गोरक्ष समाचारदाता
दाङ, ९ पुस । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालमाथि भएको दुव्र्यवहार र आक्रमणप्रति विश्वविद्यालयले गम्भीर आपत्ति जनाएको छ । विश्वविद्यालयले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा उपकुलपतिको निवासमा अनाधिकृत रूपमा प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र उक्त पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) का नाममा उपकुलपति प्राडा नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित रूपमा गरिएको दुव्र्यवहार तथा आक्रमणको विरोध र निन्दा गरेको हो ।
नेसंविका पदाधिकारी, निकाय प्रमुख, महाशाखा प्रमुख, शाखा प्रमुख, विभिन्न पेसागत संगठनका प्रतिनिधि, शिक्षक र कर्मचारीको भेलाले घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गर्नुका साथै जिम्मेवार व्यक्तिको सुरक्षाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । घटनाले विश्वविद्यालयको शान्त, मर्यादित र शैक्षिक वातावरणमा प्रत्यक्ष असर पारेको भन्दै विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा भोजराज जोशीले दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय नेपाली समाजमा संस्कृत, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन तथा अध्ययन–अनुसन्धानमा निरन्तर क्रियाशील ऐतिहासिक शैक्षिक संस्था भएको उल्लेख गर्दै यस्ता हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयले सबै समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट सम्भव हुने विश्वास व्यक्त गर्दै शैक्षिक संस्थाको गरिमा, मूल्य र मर्यादा कायम राख्न सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न अपिल गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) का नाममा पुस ६ गते जारी गरिएको विज्ञप्तिमार्फत् विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपाल र कुलसचिव माधवप्रसाद अधिकारीमाथि लगाइएका आरोप नितान्त कपोलकल्पित, प्रमाणहीन र निराधार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्बद्ध सबै पक्षलाई कुनै पनि पूर्वाग्रह, मिथ्या सूचना र स्वार्थी तत्वले उपलब्ध गराएका स्रोतमा भर नपरी सत्य र सही सूचनाका आधारमा विश्वविद्यालय र पदाधिकारीबारे धारणा निर्माण गर्नुका साथै प्राज्ञिक संस्थाको प्राज्ञिक मूल्य र मर्यादा कायम राख्ने कार्यमा सहयोगी भूमिका खेल्न अनुरोध गर्दछौँ ।’
नागरिक समाजद्धारा दोषीलाई कारबाहीको माग
नागरिक समाज दाङले पुस ६ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालमाथि कालोमोसो छर्केर दुव्र्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ । नागरिक समाज दाङका संयोजक नीमबहादुर थापाले सोमवार विज्ञप्ति जारी गर्दै नेसंवि जस्तो गौरवमय इतिहास बोकेको शैक्षिक तथा प्राज्ञिक नेतृत्वमाथि अमर्यादित, अमानवीय, अशोभनीय, अभद्र व्यवहार हुनु खेदपूर्ण भएको बताएका छन् । विज्ञप्तिमा आउँदा दिनमा यस्ता घटना नदोहो¥याउन नागरिक समाज दाङ सम्बद्ध पक्षलाई गम्भीर बन्न ध्यानाकर्षण गराइएको छ ।