ त्यति बेला सेवा गर्न पाएकोमा पनि म खुसी छु’ उनले भने ।

त्यस्तै ब्लड बैंक घोराहीमा समेत काम गरेका सापकोटाले रगतको अभाव हुन नदिन विभिन्न स्थानमा पुगेर ब्लड सङ्कलनदेखि रगतको अभाव हुन नदिन त्यहाँ रहँदा धेरै काम गरेको भन्दै खुसी व्यक्त गरे । ‘म जुन संस्थामा रहे पनि सधै मानवीय सेवामा लागे रात दिन २४ सै घण्टा म तल्लिन हुने गरेको छुँ, मेरो काम र कर्म भनेको सेवामा म यसैमा खुसी छु’ सापकोटाले भने । त्यस्तै उनले २०७२ सालमा तुलसीपुरमा आफूहरूले विशेषज्ञ डाक्टर सहितको सेवा दिनका लागि तुलसीपुर सिटी पोलिकिल्निक सुरु गरेकोमा पनि निकै खुसी लागेको सुनाए ।

‘पहिले तुलसीपुरमा स्वास्थ्य सेवाको विस्तार भएको थिएन हामीहरूले विशेषज्ञ तथा २४ सै घण्टा सेवा दिने भनेर तुलसीपुर सिटी पोलिकिल्निक सुरु गरेका थियाँै अहिले अस्पताल भएको छ’ उनले भने । अहिले अस्पतालबाट विभिन्न विशेषज्ञ सेवा सहित यही सबैले विशेषज्ञ उपचार सेवा पाएको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै तुलसीपुर नगर जेसीजको विभिन्न जिम्मेवारी पूरा गरी अहिले महासचिवमा निर्वाचित भएको भन्दै सापकोटाले तुलसीपुर नगर जेसीजको स्वास्थ्य संयोजक, सचिव, पिआरो, कार्यक्रम सुपरिवेक्षक, अध्यक्ष सल्लाहकार हुँदै विभिन्न जिम्मेवारी पाउँदा पनि खुसी लागेको सुनाए । ‘म जेसीजमा लागेर आफ्नो नेतृत्व व्यक्तित्वको विकाससँगै विभिन्न सामाजिक सेवामा लाग्न पाए म यसमा पनि खुसी छुँ’ सापकोटाले भने ।

उनले जेसीजमार्फत् विभिन्न स्थानमा स्वाथ्य शिविर, स्वास्थ्य हेल्पडेक्स राखेर सयाँैलाई सेवा दिने अवसर पाएकोमा पनि खुसी व्यक्त गरे । ‘मलाई साथीभाइ अग्रजले विश्वास गरी जिम्मेवारी दिनुभएको छ यो पनि मेरो लागि खुसीको कुरा हो’ उनले भने । ‘सेवाग्राहीहरू हाम्रो देउता हुनुहुन्छ उहाँहरूको दैनिकी सेवा गर्न पाउँदा पनि खुसी लाग्छ’ उनले भने । त्यस्तै मनकामना कृषि सहकारी संस्थामा पनि नेतृत्व गरेका सापकोटाले संस्थाको विधि विधान र संस्थामा रहेर किसानको उन्नतिका लागि सेवा गर्न पाएकोमा पनि खुसी व्यक्त गरे ।

सापकोटाले आफ्नो घर परिवारमा पनि सबैले साथ सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । सापकोटाले घरमा छोरा छोरीको जन्म हुँदा तथा आफू २०६७ सालमा विवाह बन्धनमा बाँधिदा पनि खुसी लागेको सुनाए । ‘मेरो छोराछोरी सन्तान प्राप्तीसँगै मलाई समाजसेवा तथा अन्य कामका लागि बुवाआमा, श्रीमती सबैको साथ सहयोग छ म यसमा पनि खुसी छु’ सापकोटाले भने । उनले मानिस खुसी हुनका लागि आत्मसन्तुष्टिका साथै सतकर्ममा लाग्नु पर्ने बताए ।

प्रस्तुति : बालाराम खड्का