खेमराज रिजाल
दाङ, ६ पुस । सडक अधुरोभन्दा पुल अधुरो हँुदा दाङले सास्ती भोग्न परेको छ । पुल आएपछि सहज होला भन्ने ध्ययमा बसेका सवारीचालक पुलमै जोखिम व्यहोर्न विवस छन् । कुनै पुलमा ब्रेकर छन् , कुनै पुलमा खाडल छन् त कुनै पुल ठेक्का सम्झौता भएर पनि वर्षेसम्म काम सम्पन्न नभएका छन् ।
पछिल्लो हैरानी घोराही—तुलसीपुर सडक खण्डकै पत्रेखोला पुल बनेको छ । जसको पिल्लर उठाएको दश वर्षमा पनि अधुरै रह्यो । कहिले डिजाइन परिवर्तन, कहिले ठेकेदार परिवर्तन त कहिले फिनिसिङ नै नगरी हस्तान्तरण । ठेकेदारको मात्रै बेइमानी होइन, ठेक्का लगाउने कार्यालय समेत यसमा जोडियो । कारबाहीसम्म पनि उच्चारण गर्न सकेन सडक कार्यालयले । अधुरैमा सञ्चालनको अनुमति दियो । चल्न नपाउँदै भत्कने जस्तो भयो तर पछिल्लो समयमा डिभिजन सडक दाङले जसोतसो पत्रेको पुललाई पुलको आकार दिँदै छ । यस बिचमा धेरै असुविधा भयो । कच्वेमै एउटा ट्रक दुर्घटना भयो । धेरै चक्का जाम भए । धेरै मोटरसाइकल कच्वे पार गर्दा गर्दै लडे ।
डिभिजन सडक दाङले भने अबको सात दिनमा पत्रेखोलाको पुल पुरै सञ्चालनमा आउने छ, अधुरो संंरचना हामीहरूले निर्माण सम्पन्न गरिसकेका छौँ । सडक डिभिजन दाङले अबको केही दिनमा साना सवारीसाधन पुलबाटै चल्ने भएपछि भारी सवारी साधन भने अबको एक सातामा पुरै सञ्चालनमा आउने जनाएको छ । उक्त पुलको साइट हेरिरहेका प्राविधिक तथा सडक डिभिजन दाङका सूचना अधिकारी अशोक चौधरीले करिब–करिब पुल यसै साता पुरै सञ्चालनमा आउने बताए । यद्धपि साना सवारीसाधन भने थुपारेको बालुवा छल्दै चल्न समेत थालेका छन् । त्यसले केही समस्या हुने छैन ।
पुल कहिले सञ्चालन हुने हो, के काम भइरहेको छ भन्ने जानकारी यातायात व्यवसायी एवम् चालक अनभिज्ञ छन् । ‘पुल मर्मत हुँदै छ, बाटो बन्द भन्ने बोर्ड राखिएको मात्र देखिन्छ, डाइभर्सनबाट बाटो काट्न निकै मुस्किल छ’, तुलसीपुर—पोखरा बस चलाउने चालक भीमबहादुर डाँगीले भने । ठुला बससँगै यो सडकबाट धेरै टिप्पर तथा साना कारदेखि मोटरसाइकल चल्नलाई समेत निकै समस्या छ । कच्वेमा मुस्किलले वन वे चल्ने अवस्था रहेकाले बेला–बेलामा चक्का जाम हुने समस्या समेत पत्रेखोलामा देखिँदै आएको छ ।
२०७२ देखि २०७६ सम्मको समय लगाएर बल्ल–बल्ल चल्ने अवस्था बनाएपछि फेरि निर्माण कम्पनी पुलको अन्तिम फिनिसिङ नै नगरी सम्पर्कविहीन भएपछि अन्ततः उक्त निर्माण कम्पनीसँग २०८१ सालमा ठेक्का तोडिएको थियो । पत्रेखोला पुलका विषयमा पटक–पटक जिल्ला प्रशासन कार्यालयमा हुने बैठकमा कुरा उठेपछि यो पटक डिभिजन सडक दाङले नै उक्त पुलको फाइनल फिनिसिङको काम थालेको हो ।
