गोरक्ष समाचारदाता
दाङ, ८ पुस । रासायनिक विषादीको प्रयोग बढ्दै जाँदा मौरी चरनमा चुनौती बढ्दै गएको मौरी पालक किसानले बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग व्यावसायिक कीट विकास केन्द्रको आयोजना तथा कृषि ज्ञान केन्द्र दाङको संयोजनमा सोमवार घोराहीमा भएको मौरी चरन व्यवस्थापनसम्बन्धी समस्याको समाधान विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रममा सहभागी किसानले बढ्दो विषदीको प्रयोगले माहुरी पालनमा समस्या देखिएको बताएका हुन् ।
कार्यक्रममा मौरी पालक किसान दिनेश वलीले रासायनिक विषादीको प्रयोगले मौरी मर्ने समस्या बढेको बताए । ‘चरन क्षेत्रमा बढ्दोे रासायनिक विषादीको प्रयोगले मौरी मर्ने समस्या बढ्दै गएको छ’, वलीले भने । विषादीले मानिस तथा वातावरणमा समेत प्रभाव पार्ने गरेको बताउँदै किसान वलीले विषदीको प्रयोगबारे किसानलाई सचेतना दिन आवश्यक रहेको बताए । सामुदायिक वन समूहहरूले मौरी चराएबापत शुल्क लिन थालेदेखि किसानलाई आर्थिक भार बढेको उनले बताए ।
जिल्ला बाहिरका किसानले स्थानीय मौरा पालक समितिसँग समन्वय नै नगरी मौरी चराउन जिल्लामा ल्याउँदा स्थानीय मौरी पालक किसानलाई समस्या हुने भएकाले पहिलो प्राथमिकता स्थानीयलाई नै दिनुपर्ने बताए । यसैगरी मौरी पालक किसान भीमकान्त देवकोटाले जिल्लामा मौरी स्रोत केन्द्रको स्थापनाका लागि पटक पटक बजेट आए तापनि जग्गा व्यवस्थापन गर्न नसक्दा बजेट फिर्ता गएको बताए । मौरी पालन क्षेत्रको विकास गर्न मौरी स्रोत केन्द्र आवश्यक पर्ने बताउँदै किसान देवकोटाले जग्गा व्यवस्थापनमा स्थानीय सरकारलाई सहयोग गर्न अनुरोध गरे ।
अर्का मौरी पालक किसान रामहरि शर्माले पहँुचका भरमा जिल्ला बाहिरबाट मौरी चराउन जिल्लामा आउने गरेको बताए । ‘समन्वयबिना पहुँचका भरमा मौरी चराउन जिल्लामा आउनले हामीलाई समस्या भएको छ’, उनले भने । मौरी पालक किसान विष्णुराज श्रेष्ठले मौरी चरनको विकासका लागि अनुदानमा किसानलाई तोरी वितरण गरिनुपर्ने बताए । तोरी अनुदानमा वितरण गरेर तोरी खेतीको क्षेत्र विस्तार गर्न सके मौरी चरनका लागि सहज हुने उनले बताए । यसैगरी महको स्रोतका रूपमा चिनिते बोटबिरुवा रोपण गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा जिल्लामा मौरी पालन तथा मौरी चरनको अवस्था र सम्भावना, समस्या र चुनौतीका विषयमा कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिएका थिए । जिल्लामा मौरीपालन गर्ने किसानको सङ्ख्या सात सय २१ जना रहेको बताउँदै प्रमुख भण्डारीले मौरी चरनका लागि जङ्गल तथा बाली स्रोतको रूपमा रहेको बताए । जङ्गली स्रोत अन्तर्गत चिउरी, सिसौ, रुदिलो, जामुन र कृषि बाली अन्तर्गत तोरी, गोभी तोरी रहेको बताए । मौरी चरनमा तोरी बालीमा विषादीको प्रयोग, चरन भएको क्षेत्रसम्म सडकको अभाव, चरन क्षेत्रमा राखेको मौरी चोरी हुने, समन्वयबिना बाहिरबाट मौरी ल्याइनुलगायतका चुनौती देखिएको प्रमुख भण्डारीले बताए ।
मौरी पालन किसानका समस्या समाधान गर्न मौरी चरन क्षेत्र विस्तार तथा किसानबिच समन्वय हुन आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले किसानलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए । यसका लागि सरकारले प्रयास गरिराखेको बताउँदै उनले भने, ‘सकारले किसानलाई व्यवसायी बनाउन लगानी गरिरहेको अवस्था छ’, उनले भने ।
यसैगरी घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले किसानबिच हुने अस्वस्थ प्रतिस्पर्धाले किसानलाई नै समस्यामा पर्ने बताए । नगर प्रमुख चौधरीले स्रोत विस्तार गर्ने बाटो अपनाउन किसानलाई सुझाउँदै भने, ‘दिगो रूपमा मौरी चरन व्यवस्थापनमा किसानहरू नै लाग्नपर्छ, किसानबिच व्यावसायिक प्रतिस्पर्धा भए तापनि अस्वस्थ प्रतिस्पर्धाले समस्या निम्त्याउँछ । त्यसैले किसानबिच समन्वय हुन आवश्यक छ ।’
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले मौरी स्रोत केन्द्रका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापन गर्न आफू तयार रहेको बताए । भएको जग्गा सदुपयोग गरेर आउने बजेटको सदुपयोग गर्न उनले किसानलाई सुझाए । ‘सक्राममा हामी तालिम केन्द्र बनाउनमा जुटेका छौँ, तपाईँहरू पनि आउनुस्, हामीले सहयोग गर्छौँ’, प्रमुख खड्काले भने ।
यसैगरी शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले आफूहरूले स्थानीयलाई प्राथमिकतामा राखेको बताए । स्थानीयबाट उत्पादन भएका कृषि उपजको बजारीकरणमा सबैले सहयोग गरे किसानलाई सहज हुने उनले बताए । यसैगरी बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले बंगलाचुलीमा लोकल मौरीको राम्रो सम्भावना रहेको बताए । यसबारे अनुसन्धान गरेर आधुनिकतातर्फ लैजान आवश्यक रहेको बताए ।
उनले मौरी चरनको संरक्षणका लागि चिउरीका रुख काट्न रोक लगाइएको बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग व्यावसायिक कीट विकास केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत यामकुमार श्रेष्ठले महको माग बढ्दै गएको भन्दै यसको उत्पादनमा जोड दिनु पर्ने बताए । कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले गरेकी थिइन् ।