सुरक्षित मन, सशक्त सिकाइ : विद्यालयमा मानसिक स्वास्थ्यको प्रभाव

यादव गिरी
विद्यालय केवल पाठ्यपुस्तक, परीक्षा र अङ्कको सीमित स्थान होइन, बरु यो बालबालिकाको समग्र विकासको आधारशिला हो । मानसिक स्वास्थ्यलाई उपेक्षित गर्दै शिक्षा प्रणालीलाई मात्र गुणस्तरीय मान्न सकिँदैन । आधुनिक शिक्षाशास्त्रले पुष्टि गरिसकेको छ कि विद्यार्थीको सिकाइको क्षमता, सिर्जनात्मकता र व्यक्तिगत उपलब्धी प्रत्यक्ष रुपमा उनीहरुको मानसिक सुरक्षासँग सम्बन्धित हुन्छ ।

सुरक्षित र सम्मानित वातावरणले विद्यार्थीमा जिज्ञासा, आत्मविश्वास र सहकार्यको भावना जन्माउँछ, जसले दीगो सिकाइलाई प्रवद्र्धन गर्छ । यस दृष्टिले विद्यालयलाई केवल ज्ञानको स्रोत नभएर व्यक्तिगत र सामाजिक क्षमताको संवद्र्धन गर्ने संरचना भनेर हेर्न आवश्यक छ । नेपालको विद्याल तहको शिक्षामा मानसिक स्वास्थ्य अझै पनि प्राथमिकतामा परेका विषयमध्ये पर्दैन । परीक्षा केन्द्रित प्रतिस्पर्धा, अभिभावकीय अपेक्षाको दबाब, डिजिटल प्रविधिको तीव्र पहुँच, सामाजिक असमानता, र महामारीपछिका मनोवैज्ञानिक प्रभावले विद्यार्थीको मानसिक स्वास्थ्यमा दीर्घकालीन चुनौती सिर्जना गरेका छन् ।

धेरै विद्यालयमा शिक्षक र व्यवस्थापन मानसिक स्वास्थ्यलाई पाठ्यक्रम वा विद्यालय नीतिभन्दा बाहिरको विषयको रुपमा हेर्छन्, जसले विद्यार्थीका भावनात्मक र सामाजिक आवश्यकतामा कमी ल्याउँछ । यस्ता परिस्थितिमा, विद्यार्थीमा चिन्ता, उदासी, आत्मसंयमको कमी र सामाजिक अलगाव जस्ता समस्या देखा पर्न सक्छन्, जसले शैक्षिक प्रदर्शनमा नकारात्मक प्रभाव पार्छ ।

विद्यमान नीतिगत संरचना र अभ्यासमा पनि कमजोरी देखिन्छ । अधिकांश विद्यालयमा मानसिक स्वास्थ्य सेवाहरु अनियमित, अप्रशिक्षित शिक्षकद्वारा सीमित, वा पूर्णरुपमा अनुपस्थित छन् । यसले विद्यार्थी र अभिभावकबिचको विश्वास सम्बन्ध कमजोर बनाउँछ । साथै, विद्यालय, स्वास्थ्य संस्था र समुदायबिच समन्वयको कमीले सङ्कटमा पर्ने विद्यार्थीलाई तत्काल सहयोग पु¥याउन कठिनाइ उत्पन्न गर्दछ ।

नीति निर्माणमा केवल संरचनात्मक र व्यवस्थापकीय पक्षमा ध्यान दिनु प¥याप्त छैन; शिक्षक प्रशिक्षण, सहपाठी समर्थन प्रणाली, मनोवैज्ञानिक परामर्श, र बालमैत्री वातावरण निर्माणमा पनि समग्र दृष्टिकोण आवश्यक छ । समाधान बहुआयामिक र दीर्घकालीन दृष्टिकोणमा आधारित हुनुपर्छ । विद्यालयमा सुरक्षित मानसिक वातावरण सिर्जना गर्न शिक्षकलाई मनोवैज्ञानिक साक्षरता र भावनात्मक शिक्षा प्रदान गर्नु अपरिहार्य छ ।