निर्माण कम्पनीले पुलको वल्लो पल्लो साइडमा एप्रोच स्ल्याव बनाउनु पर्नेैमा माटो फिलिङ गरेर कालोपत्रे गरी निर्माण सम्पन्न भयो भनेर सम्पर्क विहीन भएको थियो । साथै रेलिङ पोष्ट पनि पूरा नगरेकाले अहिले डिभिजन सडक दाङले पुल मर्मतकै बजेटबाट एप्रोच स्ल्याव ढलाई गरेको डिभिजन सडक कार्यालय दाङका सूचना अधिकारी अशोककुमार चौधरीले बताए ।
जिल्लामा निर्माण सम्पन्न हुने तर फिनिसिङको काम अधुरै छाडिदिने प्रवृत्तिले जिल्लाबासी हैरान छन् । सक्राम खोलाको पुल पनि निर्माण सम्झौता बमोजिम फिनिसिङ नहुँदा सञ्चालनमा आएको वर्ष दिन पनि नपुग्दै पुलका बिच–बिचमा खाडल पर्नुका साथै स्पान जोडिने स्थानमा पनि सवारी चलाउन निकै समस्या हुने गरेको छ । तीन पटक मर्मत हुँदा पनि सक्राम खोलाको पुल अझै पनि यातायातमैत्री बन्न सकेको छैन ।
त्यसैगरी कटुवाखोला पुल पनि यस्तै अधुरो अवस्थामा छाडिएपछि सडक डिभिजन दाङले धेरै वर्ष ताकेता गरेपछि मात्र निर्माण कम्पनीले एप्रोच स्ल्याव ढलाई गरेर केही सहज बनाएको थियो । उक्त पुल पनि प्राविधिक डिजाइनका हिसाबले उपयुक्त जस्तो देखिँदैन । धेरै अग्लोगरी पुल निर्माण भएकाले समस्या देखिएको स्वयम् प्राविधिकले बताउँदै आएका छन् ।
पछिल्लो समयमा ग्वारखोला पुलमा पनि बिच–बिचमा खाडल पर्न थालेका छन् । पुल सञ्चालनमा आएको पाँच वर्ष पनि पुरा नहुँदै पुलको एप्रोच स्ल्यावमा समस्या देखिन थालेको छ भने पुलको बिच भागमा समेत भ्वाङ पर्न थालिसकेको छ । सुरुमा असाध्यै राम्रो फिनिसिङ देखिए पनि पुलको वल्लो पल्लो साइडमा कमजोर कालोपत्रे गरिएका कारण समस्या आएको प्राविधिकले बताएका छन् ।
केही वर्षयता पुल निर्माणको निकाय भिन्नै बनेपछि निर्माणाधिन मुलमा झनै समस्या देखिन थालेको छ । यस अघि सडक डिभिजनलेनै पुल निर्माणको पनि ठेक्का लगाउथ्यो तर पछिल्लो समय ठुला पक्कि पुल निर्माणको काम सडक विभागको पुल महाशाखामार्फत् पुल सेक्टरले गर्दै आएका छन् । दाङमा निर्माण हुने पक्कि पुलको निगमन र अनुगमन नेपालजन्जस्थित पुल सेक्टरले गर्ने गरेको छ । यसबिचमा घोराही—तुलसीपुर सडकखण्डमा एकै पटक चार पुलको ठेक्का सम्झौता भए पनि दुईवटा पुल त निर्माण सुरु नहुँदै म्याद सकिइसकेको छ ।
कालाखोला पुल र हापुर खोला पुल निर्माणको अन्तिम समयनै समाप्त भइसकेको छ तर पुल निर्माणको ठेक्का पाएको शर्मा सगुन जेभी अहिलेसम्म पनि पुलको साइटमा काम गर्न आएको छैन । न त विषयगत कार्यालय पुल सेक्टर नेपालगन्जले ती पुलको ठेक्का सम्झौता रद्द गर्न नै सकेको छ । पछिल्लो समयमा ग्लारखोलामा केही काम थालनी भएपछि कालाखोला र हापुर खोलामा भने पुल निर्माणको काम सुरु नै भएको छैन ।