जडिबुटी र आत्मनिर्भरता

भुपेन्द्र सुवेदी

मानव समाजका लागि प्राकृतिक उपचारको महङ्खव पछिल्ला वर्षहरुमा झन् व्यापक हुँदै गएको छ । विभिन्न रोगका लक्षण, कारण र उपचारबारे सर्वसाधारणमा चेतना बढ्दै गएको छ भने औषधिजन्य बिरुवाहरुको पहिचान, प्रयोग र संरक्षणप्रति पनि चासो बढेको देखिन्छ ।

यस सन्दर्भमा आयुर्वेद, प्राकृतिक चिकित्सा र वनौषधि क्षेत्रका विज्ञहरुले दिएका मार्गदर्शन र अनुभव मानव स्वास्थ्यका लागि अत्यन्त उपयोगी सिद्ध भइरहेका छन् । सबै प्रकारका रोगको उपचार सम्भव नहुन सक्छ, तर धेरै रोगको रोकथाम, व्यवस्थापन र जीवनशैली सुधारका लागि प्राकृतिक उपचारले महङ्खवपूर्ण भूमिका खेल्न सक्छ भन्ने मान्यता बलियो हुँदै गएको छ । त्यसका लागि ज्ञानदाताको आवश्यकता अझै बढ्दै गएको छ ।

विश्वविद्यालयका शिक्षक–शिक्षिकाहरुले औषधिजन्य बिरुवाहरुको स्थानीय नाम, वैज्ञानिक पहिचान, वनस्पति परिवार र प्रयोग विधिबारे विद्यार्थीलाई ज्ञान दिन सकेमा त्यो अध्ययन मात्र होइन, व्यवहारमा पनि अत्यन्त उपयोगी हुने थियो । नेपाली किसानका लागि आवश्यक जैविक कीटनाशकका रुपमा प्रयोग गर्न सकिने केही वनस्पतिहरु हाम्रो वरिपरि नै पाइन्छन् ।

उदाहरणका रुपमा लायोनिया ओभालिफोलिया नामले चिनिने, करिब तीन मिटर अग्लो, विषालु गुण भएको एक प्रकारको वनस्पति इराकासी परिवारमा पर्दछ । यसको सही ज्ञान र सावधानीपूर्वक प्रयोगले कृषिमा रासायनिक विषादीको प्रयोग घटाउन सकिन्छ ।

हाम्रो मुलुक किसानले भरिएको देश भए तापनि आज दैनिक उपभोग्य कृषिजन्य वस्तुहरु आयात गर्नुपर्ने लज्जास्पद अवस्थामा पुगेको छ । बेसार, खुर्सानी, तरकारी, फूल र फूलका माला समेत बाहिरबाट ल्याउनुपर्ने अवस्था हुनु हाम्रो कृषि नीतिको असफलताको स्पष्ट प्रमाण हो । अर्कातर्फ, जोस, जाँगर र शिक्षा हासिल गरेको ठूलो संख्यामा युवा शक्ति रोजगारीको खोजीमा विदेशिन बाध्य भएको छ । देशभित्र रहेका केही श्रमशक्ति भने विकृति र विसंगतिमा अल्झिएर समय बर्बाद गरिरहेका छन् ।

आधुनिक खेतीको नाममा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गर्दा राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा बाहिरिएको छ । रासायनिक मलको व्यापक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको छ । किसानले गरेको लगानीअनुसार उत्पादन नआउने अवस्था दिनानुदिन गहिरिँदै गएको छ । विषादीको अत्यधिक प्रयोगका कारण आज प्रतिव्यक्ति प्रतिदिन उल्लेखनीय मात्रामा विषाक्त तत्व हाम्रो भोजनसँगै शरीरमा प्रवेश गरिरहेको छ ।

यसको परिणामस्वरुप मानिसहरु विभिन्न प्रकारका रोगबाट पीडित हुँदै गएका छन् । क्यान्सर, मधुमेह, मुटु रोग, कलेजो र मिर्गौला सम्बन्धी समस्या बढ्दै जानु यसको प्रत्यक्ष उदाहरण हो । हाम्रो देशमा अमूल्य निधिका रुपमा रहेका थुप्रै वनौषधिहरु उचित व्यवस्थापन र प्रयोगको अभावमा कुहिएर नष्ट भइरहेका छन् । यो सम्पूर्ण समस्या गरिबी र अशिक्षाको उपज हो ।

यसलाई समाधान गर्न आयुर्वेदका आचार्यहरुले प्राचीन कालदेखि नै मार्ग देखाएका छन् । तक्षशिलाका आयुर्वेदविद् आचार्य आत्रेय राजअत्रीले आफ्नो संहितामा च्यवनप्राश वर्णन गर्ने क्रममा अष्टवर्गको उत्पत्तिबारे उल्लेख गरेका छन् । यसले देखाउँछ कि जडीबुटीको वैज्ञानिक वर्गीकरण र उपयोगको ज्ञान हाम्रो सभ्यतामा अत्यन्त पुरानो छ ।