अभिभावकलाई सचेत र सहभागी बनाउने कार्यक्रम, विद्यार्थीका आवाजलाई नीतिमा समावेश गर्ने प्रक्रियाहरु, तथा विद्यालय समुदाय स्वास्थ्य निकायबिच सशक्त समन्वय आवश्यक छन् । डिजिटल शिक्षा र सामाजिक सञ्जालको प्रभावलाई सकारात्मक रुपमा प्रयोग गर्ने रणनीति अपनाउन सकिन्छ । यस्तो बहुआयामिक र समन्वित प्रयासले मात्र विद्यालयलाई ‘सुरक्षित मन’ को आधारमा ‘सशक्त सिकाइ’ प्रदान गर्ने केन्द्रमा परिणत गर्न सक्छ, जसले दीर्घकालीन सामाजिक, शैक्षिक र भावनात्मक समृद्धि सुनिश्चित गर्नेछ ।

मानसिक स्वास्थ्य अवधारणा र विद्यालयीय सन्दर्भ

विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यलाई केवल मानसिक रोगको अनुपस्थिति वा अस्वस्थ मानसिक अवस्था मात्र नभई व्यक्तिको समग्र भावनात्मक, सामाजिक र संज्ञानात्मक क्षमतासँग सम्बन्धित अवस्था भनेर परिभाषित गरेको छ । यस परिभाषाले स्पष्ट पार्दछ कि मानसिक स्वास्थ्यको अर्थ केवल मानसिक रोगको उपचारमा सीमित नरहेको हो, बरु यसले व्यक्तिको भावनात्मक सन्तुलन, तनाव व्यवस्थापन क्षमता, उत्पादनशील कार्यसम्पादन, र समाजसँग सकारात्मक सम्बन्ध कायम गर्ने क्षमता समेट्छ ।

व्यक्तिले आफ्नो जीवनका चुनौतीहरु सामना गर्न सक्षम, सम्बन्ध सुदृढ र लक्ष्य केन्द्रित गतिविधिमा प्रभावकारी हुने अवस्था नै मानसिक स्वास्थ्यको उच्चतम रुप हो । विद्यालयीय सन्दर्भमा यो अवधारणा अझ संवेदनशील र बहुआयामिक हुन्छ । विद्यार्थीले विद्यालयलाई केवल सिकाइको केन्द्र होइन, तर भावनात्मक सुरक्षा, सामाजिक मान्यता र आत्मसन्तुष्टिको वातावरणका रुपमा अनुभव गर्नु आवश्यक हुन्छ ।

यस्तो वातावरणमा विद्यार्थीले आफ्ना भावना स्वतन्त्र रुपमा अभिव्यक्त गर्न सक्छ, गल्तीबाट सिक्न सक्छ, र भिन्न मत, संस्कृतिप्रति सम्मान विकसित गर्न सक्छ । यदि विद्यालयले यस प्रकारको सुरक्षित, समावेशी र सहायक वातावरण निर्माण गर्न सक्यो भने मात्र विद्यार्थीको दीर्घकालीन सिकाइ, रचनात्मकता, समस्या समाधान क्षमता र सामाजिक उत्तरदायित्वको विकास सम्भव हुन्छ । यो दृष्टिले, मानसिक स्वास्थ्य केवल व्यक्तिगत स्तरमा सन्तुलनको कुरा नभई विद्यालय समुदायको संगठनात्मक, शैक्षिक र सामाजिक संरचनासँग गहिरो सम्बन्धित हुन्छ ।

विद्यालयमा मानसिक स्वास्थ्यलाई चार प्रमुख आयाममा वर्गीकृत गर्न सकिन्छः भावनात्मक कल्याण, सामाजिक सिप र सम्बन्ध, संज्ञानात्मक विकास र ध्यान, तथा व्यवहारिक स्थिरता । भावनात्मक कल्याणले विद्यार्थीको आत्मसन्तोष, तनाव व्यवस्थापन क्षमता, अस्वीकृति र निराशा सामना गर्ने क्षमता र आत्मविश्वासको स्तर समेट्छ ।

