उपकुलपतिमाथि आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन कांग्रेस दाङको माग

दाङ, ७ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, उनका स्वकीय सचिव चोलेन्द्र रिजाल तथा कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि गरिएको आक्रमण र दुव्र्यहारको घट्नाप्रति नेपाली कांग्रेस दाङले गम्भीर ध्यानाकर्षण भएको जनाउको छ ।

नेपाली कांग्रेस दाङले सोमवार विज्ञप्ति जारी गर्दै पुस ६ गते आइतवार विहान करिव ८ः३० बजेको समयमा बेलझुण्डीस्थीत उपकुलपतिको आवास क्षेत्रमा प्रवेश गरि अज्ञात समूहद्वारा उपकुलपति सहित तीन जनामाथि गरिएको आक्रमण तथा दुव्र्यवहारको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

देशकै प्रतिष्ठित एवं सम्मानित शैक्षिक संस्थाका सम्मानित व्यक्तिहरूमाथि भएको आक्रमणलाई घोर निन्दा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘एउटा शैक्षिक संस्थाका सम्मानित व्यक्तिहरूमाथि गरिएको आक्रमण अराजक, असभ्य र अशान्तिपूर्ण हुनुका साथै कानून र विधिको ठाडो उल्लंघन हो ।’ यस्ता गतिविधिले शैक्षिक संस्थाको पठनपाठनीय वातावरणमा खलल पु¥याउनुका साथै समग्र समाजमा नकारात्मक वातावरण फैलाउन सक्ने खतरा रहेको कांग्रेसले जनाएको छ ।

विज्ञप्तिमा घटनामा संलग्नलाई पहिचान गरी कानूनबमोजिम हदैसम्मको कारबाही गर्न र विश्वविद्यालयमा पठनपाठनको वातावरण निर्माण गर्न नेपाली कांग्रेस दाङले सम्बन्धित सबैसँग अनुरोध गरेको छ।