सहभागिताको सान्दर्भिकता

केपी सुवेदी

हाम्रो मुलुकमा सहभागिताको सवाल वेला–वेलामा जोडतोडका साथ उठाइन्छ, अनि विस्तारै सेलाउँदै जान्छ । यस अघि यस्तै प्रकारका मुद्दाहरु उठाइएका र धेरै मुद्दाहरु सम्बोधन गर्ने विषयमा एक प्रकारको प्रतिष्पर्धा चलेको पनि देखिन्छ ।

पार्टीलाई पूर्ण समावेशी बनाउन एकअर्काको बिचमा कोही कम नहुने एक प्रकारको वाकयुद्ध चलाइयो भने अर्कातिर युद्ध पनि उद्घोष गरियो । ती सबै प्रकारले शिक्षाबाट बन्चित, सूचनाको पहुँच र उपयोग गर्ने ज्ञानको अभावबाट ग्रस्त नागरिकमा चेतनाको उभार आएको कुरा हामीले स्वीकार्नै पर्छ । विभिन्न कालखण्डमा चलेका राजनीतिक आन्दोलनको उपलब्धी यही हो ।

लोकतन्त्र पुनर्वहालीपछि राजनैतिक पार्टीहरु समावेशी बनाउने कुरामा धेरै ठूलो परिवर्तन आएको छ । राष्ट्रिय राजनीतिको मुलधारभन्दा बाहिररहेका, महिला, दलित, जनजाति मुस्लिम, अल्पसंख्यक लगायतका जाति र समुदायका मानिसहरु राज्यको शासनमा समावेश गर्ने बाध्यकारी कानुनको व्यवस्था नहुँदा सहभागिता सुनिश्चित हुन सकेको थिएन ।

संविधान सभाले निर्माण गरी लागु भएको सविधानले सबै जात, धर्म, वर्ण लिंग र समुदायका नागरिकको अधिकार समेटेको छ । केही भएन भनेर भनिरहँदा पनि धेरै परिवर्तन भएको छ । जति हुनुपर्नेथ्यो त्यो भएन यो पनि सत्य हो । समाजमा धेरैथरीका मानिस हुन्छन् । उनीहरुको विचार पनि विभिन्न हुनसक्छ । लोकतन्त्रमा यही विविधतामा एकताको खोजी गर्दै पार्टी निर्माण हुन्छन् । पार्टी समाजको प्रतिविम्ब हो ।

हाम्रो समाज धेरै पछाडि परेको समाज हो ।यसलाई अझ पछाडि पार्ने गरिएको हो, अशिक्षित, ज्ञानविहीन, गरिबीको चरम अवस्थामा रहेका मानिसमा विद्रोही चेत र अाँट दुवै कुरा हुन्न भन्ने बुझेर आफ्ना शासित समुदायका मानिसलाई शिक्षा र चेतनाबाट बन्चित राख्ने शासकको षडयन्त्रपूर्ण इक्षाशक्तिले समाजको परिवर्तनको वेगलाई रोकेको हो भनिन्थ्यो । त्यसलाई चुनौती दिन विचारको जन्म भएको मानिएको छ ।

तीनै विचारको विविधतामा पार्टी जन्मे, जनताको सहभागितामा जनताको हकहित सुरक्षित गर्ने आफ्ना दृष्टिकोण हुनसक्छन् तैपनि मुख्यतः सार्वभौमिक र स्वाधिन राष्ट्रनिर्माण सबैको उद्देश्य हुनुपर्छ । मानिसको स्वभावनै अगाडि बढ्ने हो, त्यसैले आवश्यक्ता दिनप्रदिन बढिरहेको छ । विभिन्न जाति वर्ग समुदायका माग राज्यको दायित्वभित्र पर्छ भनेर संविधानमा व्यवस्था गरिएको छ । पछाडि पारिएको समुदायको आरक्षणको व्यवस्थाले सबै क्षेत्रमा पहुँच पुगेको छ र ती कुरा हाम्रो संविधानमै समेटिएको छ ।