सामाजिक सिप र सम्बन्धले सहपाठी, शिक्षक र विद्यालय समुदायसँग सकारात्मक अन्तरक्रिया गर्ने क्षमता, सहकार्य, सहानुभूति, संघर्ष व्यवस्थापन, र विविधता स्वीकार गर्ने व्यवहारलाई समेट्छ । संज्ञानात्मक विकास र ध्यानले विद्यार्थीको सिकाइको ध्यान केन्द्रित गर्न सक्ने क्षमता, समस्या समाधान, निर्णय क्षमता, र सिर्जनात्मक सोचको विकासलाई संकेत गर्छ ।

व्यवहारिक स्थिरताले विद्यार्थीको दैनिक जीवन, नियम पालना, अनुशासन, समय व्यवस्थापन र दीर्घकालीन लक्ष्य प्राप्तिमा सततताका साथै आत्म नियन्त्रण क्षमता समेट्छ । यी चार आयाम परस्पर निर्भर र अन्तर्सम्बन्धित छन् । उदाहरणका लागि, यदि विद्यालयमा डर, तिरस्कार वा सामाजिक अस्वीकारको वातावरण व्याप्त छ भने विद्यार्थीको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर हुन्छ । कमजोर ध्यानले शैक्षिक उपलब्धिमा ह्रास ल्याउँछ, जसले विद्यार्थीको आत्मसम्मानमा नकारात्मक असर पार्छ ।

घट्दो आत्मसम्मानले भावनात्मक असन्तुलन उत्पन्न गर्छ र व्यवहारिक स्थिरतामा अवरोध ल्याउँछ । यसरी, एक आयाममा कमजोरीले अन्य आयाममा निरन्तर नकारात्मक प्रभाव पार्दै पूर्ण शिक्षा प्रणालीमा नकारात्मक चक्र सिर्जना गर्न सक्छ । त्यसैले, विद्यालयीय मानसिक स्वास्थ्यको संरक्षण र प्रवद्र्धन केवल व्यक्तिगत विद्यार्थीको भलाइको प्रश्न नभई समग्र शैक्षिक गुणस्तर, दीगो सिकाइ र सामाजिक सांस्कृतिक विकासको महत्वपूर्ण आधार हो ।

शिक्षाविद्, नीति निर्माता र विद्यालय व्यवस्थापनले यसलाई प्राथमिकतामा राखेर संरचनागत, प्रशिक्षणात्मक र सामाजिक संस्कृतिक उपायको समन्वय गर्न आवश्यक छ, जसले विद्यार्थीलाई सुरक्षित, समर्थ र सशक्त बनाउने वातावरण सुनिश्चित गर्दछ ।

सुरक्षित मन र सशक्त सिकाइबिचको अन्तरसम्बन्ध

सिकाइ केवल बौद्धिक अभ्यास वा तथ्यको सङ्कलनमा सीमित छैन, यो गहिरो रुपमा भावनात्मक, संज्ञानात्मक र सामाजिक अनुभवसँग अन्तरसम्बन्धित प्रक्रिया हो । न्यूरो शिक्षाशास्त्रले स्पष्ट पारेको छ कि डर, चिन्ता, तनाव र सामाजिक असुरक्षाले मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स जो समस्या समाधान, निर्णय क्षमता र ध्यान केन्द्रित गर्ने कार्यका लागि उत्तरदायी हुन्छको सक्रियता कम गर्छ ।

यस्तो अवस्थामा ज्ञानको ग्रहण, अवधारणाको निर्माण र नवप्रवर्तनशील सोचमा कमी आउँछ । विपरीत, यदि विद्यार्थीले आफ्नो वातावरणलाई सुरक्षित, सम्मानित र स्वीकार्य अनुभव गर्छ भने, मस्तिष्कमा डोपामिन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समिटर सक्रिय हुन्छन्, जसले स्मरणशक्ति, सिर्जनात्मकता, निर्णय क्षमता र समस्या समाधान कौशललाई बलियो बनाउँछ ।