जडीबुटी परिवार अन्तर्गत पर्ने लेप्य, पर्ण, क्षुप, लता, गुल्म र वृक्ष जस्ता सबै वर्गको संख्या तुलना गर्दा विश्वका अन्य मुलुकको तुलनामा हाम्रो देशमा दशौँ गुणा बढी वनस्पति प्रजाति उपलब्ध छन् । आत्रेय राजअत्रीले यार्सागुम्बालाई भूसञ्जीवनी भनेर उल्लेख गरेको पाइन्छ । यसले हाम्रो भूभाग कति उर्वर र जैविक विविधताले सम्पन्न छ भन्ने प्रमाणित गर्छ । झ्याउ, च्याउदेखि लिएर विशाल वृक्षसम्म उत्पन्न हुने हाम्रो देश विश्वकै प्रशंसित राष्ट्रमध्ये एक हो ।

भू–परिवेष्ठित राष्ट्र भए तापनि नेपाल वनौषधिले भरिपूर्ण देश हो । प्रकृतिले हामीलाई जडीबुटी प्रयोग गरेर राष्ट्र निर्माण गर्न सकिने आधारशिला उपलब्ध गराएको छ । तर हामीले त्यो यथार्थ बुझ्न र बुझाउन नसक्दा देश आर्थिक संकटमा फसेको छ । यदि समग्र देशलाई आर्थिक रुपमा उकास्ने हो भने जडीबुटी क्षेत्रलाई जैविक कृषिकरणमार्फत व्यवस्थित गर्दै वैदेशिक व्यापारका सम्भावनालाई सदुपयोग गर्नुपर्छ ।

यसका लागि गहन अध्ययन केन्द्र स्थापना गरी मेचीदेखि महाकालीसम्मका किसानलाई जडीबुटी परिवारसँग परिचित गराउनुपर्छ । वनौषधीय कृषिकरण कार्यक्रम सञ्चालन गरेर निस्वार्थ रुपमा किसानलाई यस क्षेत्रमा आकर्षित गर्न सकियो भने गरिबी न्यूनीकरणमा ठूलो योगदान पुग्न सक्छ । आजको आवश्यकता गरिब र विपन्न वर्गको जीविकोपार्जन, स्वास्थ्य र शिक्षा हो भन्ने यथार्थलाई आत्मसात गर्दै युवा पुस्ता र अनुभवी समाजसेवीहरु एकजुट हुन जरुरी छ ।

नेपालको हावा, पानी, माटो जडीबुटी खेतीका लागि अत्यन्त अनुकूल छ । यसलाई व्यावसायिक रुपमा विकास गर्न सकियो भने विदेशी निर्भरता घटाउन सकिन्छ । आफ्नै देशमा रोजगारी सिर्जना गरेर युवा शक्तिलाई स्वदेशमै राख्न सकिन्छ । आफ्ना वृद्ध आमाबाबु, परिवार र सन्तानलाई आफ्नै देशको वातावरणमा हुर्काउने अवसर प्राप्त हुन्छ । यो कार्य ढिला भइसकेको भए तापनि असम्भव छैन ।

छिमेकी देशले नेपालीहरुलाई माग्ने संस्कृतिमा अभ्यस्त भएको भन्ने कथन सुन्नुपर्दा हामीले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ । राजनीति गर्नेहरुले देशको स्रोत र सम्पत्ति दोहन गरे भन्ने गुनासो मात्र गरेर बस्नु समाधान होइन । अब आफैँ नेतृत्व लिने, स्पष्ट योजना ल्याउने र राष्ट्रियता तथा गरिबी निवारणका लागि प्रतिबद्ध हुने समय आएको छ । जनतासामु स्पष्ट कार्ययोजना प्रस्तुत गरी आफ्नो प्रतिबद्धतामा हस्ताक्षर गरेर जनताको विश्वास जित्न सकियो भने भोट माग्नुपर्दैन ।

नेपालको संविधानले पनि प्राकृतिक स्रोतको संरक्षण, संवद्र्धन र उपयोगलाई महङ्खव दिएको छ । वातावरणीय स्वच्छता, जैविक विविधताको संरक्षण र सन्तुलन कायम राख्ने नीति स्पष्ट रुपमा उल्लेख गरिएको छ । अब हामीले वन क्षेत्रसँग समन्वय गर्दै जडीबुटीको अध्ययन, अनुसन्धान र व्यवस्थापनमा लाग्नुपर्छ । कृषि व्यावसायिकरणमार्फत वनौषधीय उद्योग स्थापना गरेर आत्मनिर्भर बन्नुपर्छ । सधैँ अरुसँग हात फैलाउने होइन, आफ्नै स्रोत चिनेर उपयोग गर्ने संस्कार विकास गर्नुपर्छ ।