गोरक्ष समाचारदाता
दाङ,८ पुस । लुम्बिनी प्रदेशमा ११ हजार जना बढी व्यक्तिमा दृष्टिविहीन तथा ३३ हजारमा मेतियाविन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति संघ अन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले सोमवार घोराहीमा पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रदेशमा १ हजार दुई सय ७३ जनामा दृष्टिविहीन र २३ हजार पाँच सय ७१ जनामा मोतियाविन्दुको समस्या रहेको जानकारी गराएको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी दृष्टिबिहीनको सङ्ख्या रुपन्देहीमा दुइ हजार चार सय ६२ जना रहेको छ भने सबैभन्दा कम रुकुम पूर्वमा एक सय २८ जना रहेको छ । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहाजुरगन्जको तथ्याङ्क अनुसार दाङमा एक हजार चार सय ८८, कपिलवस्तुमा एक हजार पाँच सय ११, बाँकेमा एक हजार तीन सय २७, बर्दियामा, एक हजार १४, नवलपरासी पश्चिममा आठ सय ४८, रोल्पामा पाँच सय २०, पाल्पामा पाँच सय ३३, गुल्मीमा पाँच सय ४३, अर्घाखाँचीमा तीन सय ९० र प्युठानमा पाँच सय २० जनामा दृष्टिविहिनताको अवस्था छ ।
नेपाल नेत्रज्योति संघले सोमवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका बरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले प्रदेशमा २३ हजार पाँच सय ७१ जना मोतियाविन्दुका बिरामी रहेको जानकारी दिएका छन् । उनका अनुसार आँखाको उपचार नगर्नुका मुख्य कारणमा आवश्यकताको महसुस नगर्नु, आर्थिक अभाव तथा अस्पतालको पहुँच टाढा हुनु रहेका छन् । तथ्याङ्क अनुसार ४२ प्रतिशत बिरामीले उपचार आवश्यक नठानेर अस्पताल नआएको, ३६ प्रतिशत आर्थिक अभाव, २० प्रतिशत अस्पतालको पहुँच नहुनु तथा तीन प्रतिशत अन्य कारणले आँखाको उपचार नगरेको पाइएको छ ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डाक्टर सम्शेर थापाले दृष्टिबिहिनता घटाउन समयमै उपचारमा पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । उनले लुम्बिनी प्रदेशमा आँखा उपचार सेवा विस्तारदेखि दक्ष जनशक्ति उत्पादनसम्म नेत्रज्योति संघ सक्रिय रूपमा लागिरहेको बताए । डा. थापाले हाल नाक, कान र घाँटीको उपचार सेवा प्रदान गर्दै आएको लमही अस्पताललाई केही समयभित्र थप सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गरिने जानकारी दिए । संघले आँखा विशेषज्ञ डाक्टर उत्पादनका लागि शैक्षिक अनुमतिसमेत प्राप्त गरिसकेको उनको भनाइ छ ।
यसैबिच नेपाल नेत्रज्योति संघ अन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले ३९ वर्षको अवधिमा दुई लाख ५८ हजार १४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको जनाएको छ । स्थापनाकालदेखि हालसम्म ४२ लाख ६७ हजार चार सय सात जनाले आँखा उपचार सेवा प्राप्त गरिसकेका छन् । संघले सञ्चालन गरेका अस्पतालहरूमा सामान्य आँखा जाँचदेखि फेको प्रविधिबाट गरिने मोतियाविन्दुको शल्यक्रिया, जलविन्दु तथा रेटिना उपचार सेवा सहज रूपमा उपलब्ध हुँदै आएको छ । दाङ र कपिलवस्तु मात्र नभई रोल्पा, प्युठान, सल्यान, बाँके तथा सीमावर्ती भारतीय सहरबाट समेत आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् ।
गरिब तथा विपन्न नागरिकका लागि विभिन्न दातृ निकायको सहयोगमा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिँदै आएकोले आर्थिक अभावका कारण कोही पनि दृष्टिविहीन बन्न नपर्ने वातावरण सिर्जना भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले नेत्रज्योति संघद्वारा सञ्चालित अस्पतालले आँखाको उपचार क्षेत्रमा विश्वसनीयता बढाउँदै लगेको बताए । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
यसैबिच स्थानीय स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले अन्धोपन न्यूनीकरणमा नेत्र ज्योति संघले महत्वपूर्ण योगदान पु¥याएको बताए । लुम्बिनी प्रदेश मात्र नभई कर्णाली प्रदेशमा यसले नागरिकको मन जित्न सफल भएको बताउँदै उनले भने, ‘नागरिकको मन जित्न सकेकाले नै सेवा लिन आउने नागरिकको सङख्यामा वृद्धि भएको छ ।’ निःस्वार्थ भावले सामाजिक सेवा गरेकाले नागरिकको विश्वास बढेको उनको उनले बताएका थिए । दातृ निकायको मात्र नभई स्थानीय सरकारको पनि यसमा सहयोग हुनु पर्ने बताउँदै प्रमुख शर्माले आँखा स्वास्थ्यमा पनि स्थानीय सरकारले लगानी गर्न आवश्यक रहेको बताए ।
‘नागरिकको आँखाको स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारको पनि हो’, उनले भने । कार्यक्रममा नेपाल नेत्रज्योति संघका प्रमुख प्रशासक डा. शम्सेर थापाले दीर्घकालीन विकासका लागि अस्पताल, शिक्षा र पुनःस्थापना केन्द्रका कार्यलाई सँगैसँगै अगाडि बढाइएको जानकारी दिए । एनएबिपी नर्वेको आर्थिक सहयोगमा आँखा उपचारका विभिन्न सेवा प्रदान गरिँदै आएको उनले जानकारी दिएका थिए । लमही आँखा अस्पताललाई इएनटीको देशभरको तालिम केन्द्रको रूपमा विकास गरिने उनले बताए ।
दातृ निकास संघ सन् २०२९ सम्मका लागि सहयोग सम्झौता गरेर काम गरिरहेको उनले जानकारी गराएका थिए । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । शालिकराम गौतमले एक वर्षका गतिविधि र एनएबिपी नेपालका लेखा अधिकृत रमेश पोख्रेलले आर्थिक प्रतिवेदन र आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डाक्टर सम्शेर थापाले आँखा स्वास्थ्य कार्यक्रमबारे प्रकाश पारेका थिए । रेशमराज खड्काको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।