यसैले, सुरक्षित मानसिक अवस्था केवल भावनात्मक सन्तुलनको सवाल मात्र नभई संज्ञानात्मक विकास र दीगो सिकाइको आधारभूत पूर्वाधार पनि हो । विद्यालयले यस्तो वातावरण सिर्जना गरेमा विद्यार्थीले आफ्नो जिज्ञासा स्वतन्त्र रुपमा अभिव्यक्त गर्न सक्छ, नयाँ चुनौतीहरुसँग सामञ्जस्य गर्न सक्षम हुन्छ र व्यक्तिगत तथा सामूहिक उत्तरदायित्वको अनुभव गर्न सक्छ ।

सुरक्षित मन भएको विद्यार्थी प्रश्न सोध्न डराउँदैन, गल्तीलाई सिकाइको प्रक्रिया ठान्छ, सहपाठीसँग सहकार्यमा रमाउँछ र आत्मअनुशासन तथा आत्मप्रेरणाको विकास गर्छ । यही अवस्था नै सशक्त सिकाइ हो–जहाँ ज्ञान केवल स्मरण गरिँदैन, बरु व्यवहारमा लागू गरिन्छ, नविन रुपान्तरण र सिर्जनात्मक प्रयोगका माध्यमबाट दीगो बनाइन्छ ।

विद्यालयमा मानसिक स्वास्थ्यमा गरिएको लगानी सिधै शैक्षिक गुणस्तर, शिक्षक विद्यार्थी अन्तरक्रिया, पाठ्यक्रमको प्रभावकारिता र दीर्घकालीन सामाजिक भावनात्मक विकाससँग जोडिन्छ । यसको विपरित, यदि विद्यार्थी मानसिक असुरक्षा, डर वा अनिश्चिततामा अनुभव गर्छ भने, शैक्षिक उपलब्धि मात्र घट्दैन, भावनात्मक अस्थिरता, आत्मविश्वासको कमी र सामाजिक अन्तरक्रियामा कमजोरी पनि उत्पन्न हुन्छ ।

त्यसैले, सुरक्षित मन र सशक्त सिकाइबिचको सम्बन्ध केवल उपेक्षित शैक्षिक अनुसन्धानको विषय होइन, बरु नीति, शिक्षक प्रशिक्षण र विद्यालय व्यवस्थापनका प्रत्येक निर्णयमा प्रत्यक्ष रुपमा समाहित हुनु पर्ने आधारभूत सिद्धान्त हो । दीगो सिकाइको परिकल्पना केवल ज्ञानको सञ्चय होइन, तर मानसिक स्वास्थ्य, भावनात्मक स्थिरता र रचनात्मक प्रयोगको समन्वयमा मात्र साकार हुन्छ ।

विद्यालय तहमा मानसिक स्वास्थ्यका प्रमुख चुनौती

नेपालको विद्यालयीय प्रणाली अझै पनि अङ्क, श्रेणी र ¥याङ्किङमा अत्यधिक केन्द्रित छ । निरन्तर मूल्याङ्कनभन्दा एकपटकको परीक्षाले विद्यार्थीको भविष्य निर्धारण गर्ने संस्कारले असफलताको भय, चिन्ता र तनावको वातावरण सिर्जना गरेको छ । ‘उत्तीर्ण’ र ‘अनुत्तीर्ण’ को द्वैध सोचले सिकाइलाई जोखिममुक्त अन्वेषणको प्रक्रियाबाट कटौती गरी सुरक्षित रटान र मापदण्ड केन्द्रित अभ्यासमा सीमित बनाएको छ । यसले सिर्जनात्मकता र समस्या समाधान क्षमतामा अवरोध पु¥याउँछ ।

