खानेपानीको सङ्कटलाई टार्न ठोस योजना, नीति आवश्यक

बालाराम खड्का
तुलसीपुर, ६ पुस । जिल्लामा भविष्मा आउन सक्ने खानेपानीको सङ्कटलाई टार्न ठोस योजना तथा नीति आवश्यक रहेको सहभागीले बताएका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१औँ साधारणसभा एवम् संयुक्त कार्य परिषद् बैठकमा सहभागीले मानव लापरवाही र चुरे दोहन तथा जलवायु परिवर्तन लगायतका कारणले खानेपानीका मुहान सुक्दै गएको भन्दै भयाभय अवस्था आउन नदिन समयमै सचेत हुनु पर्ने सहभागीको भनाई थियो ।

तुलसीपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले पालिकाले जलाधार संरक्षणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर नीति र योजना तर्जुमा गर्ने बताए । ‘प्रत्येक नागरिकले स्वच्छ पानी पिउने पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको छ, यस अधिकार कार्यान्वयनका लागि स्थानीय सरकार प्रतिबद्ध छ– खड्काले भने ।’

उनले जलाधार संरक्षणको कार्य पहिलो प्राथमिकता भएको भन्दै सोही अनुरूप खानेपानीले पनि कार्ययोजना बनाएर जान निर्देशन दिए । त्यस्तै प्रमुख खड्काले तुलसीपुर खानेपानीले पालिकाका अधिकांश वडामा खानेपानी वितरण गरेको भन्दै बबई लिफ्ट आयोजना सम्पन्न भयो भने सबै सेवा क्षेत्र समेत विस्तार हुने बताए । उनले आयोजना सम्पन्न गर्नका लाग चुनौती रहेको र त्यसमा स्थानीय सरकारकोतर्फबाट समस्या सामाधानका लागि सदैव आफूहरू तयार रहेको बताए । खड्काले खानेपानीलाई वितरणमा प्रभावकारी ढंगले अघि बढ्न तथा सेवा प्रवाह उपभोक्तामैत्री बन्न पनि आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख ई. देवेन्द्रकुमार झाले नेपालको संविधानमा मौलिक हकको रूपमा रहेको खानेपानी तथा सरसफाई सेवा प्रदान गर्दै आएको तुलसीपुर खानेपानीलाई आफ्नो क्षेत्रबाट हुने सबै सहयोग हुँदै आएको बताए । उनले सबैका लागि सधैका लागि खानेपानी भन्ने नारालाई संस्थाले कार्यान्वयन गर्ने अपेक्षा समेत गरे ।

‘यस खानेपानी संस्थाले विगत लामो समयदेखि अनवरत रूपमा संरचनाको रेखदेख मर्मत र सञ्चालन गरी उपभोक्तालाई खानेपानी सम्बन्धी मौतिक हकको सुनिश्चिता दिने महत्वपूर्ण जिम्मेवारी पालना गर्दै आएको छ– उनले भने ।’ यस कार्यले आम उपभोक्ताको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दैै पानीजन्य रोगमा उल्लेख्य कमी ल्याउने अपेक्षा गर्दै दिगो विकास लक्ष्य प्राप्तीमा पनि सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय साना सहरी खानोपनी तथा सरसफाई उपभोक्ता महासंघको केन्द्रीय अध्यक्ष खेमराज वलीले उपभोक्तालाई स्वच्छ सफा खानेपानी उपलब्ध गराउनतर्फ खानेपानी संस्था लाग्नु पर्ने बताए । उनले अब बोतल जारको पानी नभई सबै उपभोक्तालाई धाराबाट स्वस्च्छ खानेपानी खुवाउने वातावरण निर्माण गर्ने पर्ने बताए । उनले खानेपानी जस्तो दैनिक जीवनको अभिन्न अङ्ग र सेवामूलक क्षेत्रमा राज्यले कर लगाउने गरेको भन्दै त्यसको छुट हुनु पर्ने बताए ।

