गोरक्ष समाचारदाता
दाङ, ७ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालसहित तीन जनालाई नेकपा (बहुमत) निकट अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीले दुव्र्यवहार गरेका छन् । आइतवार बिहान करिब ८ः३० बजेतिर ५÷६ जनाको सङ्ख्यामा उपकुलपतिको आवासीय कार्यकक्षमा पुगेका अखिल अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थी नेताले कालो मसी दल्नुका साथै दुव्र्यवहार गरेका हुन् ।
उपकुलपति नेपालमाथि भएको दुव्र्यवहारपछि विद्यार्थी फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । घटनाको जिम्मा अनेरास्ववियु (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत् लिएका छन् ।
विज्ञप्तिमा उपकुलपतिले विश्वविद्यालयबाट भ्रष्टाचारका अभियोग लागेका रजिस्ट्रार माधव अधिकारीबाट रकम असुली पुनः रजिस्ट्रारमा सिफारिस गरेको, उपकुलपति नेपालमाथि यस अघि पनि कर्मचारीदेखि प्राध्यापक भर्ती तथा भवन निर्माणमा अनियमितता गरेको अभियोग लगाएको छ ।
घटनाको विरोध, दोषीमाथि कारबाहीको माग
यसैबिच नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालसहित उनका स्वकीय सचिव चोलेन्द्र रिजाल र कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि अज्ञात समूहद्वारा गरिएको आक्रमण तथा दुव्र्यवहारप्रति विभिन्न विद्यार्थी संघसंगठनले गम्भीर आपत्ति जनाएका छन् ।
नेपाल विद्याथी संघ दाङका कुलराज पोख्रेल, अनेरासवियु दाङका सचिव सचिन पोखेल, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोविन्दकुमार मल्ल र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन दाङका अध्यक्ष मुस्कान पोखेलले संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमार्फत् आइतवार बिहान करिब ८ः३० बजेको समयमा उपकुलपतिको आवास क्षेत्र बेलझुण्डीमा प्रवेश गरी अज्ञात समूहले उपकुलपति नेपालसहित रिजाल र केसीमाथि आक्रमण तथा दुव्र्यवहार गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
विश्वविद्यालय जस्तो पवित्र शैक्षिक स्थलमा जिम्मेवार र सम्मानित व्यक्तिहरूमाथि गरिएको यस प्रकारको आक्रमण तथा दुव्र्यवहारको घोर भ्रत्र्सना गर्दै वक्तव्यमा यो घटना व्यक्तिगत अपमान मात्र नभई समग्र शैक्षिक प्रणाली, प्राज्ञिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य, मान्यतामाथि गरिएको गम्भीर आक्रमण भएको उल्लेख गरिएको छ ।
यो घटनाले विश्वविद्यालयको शैक्षिक वातावरणलाई आतङ्कित बनाउने र शिक्षाको गुणस्तर नै धरापमा पार्ने गम्भीर खतरा उत्पन्न भएको जनाउँदै दोषी पहिचान गरी तत्काल कानुन बमोजिम कारबाही गर्न सम्बन्धित सबै सरोकारवाला निकायसँग माग गरिएको छ ।