विद्यार्थी केवल अङ्क प्राप्तिमा केन्द्रित हुँदा सिकाइको गहिराई, आत्म अन्वेषण र आलोचनात्मक चिन्तन जस्ता महत्वपूर्ण पक्ष कमजोर हुन्छन् । परीक्षा केन्द्रित संस्कारले विद्यार्थीलाई मात्र होइन, शिक्षक र अभिभावकलाई पनि मूल्याङ्कनको दवावमा पार्छ, जसले विद्यालयलाई शैक्षिक विकासको केन्द्र भन्दा परिणाम केन्द्रित संरचना बनाउँछ ।

अभिभावकको अपेक्षा र सामाजिक तुलना पनि विद्यार्थीको मानसिक स्वास्थ्यमा दीर्घकालीन चुनौतीको रुपमा उपस्थित छ । अभिभावकको असल चाहना कहिले काहीँ अत्यधिक अपेक्षामा रुपान्तरण हुन्छ । छिमेकी वा सहपाठीसँग निरन्तर तुलना, करियरको पूर्वनिर्धारण, र अङ्क केन्द्रित प्रशंसा प्रणालीले विद्यार्थीमा आत्ममूल्यको बाह्य निर्भरता बढाउँछ । यसले आत्मविश्वास कमजोर पार्दै चिन्ता, आत्म सङ्कुचितता र अवसादको सम्भावनालाई वृद्धि गर्छ । यस्तै, शिक्षकको भूमिका पनि चुनौतीपूर्ण छ ।

शिक्षक विद्यार्थीको मानसिक स्वास्थ्यका पहिलो पहरेदार हुन्, तर धेरै शिक्षकले मनोवैज्ञानिक सङ्केत पहिचान गर्ने, भावनात्मक सहयोग प्रदान गर्ने वा कक्षामा समावेशी वातावरण निर्माण गर्ने औपचारिक तालिम प्राप्त गरेका छैनन् । पाठ्यक्रमको चाप र प्रशासनिक भारले शिक्षक विद्यार्थी सम्बन्धको मानवीय पक्षलाई कमजोर बनाएको छ । यसले विद्यार्थीमा भावनात्मक असुरक्षा, सहकर्मीसँगको अन्तरक्रियामा कठिनाइ र दीर्घकालीन शैक्षिक असन्तुष्टि निम्त्याउँछ ।

डिजिटल संसार र संरचनागत खाडलले चुनौतीलाई थप जटिल बनाएको छ । अत्यधिक स्क्रिन समय, सामाजिक सञ्जालमा हुने तुलना, साइबर बुलिङ, र डिजिटल प्रविधिको दुरुपयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा नयाँ तनाव थपेको छ । विद्यालयले केवल डिजिटल साक्षरता मात्र प्रदान गर्नु पर्याप्त छैन, विद्यार्थीलाई डिजिटल स्वास्थ्य, अनलाइन सुरक्षाको ज्ञान र आत्मनियन्त्रणका उपाय सिकाउनु आवश्यक छ ।

त्यस्तै, संरचनागत अभाव र नीति कार्यान्वयनमा खाडल अझ गहिरो देखिन्छ । राष्ट्रिय स्तरमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएको भए पनि अधिकांश विद्यालयमा परामर्शदाता, मनोवैज्ञानिक सेवा, स्पष्ट प्रोटोकल र आवश्यक स्रोतको अभाव छ । ग्रामीण र सहरी विद्यालयबिच स्रोतको असमानताले समस्या झन् जटिल बनाएको छ ।

यी सबै चुनौतीको सामना गर्न बहुआयामिक रणनीति आवश्यक छ– शिक्षक प्रशिक्षण, अभिभावक जागरुकता, नीति कार्यान्वयनको निगरानी, समावेशी पाठ्यक्रम, र डिजिटल स्वास्थ्यको समावेशी शिक्षाले मात्र विद्यालयलाई सुरक्षित र सशक्त सिकाइको वातावरणमा रुपान्तरण गर्न सक्छ ।

