बालाराम खड्का
तुलसीपुर, ९ पुस । आँखा स्वास्थ्यको पहुँच जनस्तरसम्म पुग्न नसकेको सरोकारवालाले बताएका छन् । आधारभूत आँखा स्वास्थ्य शिक्षा तथा आँखा स्वास्थ्य सेवाका लागि स्थानीय सरकारसँगको साझेदारी विषयक छलफल कार्यक्रमका सहभागीले आँखा, नाक, कान, घाँटी उपचार सेवा जनस्तरसम्म सहज रूपमा पुग्न नसकेको बताएका हुन् ।
नेपाल नेत्रज्योति संघ दाङ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जको आयोजनामा भएको कार्यक्रममा नेत्रज्योति संघ दाङका पदाधिकारी, स्वास्थ्य कार्यालय कपिलवस्तु र कपिलवस्तुका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखको सहभागितामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य प्रशासक गौरव ढकालले समग्रमा आँखाबारे सचेतना कम भएको बताउँदै आफ्नो पालिकामा रहेको दृष्टिविहिनता न्यूनीकरण गर्न नागरिकको आँखा स्वाथ्यको विषयमा सचेतना दिन सबैलाई अनुरोध गरे । उनले स्वास्थ्य संस्थामा नसर्ने रोग र आँखा स्वास्थ्यबारे सेवाग्राहीलाई सचेतना दिन आग्रह गरे ।
नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवामा आँखा स्वास्थ्यलाई उल्लेख गरेको र स्वास्थ्य नीतिले एकीकृत स्वास्थ्य सेवामा आँखा स्वास्थ्यलाई सम्बोधन गरेको अवस्थामा आम नागरिकलाई आँखा उपचारको पहँुच स्थापित गर्ने उद्देश्यले अस्पताल र स्थानीय सरकारका स्वास्थ्य प्रमुखबिच साझेदारीलाई बृहत बनाउने विषयमा छलफल भएको थियो ।
सहभागी स्थानीय सरकारका स्वास्थ्य शाखा प्रमुखहरूले आफ्नो पालिकाका आँखाका बिरामीको सहज स्वास्थ्योपचारका लागि नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । सङ्घीय सरकारले नेत्रज्योति संघद्वारा सञ्चालित आँखा अस्पताललाई अहिलेसम्म एक रुपैया पनि सहयोग नगरिरहेको अवस्थामा आँखा रोग उपचारका लागि प्रदेश सरकार र स्थानीय सरकारले पछिल्लो एकदशक यता साझेदारी गर्दै आएका छन् ।
कार्यक्रममा नेत्रज्योति संघका सचिव घनश्याम सुवेदीले दृष्टिविहिनता न्यूनीकरणमा सबै क्षेत्रबाट लाग्नुपर्ने बताए । उनले संघद्वारा मुलुकभर सञ्चालित आँखा अस्पताल स्थापनाका लागि संघले निर्वाह गरेको भूमिकासँगै सञ्चालनमा आएका अस्पतालमा भइरहेका उपचार सेवाबारे जानकारी गराएका थिए । सो अवसरमा नेपाल नेत्रज्योति संघका सदस्य ध्रुव गौतमले नेपाल नेत्रज्योति संघको सङ्क्षिप्त जानकारी र संघले अन्धोपन न्यूनीकरणका लागि खेलेको भूमिकाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा सम्शेर थापाले राष्ट्रिय स्वास्थ्य नीति, नेपालसँगै लुम्बिनी प्रदेशका सबै जिल्ला तथा पालिकासम्मको दृष्टिविहिनताको अवस्था तथा अस्पतालले प्रदान गर्दै आएको आँखा उपचार सेवाबारे जानकारी गराएका थिए । डा. थापाले अस्पतालको भावि रणनीति र चुनौतीबारे जानकारी दिएका थिए ।
कार्यक्रममा सुशील कार्कीले आधारभूत आँखा स्वास्थ्य शिक्षा र हरिबहादुर भण्डारीले बाह्य सेवाका समग्र विषयमा जानकारी गराएका थिए । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जका बरिष्ठ प्रशासकीय अधिकृत जशराज विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पाैडेललगायतका स्वास्थ्य संयोजकले आँखा स्वास्थ्यमा साझेदारी गर्न स्थानीय सरकार तत्पर रहेको प्रतिबद्धता जनाएका थिए ।
एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको छलफलमा कपिलवस्तुका १० वटै पालिकामा रहेका स्वास्थ्य शाखा, आँखा अस्पतालसँग साझेदारी गर्दै आँखाको उपचारका लागि आँखाका बिरामी अस्पतालसम्म आउने वातावरण निर्माण गर्दै पालिकामा रहेको दृष्टिविहिनता न्यूनीकरणमा सबैले सहयोग गर्ने, अस्पताल र पालिकाको समन्वयमा पालिकामा आँखा शिविर, आँखासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेर नेपाल सरकारको आँखा स्वास्थ्य नीति रणनीतिलार्ई सहयोग पु¥याउन सहकार्य र साझेदारीलार्ई निरन्तरता दिने, पालिकामा रहेका आँखा उपचार केन्द्रहरूको विकास र विस्तारमा सहयोग आदानप्रदान गर्दै त्यसको विकासमा आवश्यक बजेट विनियोजनका लागि पालिकामा स्वास्थ्य शाखाको तर्फबाट पहलकदमी गर्ने तथा आवश्यक मात्रामा स्वास्थ्य शाखा र अस्पतालबिच समन्वय र सहकार्यका लागि बैठक बस्ने, आँखा उपचार सेवालार्ई जनस्तरसम्म पु¥याउनेलगायतका निर्णय भएका छन् ।