गोरक्ष समाचारदाता
दाङ, ६ पुस । खुसी र सन्तुलित जीवनका लागि सकारात्मक सोच र व्यवहार अपरिहार्य रहेको नेपाल सरकारका पूर्व सहसचिव रमेशकुमार अधिकारीले बताएका छन् ।
कर्ण शाक्य कोषको आयोजनामा शनिवार घोराहीमा भएको ‘खुसी जीवनको आधार सकारात्मक सोच र व्यवहार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहेका अधिकारीले खुसी जीवनका लागि सकारात्मक सोचलाई जीवनशैलीकै रूपमा विकास गर्नु पर्नेमा जोड दिएका हुन् ।
हरेक व्यक्तिको जीवनको दिशा उसको सोच र व्यवहारले निर्धारण गर्ने भन्दै अधिकारीले चुनौतीलाई अवसरमा बदल्नका लागि समेत सकारात्मक सोच र व्यवहार आवश्यक रहेको बताए । जीवनमा हरेक कुरालाई सकारात्मक रुपमा लिनु पर्ने भन्दै उनले भने,‘मनमा नकारात्मक कुरा खेलाउनुभन्दा साना–साना उपलब्धिमा खुसी हुन सक्ने बानी बसाल्नुपर्छ, त्यसले जीवनमा खुसी मिल्छ ।’
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै कर्ण शाक्यकोष दाङका संयोजक सुन्दर गौतमले समाजमा असल, क्षमतावान र ऊर्जाशील नागरिक उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनले मानसिक स्वास्थ्य, व्यवहार परिवर्तन र सकारात्मक संस्कार विकासका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताएका थिए । कार्यक्रमको सहजीकरण बसन्त पुनले गरेका थिए । कार्यक्रममा प्राध्यापक, शिक्षक, पत्रकार, साहित्यकार, सामाजिक व्यक्तिसँगै विद्यार्थीको सहभागीता रहेको थियो ।
बालकलाई निशुल्क पढाउने घोषणा
यसैबिच कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगीले अभिभावक विहीन एक बालकको कक्षा १२ सम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेकी छिन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागी भएकी योगीले रोल्पाका ती अभिभावकविहीन बालकलाई अध्ययनका लागि आवश्यक पर्ने कापी, कलमलगायतका शैक्षिक सामग्री हस्तान्तरण गर्दै सुनसुकै विद्यालयमा अध्ययन गरे पनि कक्षा १२ सम्म लाग्ने खर्च संस्थाले व्यहोर्ने योगीले घोषणा गरेकी हुन् ।