मानसिक स्वास्थ्य र शैक्षिक उपलब्धी ः प्रमाण र अनुभव

अन्तर्राष्ट्रिय अनुसन्धानले स्पष्ट देखाएका छन् कि मानसिक स्वास्थ्यमा लगानी गरेका विद्यालयमा विद्यार्थी अनुपस्थिति दर घट्ने, कक्षा संलग्नता बढ्ने र दीर्घकालीन शैक्षिक उपलब्धी सुधारिने प्रवृत्ति देखा पर्छ ।

विशेष गरी सामाजिक भावनात्मक सिकाइ कार्यक्रम लागु भएका विद्यालयमा अनुशासनसम्बन्धी समस्या कम हुने, सहकार्य र सहिष्णुता संस्कृति बलियो हुने र विद्यार्थीको आत्मसाक्षरता तथा भावनात्मक स्थिरता बढ्ने अनुभव गरिएको छ । यी अध्ययनले पुष्टि गर्छन् कि जब सिकाइको केन्द्रमा विद्यार्थीको मनलाई सुरक्षित, समर्थ र समावेशी वातावरणमा राखिन्छ, तब मात्र ज्ञानको आत्मसात र व्यवहारिक प्रयोग दुवै सशक्त हुन्छन् ।

नेपालका सन्दर्भमा पनि यसका प्रमाण प्रकट छन् । परामर्श सेवा, जीवनोपयोगी सिप, सहपाठ्यक्रम गतिविधि, खेलकुद, सांस्कृतिक कार्यक्रम र नेतृत्व विकासमा लगानी गरेका विद्यालयमा विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्य कौशल उल्लेखनीय रुपमा वृद्धि भएको अनुभव गरिन्छ । यी उदाहरणले स्पष्ट पार्छन्, विद्यालयमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु भनेको केवल भावनात्मक सन्तुलनको सवाल मात्र होइन, बरु दीर्घकालीन शैक्षिक परिणाम र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष सुधार ल्याउने उपाय हो ।

विद्यालयमा मानसिक स्वास्थ्य प्रवद्र्धनका रणनीति बहुआयामिक र संरचनात्मक हुनुपर्छ । पहिलो, विद्यालय संस्कृति डरमुक्त, सम्मानजनक, समावेशी र सहभागीमूलक हुनु आवश्यक छ । स्पष्ट आचारसंहिता, बुलिङविरुद्ध शून्य सहनशीलता र विद्यार्थी आवाजलाई महत्व दिने अभ्यासले सुरक्षित मन निर्माण गर्छ । दोस्रो, सामाजिक भावनात्मक सिकाइलाई पाठ्यक्रममा एकीकृत गर्नुपर्छ ।

आत्मचेतना, आत्मनियन्त्रण, सहानुभूति, निर्णय क्षमता, सम्बन्ध व्यवस्थापन र भावनात्मक नियमनजस्ता सिप दीर्घकालीन रुपमा विद्यार्थीको व्यक्तिगत र शैक्षिक विकासको आधार निर्माण गर्छन् । यसरी विकसित क्षमता विद्यार्थीलाई मात्र शैक्षिक चुनौती सामना गर्न सक्षम बनाउँदैन, सामाजिक सांस्कृतिक वातावरणमा पनि उत्तरदायी र रचनात्मक नागरिकको रुपमा तयार पार्छ ।

तृतीय, शिक्षक क्षमता विकासमा लगानी अपरिहार्य छ । शिक्षक तालिममा मानसिक स्वास्थ्य साक्षरता, कक्षा व्यवस्थापनका भावनात्मक आयाम, परामर्शका आधारभूत सिप र समावेशी शिक्षण अभ्यास समावेश गर्न आवश्यक छ । समर्थ शिक्षकले मात्र सक्षम विद्यार्थी निर्माण गर्न सक्छ । साथै, विद्यालय अभिभावक सहकार्यले घर विद्यालय निरन्तरता सुनिश्चित गर्छ ।

