गुरुप्रसाद शर्मा रेग्मी
दाङ जिल्ला देवी देवताहरुको बासस्थल क्रिडास्थल भ्रमणस्थल भएको कुरा श्रीमद् भागवत पुराण, मार्कण्डे पुराव, स्कन्ध पुराण, शिव पुराण, स्वस्थानी व्रतकथा, जताजतै यही कुराको उल्लेख गरेको देख्न सकिन्छ । यस क्षेत्रको यस्तो महत्वपूर्ण आध्यात्मिकता र पवित्रताको भाव–मर्म बुझ्न र बुझाउन नसक्दा यसको प्राचिनकालको इतिहास अदृश्य भएको जस्तो देखिन गयो ।
यहाँ रहेको गौरीघाट, धारापानी, सरिकोट, अम्बिकेश्वरी, छिल्लीकोटकी देवी, गोरक्ष पात्र देव, स्वर्गद्वारी जस्ता अनेक मठमन्दिरले यही कुरालाई पुष्टि गरिरहेको देखिन्छ । शिवले सतीको मृत शरीर बोकेर हिड्दा यही दाङमा कान र करङ खसेको सत्यतालाई स्वस्थानी व्रतकथाले भनिरहेको छ ।
दाङको यही पवित्रताले गर्दा शिवका विभिन्न रुप र अन्य रुपमा दाङमा आएर भ्रमण गरेको कुरालाई नकार्न सकिँदैन देवी देवताको भ्रमणले हामी सबैलाई गौरवान्वित गराउँदछ । शिव रुपमै दाङमा भएको पद यात्रालाई विषय वस्तु बनाएर सबैलाई जानकारी गराउने प्रयास भएको छ ।
परापूर्वकालमा कैलास पर्वतमा बसेका शिव पार्वतीलाई काँशी जाने इच्छा जागृत भएछ र काँशी जान नेपालको मध्य मागबाट पद यात्रा गर्न थाल्नु भयो । पद यात्राको क्रममा स्वर्गद्वारीमा आउनु भएछ । केहिबेर विश्राम गर्नु भएकै स्थान स्वर्गद्वारी महा प्रभु स्वर्गद्वारी आएर त्यही स्थानमा बस्नु भएको रहेछ । पाण्डवहरु पनि स्वर्गद्वा।ी आएर त्यही स्थानमा यज्ञ गरेका थिए । त्यही स्थानमा महाप्रभुले अखण्ड यज्ञ स्थापना गर्नुभएको थियो । स्वर्गद्वारीको विश्राम पछि हिड्नु भएका शिव पार्वती घोराहीको लेकबाट सेवार खोला हुँदै अगाडि जान थाल्नु भएको थियो ।
माता पार्वतीले गुर्जेमा जानु भयो । त्यहाँ बाँधहरुलाई तिमीहरु यहाँ नबस, हामी काँशी जादै छौ हामीसँग हिड । दक्षिण लेकमा बसौला भनेर उनीहरुलाई पनि लिएर पार्वती शिवलाई पछ्याउँदै हिड्नु भएको थियो । गुर्जे र सेवार खोलाको संगममा शिवलाई बसेको देखेर त्यही जानु भयो । यसै स्थानमा शिव पार्वतीको भेट भएको र विश्राम गरेको स्थान भएकाले यसलाई गौरीघाट भन्ने गरिएको हो । यही स्थानमा शिव पार्वतीको मन्दिर पनि बनेको छ ।
त्यही गौरीघाटबाट सरयु (बबई) नदी तरेर मस्त तालमा हिडेका शिव धारापानी पुगेर साजको रुखको नजिकै रहेको विशाल ढङ्गामा विश्राम गर्नुभएछ । धेरैबेर पर्खदा पनि पार्वती नआएकाले कहाँ गइछिन् भनेर ढुङ्गामा उठेर हेर्दा पार्वती सरिकोटमा पुगेर बाघहरुसँग रमाएको देख्दा रिस उठेछ र हातमा लिएको त्रिशुलले ढुङ्गामा हान्नु भएछ । धारपानी मन्दिरमा शिव लिंगको छेउमा रहेको सानो कुण्ड नै शिवको त्रिशुलले बनेको कुण्ड हो ।
त्यही भएर होला यस कुण्डको पानी जतिका त्यति भइरहन्छ कहिले सुक्दैन । शिवजी धारापानीबाट सरिकोट लाग्नु भयो । सरिकोटमा पार्वतीलाई बाघहरुसँग खेल्न लागेको देखेर त्यसको पश्चिमतर्फ सिद्ध पालुवाको नामले बस्नु भएकाले त्यस स्थानलाई अहिले पनि सिद्ध पालुवा स्थानमा मन्दिर भन्ने गरिन्छ । शिवले त्यही बसेर पार्वतीले नव दुर्गाको रुपमा गरेका लिलाहरु हेरेर बस्नु भएको थियो ।
त्यसैले यो स्थान ज्यादै पवित्र मानिन्छ । यसैले होला तालचरीहरु जादा सधै धारापानीमा आएर बस्ने र आउँदा पनि त्यही बास बसेर जाने । आउँदा जाँदा शिव पुजन गर्ने गर्दछन् भन्ने मान्यता रहेको छ । यस्ता धेरै कुराहरु भावनात्मकता र आध्यात्मिकता लुकेका हुन्छन् । सरिकोटबाट सतबरिया हुँदै काँशी जानु भएको रहेछ । यसरी शिवको दाङ जिल्लामा एक पटक सतीको मृत आत्मा बोकेर र एक पटक माता पार्वतीका साथ दाङमा पैदल यात्रा गर्नु भएको रहेछ ।
त्यसैले होला सबै दृष्टिले जिल्ला आध्यात्मिक र भौतिक दृष्टिले सुन्दर सरल स्वास्थ्यवर्धक हुन गएको छ । यही सुन्दरताले गर्दा राप्ती अञ्चल कै पाँच जिल्ला लुम्बिनी प्रदेशका केही जिल्ला र अन्य प्रदेशका पनि केही परिवारहरुको बासस्थल भएकाले यहाँ सबै क्षेत्रका मानिसहरुको संस्कार संस्कृति मूल्य मान्यताको संगम स्थल बन्न गएको छ । यस्तो संयत्र काठमाडौँ बाहेक अन्यत्र पाउन कठिन हुन्छ होला ।
गौरीघाट र धारापानीको एउटा अनौठो सम्बन्ध रहेको जानकारी हुन आएकाले त्यो पनि उल्लेख गर्दछु । धारापानी शिव लिंगको छेउमा रहेको कुण्डको पानी कहाँ जान्छ । यो सबैको जिज्ञासा थियो । त्यो पानी गौरीघाटको आसपासमा रहेको तलाउमा जान्छ भन्ने किम्वदन्ती सुनेका एकजना भक्तले त्यो कुण्डमा एक पिया रातो रंग हालेर गौरीकुण्डको तलाउमा हेर्न आउँदा तलाउमा रातो पानी देखियो भन्ने कुरा स्थानीयबासीले भन्दा रहेछन् ।