उनले नेपालको संविधानमा मौलिक हकमा रहेको खानेपानीलाई तिनै तहका सरकारले उपयुक्त वातावरण बनाई समय सापेक्ष ऐन कानुन नीति तर्जुमा र त्यसको कार्यान्वयगरी खानेपानीको पूर्वाधार विकासमा दीर्घकालीन योजना बनाउनु पर्ने बताए । त्यस्तै कार्यक्रममा विभिन्न खानेपानी संस्थाका प्रतिनिधिले दाङमा जलासय निर्माण नगर्नेहो भने दाङमा खानेपानीको अवस्था भविष्यमा भयावह हुने बताएका थिए ।

‘यति समयमै जलासय निर्माणतर्फ नसोच्ने हो भने दाङमा निकट भविष्यमै पानीको सङ्कट आउँछ’,बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदीप गौतमले भने । उनले अन्य कार्यालयसँग समन्वय नहुँदा खानेपानीका पाइप छेदविछेद भएको भन्दै उपभोक्तालाई पानी वितरणमा समस्या हुने गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका तुलसीपुर नगरसभापति सुरेश हमालले तुलसीपुर क्षेत्रका विभिन्न सार्वजनिक स्थान र बसपार्क क्षेत्रका जनताले पहिले पनि खानेपानी नपाएको भन्दै उनीहरूलाई खानेपानीको सुनिश्चिता गर्नु पर्ने माग गरे ।

उनले भने,‘तुलसीपुरको अरनिको मैदानमा होस वा अन्य क्षेत्रमा खानेपानी शौचालय छैन अब सबैले यसको व्यवस्थापन गर्नुपर्छ ।’ त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष यमकान्त भण्डारीले तुलसीपुर नगरी आफैमा सुन्दर ऐतिहासिक हुँदा हँुुदै पनि खानेपानीको स्रोत कमी भएका मुहानमा पनि पानीको स्रोत घट्दै गएका कारण पानीको अभाव भएको बताएका थिए । उनले खानेपानी विशुद्ध सेवा प्रदायक संस्था भए पनि सरकारको व्यवस्थाले विद्युतको चर्को महसुल, ब्याज लिने गरेको भन्दै विद्युत महसुल, कर छुट र ऋण मिनाहका लागि माग गरे ।

त्यस्तै उनले तु्लसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा निर्माण कार्य भइराखेको सह–लगानीको काम सबैको सहयोगले ० प्रतिशत निर्माण कार्य भएको बताए । कार्यक्रममा सचिव भुवन भुसालले आर्थिक वर्ष २०८१÷०८२ मा भएका प्रगति विवरण र आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष भोलाप्रसाद थापाले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

तुलसीपुर खानेपानीका उपाध्यक्ष नारायणप्रसाद शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा खानेपानी तथा सरसफाई कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, तुलसीपुर उपमहानगरपालिका–६ वडा अध्यक्ष दुजमान भण्डारी, तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबहादुर जिसी, चोपप्रसाद धिताल, नेता मोहन थापा, नेकपामा नेता रुद्रबहादुर वली क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ईश्वरीप्रसाद गैरे, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष केशव सापकोटा, घोराही खानोपानीका कोषाध्यक्ष ध्रुव केसी, सल्यान खानेपानीका अध्यक्ष केशव बुढाथोकी संस्थाका सल्लाहकार जनकप्रसाद खरालले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी मानव अधिकार तथा शान्तिसमाजका पूर्व केन्द्रीय उपाध्यक्ष सुशील बस्नेत, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, निवर्तमान कार्य समितिको तर्फबाट शेवकराम भण्डारी, चोपप्रसाद धिताल, पार्षदको तर्फबाट महिला पार्षद सुशिला सुवेदी, पार्षद मानबहादुर केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा विभिन्न जग्गादाता तथा सहयोग गर्नेलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव भुवन भुसालले गरेका थिए ।