आलोक भावुक
गढवा, ९ पुस । गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गढवा–२ पचहियामा सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ साउनदेखि मङ्सिर महिनासम्म गरेको कामका बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिन सार्वजनिक सुनुवाइ गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले गढवा गाउँपालिका–१ देखि ८ नम्बर वडासम्मका सबै वडामा भएका कार्यक्रमका प्रगति र सम्पन्न कार्यक्रमबारे जानकारी दिएका थिए । पालिकाको विभिन्न शाखामा भएका प्रगतिको विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौड्यालले पालिकाले आर्थिक वर्ष ०८२÷०८३ को चौमासिक वित्तीय प्रगति आम्दानी, खर्च प्रस्तुत गर्दै गाउँपालिकाले मङ्सिरसम्म चालु खर्चतर्फ २४ दशमलव ५९ प्रतिशत र पुँजीगततर्फ सात दशमलव ९१ प्रतिशत गरी कुल १४ करोड ८४ लाख ५७ हजार १९ रुपैयाँ ९९ पैसा अर्थात् १८ दशमलव ८४ प्रतिशत खर्च भएको जानकारी दिए । आठ वटै वडा गरी मङ्सिरसम्मको राजस्व सङ्कलन ५२ लाख ७० हजार चार सय १३ रुपैयाँ ४३ पैसा भएको छ ।
२२ जनाको पुनः श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएको एक जनाको परिवारलाई बिमा कम्पनी र वैदेशिक रोजगार बोर्डसँग उपलब्ध हुने सहायता रकमको प्रक्रिया अगाडि बढाएको १५ वटा सहकारी संस्थाको विनियम तथा स्वीकृति दिएको प्रणालीमा आबद्ध भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
गंगापरस्पुर र गोबरडिया स्वास्थ्यचौकीका लागि एक÷एक जना मेडिकल अधिकृतको बढी आयुर्वेद औषधालयमा फिजियोथेरापीसहितको सेवा प्रवाहका लागि एक जना फिजियोथेरापिस्ट सहायक र समुदाय स्वास्थ्य घर टोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रमका जनस्वास्थ्य अधिकृत नयाँ नियुक्ति गरी कामकाजमा लगाइएको, सात पटक कार्यपालिका बैठक बसेको, अनलाइन प्रणालीमा दर्ता र चलानी सुरुवात गरिएको उनले बताए ।
यस अवधिमा सम्पत्ति भूमि बहाल अन्य कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, नाता प्रमाणित दस्तुर, अन्य दस्तुर, व्यवसाय रजिस्ट्रेसन दस्तुर, विद्युतसम्बन्धी दस्तुर, प्रशासनिक दण्ड जरिवानाबापत अन्य राजस्व व्यवसाय कर गरी ५२ लाख ७० हजार चार सय १३ रूपैयाँ ४३ पैसा राजस्व सङ्कलन भएको छ ।
कार्यक्रममा स्थानीय समुदायले गाउँपालिकाका काम कारबाही र गुनासोबारे प्रश्न राखेका थिए । सार्वजनिक सुनुवाइमा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, गढवा होटल व्यवसायी संघका अध्यक्ष यमबहादुर थापा, माध्यमिक विद्यालय पचहियाका प्रधानाध्यापक योगनारायण चौधरी, डिभेल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल भानु यादवलगायतले सल्लाह सुझाव तथा आउने दिनमा के कस्ता कार्यक्रम र कसरी अघि बढ्नेबारे विचार राखेका थिए ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, १ नं. वडाध्यक्ष बाबुराम अधिकारी, २ नं. वडाध्यक्ष भक्त चौधरी, ४ नं. वडाध्यक्ष हरिभगत चौधरी, ५ नं. वडाध्यक्ष लेखबहादुर थापा, ६ नं. वडाध्यक्ष वीरबहादुर आले मगर, ७ नं. वडाध्यक्ष राहुलदेव चौधरीलगायको सहभागिता रहेको थियो ।