टेकबहादुर पुन
लमही, ७ पुस । लमही नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक तथा ०८२÷०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरबासीले सेवा प्रवाह, सुशासन र विकास निर्माणलगायतका विषयमा प्रश्न गरेका थिए ।
सार्वजनिक सुनुवाइमा नगरका विभिन्न वडाबाट आएका सर्वसाधारण, उपभोक्ता समिति, सामाजिक संघसंस्था, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नगरबासीले प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा, पुरानै हाकिम ल्याइनुपर्ने कारण, नगरपालिकाका अधिकृत चढ्ने सरकारी गाडीको दुरुपयोग र दुर्घटना, त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा जिज्ञासा राखेका थिए । यसैगरी उपभोक्ता समितिमार्फत् सञ्चालन भएका योजनामा मनपरी रकम कटौती हुने, पारदर्शिता नदेखिएको र वास्तविक उपभोक्ता ठगिने गरेको गुनासो सहभागीले गुनासो गरेका थिए ।
सहभागी नगरबासीले नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ढुङ्गा) को चोरी निकासी खुलेआम भइरहेको भन्दै सम्बन्धित निकायको कमजोरीप्रति प्रश्न गरेका थिए । वडा कार्यालय तथा नगरपालिकाका शाखा कार्यालयबाट अपेक्षित सेवा नपाएको, सामान्य कामका लागि पनि पटक–पटक धाउनुपर्ने अवस्था रहेको गुनासो कार्यक्रममा व्यापक रूपमा उठाइएको थियो । ‘समृद्ध नगर’ को नारा व्यवहारमा नदेखिएको सहभागीले गुनासो रहेको थियो ।
नगरबासीका प्रश्नको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत गहेन्द्रबहादुर डाँगीले प्रशासकीय सरुवा सङ्घीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको स्पष्ट पारेका थिए । सरुवाका वावजुद नगरपालिकाले सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास गरिरहेको बताउँदै अधिकृत डाँगीले आफ्नो अबको दुई वर्षे कार्यकालमा नगरको आगामी कार्ययोजनालाई सोचे अनुरूप प्रतिफल दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरमा भएका टोल विकास सस्थाहरूको अडिट पालिकाले नै गर्ने गरी बजेट विनियोजन गर्ने बताउँदै उनले राजस्व सङ्कलनलाई प्रमुख प्रथामिकताका साथ अघि बढाउने जानकारी गराएका थिए । नगर प्रमुख जोगराज चौधरीले सार्वजनिक सुनुवाइ जनताको अधिकार भएको उल्लेख गर्दै उठेका प्रश्नलाई गम्भीर रूपमा लिइएको बताए । नगर प्रमुख चौधरीले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी नियन्त्रण नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै अनुगमन संयन्त्रलाई थप कडा बनाइने बताए ।
उपभोक्ता समितिमार्फत् सञ्चालन हुने योजनामा पारदर्शिता र जवाफदेही सुनिश्चितता गरिने उनको भनाइ थियो । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी योगीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्नवर्ग लक्षित कार्यक्रमलाई प्रभावकारी बनाइने बताउँदै सेवाग्राहीमैत्री सेवा प्रवाहमा सुधार गरिने प्रतिबद्धता व्यक्त गरिन् । वडासँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिँदै वडा नं. १ का वडाध्यक्ष दामोदर पौडेल, वडा नं. २ का नेपालु चौधरी, वडा नं. ३ का मनोजकुमार चौधरी, वडा नं. ५ का ओमप्रसाद सुवेदी र वडा नं. ६ का श्यामनारायण चौधरीले आआफ्नो वडाको अवस्था, समस्या र आगामी योजनाबारे प्रस्ट पारेका थिए ।
वडाध्यक्षहरूले बजेटको सीमितता र प्राविधिक जटिलताका कारण केही योजना ढिलाइ भएको स्वीकार गर्दै आगामी दिनमा जनगुनासो सम्बोधन गरिने र पारदर्शी विकासमा प्रतिबद्ध रहने बताएका थिए । कार्यक्रमको सहजीकरण देउखुरी सञ्चार केन्द्र (रेडियो हाईबे) की प्रबन्ध निर्देशक लीला शाहले गरेकी थिइन् । कार्यक्रमले लमही नगरपालिकामा जनप्रतिनिधि र जनताबिच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको सहभागीको भनाइ थियो ।