गोरक्ष समाचारदाता
दाङ, ९ पुस । समाजमा बढ्दै गएको मानसिक समस्या न्यूनीकरणका लागि कोष स्थापना गरेर अभियान सुरुवात गरिएको छ । दाङमा क्रियाशील मनोविमर्शकर्ताहरूको भेलाले वर्तमान समयमा मानसिक स्वास्थ्य प्रवर्धनका लागि ‘मानसिक स्वास्थ्य पवर्धन कोष’ स्थापना गरेर अभियानको सुरुवात गरिएको हो ।
घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख एवम् मनोविमर्शकर्ता राधा रिजालको अध्यक्षता एवम् नेपल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यतामा भएको भेलाले कोष स्थापना गरेको हो । जिल्लाका स्थानीय तह, अस्पताल, विभिन्न सरकारी, गैरसरकारी तथा सामाजिक संघसंस्थामा क्रियाशील मनोविमर्शकर्ताको सहभागितामा भएको छलफलले मानसिक स्वास्थ्यको क्षेत्रमा सचेतना, मनोविमर्श सेवा एवम् उपचारमा सहज होस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।
भेलाले सरोकारवालालाई मानसिक स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्न थप सचेत बनाउने, जिल्लाका विभिन्न क्षेत्रमा रहेका मनोविमर्शकर्ताबिच एकआपसमा समन्वय, सहकार्यमा थप प्रभावकारी बनाउने, एकआपसमा केस रिफर गर्ने निर्णय गरिएको छ । भेलामा सहभागी मनोमिवर्शकर्ताले एकआपसमा आफूहरूले गर्दै आएको कार्यको अनुभव आदानप्रदान गरेका थिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रको आह्वानमा भएको भेलाले कोष विकासका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था एवम् व्यक्तिहरूमा आह्वान गरेको छ ।