अभिभावक अभिमुखीकरण, नियमित संवाद र सकारात्मक अभिभावकत्व प्रवद्र्धनले विद्यार्थीलाई सुरक्षित वातावरणको अनुभूति गराउँछ । परामर्श र सहयोग संरचनामा प्रशिक्षित परामर्शदाता, रेफरल प्रणाली र गोपनीयता सुनिश्चित गर्ने संयन्त्र राखिनु अत्यावश्यक छ ।

डिजिटल स्वास्थ्य पनि आजको आवश्यक चुनौती हो, डिजिटल उपकरणको जिम्मेवार प्रयोग, अनलाइन सुरक्षा र स्क्रिन समय सन्तुलनबारे स्पष्ट मार्गदर्शनले विद्यार्थीलाई प्रविधिको सकारात्मक उपयोगमा सशक्त बनाउँछ । यी सबै उपायको समन्वयले मात्र विद्यालयलाई सुरक्षित, समावेशी र दीगो सिकाइको केन्द्रमा परिणत गर्न सकिन्छ, जहाँ मानसिक स्वास्थ्य र शैक्षिक उपलब्धी आपसमा अन्तरसम्बन्धित र सशक्त रुपले विकास हुन्छन् ।

विद्यालय नेतृत्वले मानसिक स्वास्थ्यलाई ‘अतिरिक्त’ वा विकल्पको विषय होइन, बरु शिक्षण शिक्षणको केन्द्रीय तत्वका रुपमा लिनु अपरिहार्य छ । विद्यालय नीति निर्माण, बजेट विनियोजन, पाठ्यक्रम अनुकूलन र अनुगमन प्रक्रियामा मानसिक स्वास्थ्य सूचक समावेश नगरी दिगो परिणाम प्राप्त गर्न सम्भव छैन । नेतृत्वद्वारा दीर्घकालीन दृष्टिकोणमा यी पहललाई संस्थागत बनाउनाले शिक्षक, विद्यार्थी र अभिभावकबिच विश्वास र सहभागिता बढाउँछ, जसले समग्र सिकाइको गुणस्तर र विद्यालय वातावरण दुवैमा सकारात्मक प्रभाव पार्छ ।

स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, निजी क्षेत्र र सामुदायिक साझेदारबिचको सहकार्यले स्रोत अभाव र पूर्वाधार सीमितताको चुनौतीलाई सम्बोधन गर्न सक्छ, जसले सबै विद्यार्थीको पहुँचमा समान अवसर सुनिश्चित गर्दछ । यसरी नेतृत्व र नीति एकसाथ अघि बढ्दा मात्र मानसिक स्वास्थ्य कार्यक्रम दिगो र प्रभावकारी बन्न सक्छ ।

‘सुरक्षित मन, सशक्त सिकाइ’ केवल आकर्षक नारामात्र होइन, यो २१औँ शताब्दीको शिक्षाको अविभाज्य दर्शन हो । विद्यालयमा मानसिक स्वास्थ्यमा गरिएको लगानीले विद्यार्थीको वर्तमान विकास मात्र होइन, राष्ट्रको दीर्घकालीन सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिलाई सुनिश्चित गर्छ । जब हामी बालबालिकाको मनलाई सुन्न, बुझ्न र समर्थन गर्न सक्षम हुन्छौँ, तब मात्र शिक्षा रुपान्तरणकारी र सशक्त बन्दछ ।

सुरक्षित मनले सिर्जनात्मकता, जिज्ञासा, आत्मविश्वास र समस्या समाधान क्षमतालाई प्रोत्साहित गर्छ, जसले सशक्त सिकाइको मार्ग प्रशस्त गर्छ । अन्ततः यही सिकाइ र सशक्तिकरणले समुन्नत, जिम्मेवार र दिगो समाज निर्माण गर्ने आधार तयार पार्छ । आजको आवश्यकता स्पष्ट छ विद्यालय शिक्षाको केन्द्रमा मानसिक स्वास्थ्यलाई राख्ने साहसिक र प्रतिबद्ध निर्णय । यही निर्णयले नेपालको शिक्षा प्रणालीलाई मानवीय, समावेशी र दीगो भविष्यतर्फ अग्रसर बनाउने छ ।