हुँदा हुँदै अहिले हिजो शासन सत्तामा हालिमुहाली गरेको भनेर अझै पनि एकथरीले भनिरहँदा तीनै जाति जो माथिल्लो भनियो उनीहरु आर्थिक विपन्नताले पिल्सिँदै छन् । केही संभ्रातको घानमा परेर उनीहरु राज्यले दिने विभिन्न अवसरमा दोस्रो दर्जामा पारिएका छन् । अब फेरि अर्को बहस चलाउन जरुरी छ, त्यो कसरी भने व्यवस्था र त्यसको आधार पुनर्परिभाषित वा परिमार्जन गर्ने अवस्था आएको छ ।

विगतमा पछाडि पारिएका भनिएका अहिले हामीलाई आरक्षण चाहिन्न, अधिकारको लडाईमा हामी आफै सक्षम छौँ भन्न सक्ने भइसकेको सुनिन थालेको छ । यही नै लोकतन्त्रको महत्वपूर्ण उपलब्धी हो । हो, अझै पूर्णरुपमा कतै पनि सन्तुष्टि छैन र हुन सक्दैन पनि तर जुन मुद्दा लोकतान्त्रिक आन्दोलनसँग जोडिएर आएका छन् ती मुद्दा सम्बोधित भएको पछिको अवस्था आज देखा परिरहेको छ । केही नेताले इमानको राजनीति गर्न नचाहेको कुरा पनि आजको परिस्थितिको कारण हो ।

त्यसलाई चुनौती युवाले दिनुपर्छ । जसले समाज र देश बदलने संकल्प बोकेर लोकतन्त्र स्थापनादेखि संस्थागत विकासको अभियानमा सम्पूर्ण उर्जा र यौवन समर्पण ग¥यो, उसले मुलुकको बागडोर सम्हाल्न सक्छु भन्छ भने त्यसको क्षमता परीक्षण हुन पाउनुपर्छ । उसले आफ्नो राजनीतिक कौशलता र क्षमताले राष्ट्रले खोजेको अगाडिको यात्रा सुगम बन्न सक्छ । थुप्रै सक्षम व्यक्ति पछाडि राखेर नेतृत्वले एउटा पुस्ताको अवसर गुमाइदिएको र त्यसको विरुद्ध विद्रोह गर्न अवेर भएको महसुस गरिरहेको बेला । अझै पनि केही वृद्ध नेताहरु आफ्नो हठ देखाइरहेका र निरिहतापूर्वक केही युवाहरु पछि लागिरहेको अवस्था देखियो ।

अहिले व्यापकरुपमा युवा सहभागिताको आवश्यकता र औचित्यमा बहस चलिरहेको छ । गत भाद्र २३–२४ को आन्दोलनको प्रभावले सबैलाई झकझकाएको भए पनि त्यसलाई सजिलै नस्वीकार्ने र सत्ताको स्वादमा डुबेर सबै गुमाएको थाहा नपाउने चरित्रको नेतृत्व असान्दर्भिक छ ।

युवा शक्ति हो, त्यसले बदल्ने स्वभाव र ल्याकत दुवैसँगै राखेर अगाडि बढ्न सक्छ तर त्यसको लागि सचेतकको भूमिका पाका र निःस्वार्थ सेवा गर्न सक्ने व्यक्तिले गर्नुपर्छ । समयको मागलाई बुझ्नेहरु युवाचेतनाले दीक्षित व्यक्ति हुन्छन् । तिनिहरु उमेरले हेरिने गरिन्न । सोच र दृष्टिकोण नै परिवर्तनका बाहक हुन् । युवा पनि बहकिएका कुरा बाहिर आउँदै छन् ।

केही युवा भ्रष्टाचार विरोधी अभियानको मैदानबाट कमिसन र हिस्सेदारी खोज्न विधुत आयोजना सञ्चालकसँग मोलमोलाई गरिरहेको समाचार आइरहेका छन् । यी प्रवृत्ति आजका युवा परिवर्तनका पर्यायमा देखियो भने देशकै दुर्भाग्य हुने देखिन्छ । चेतना हुन आवश्यक छ, चरित्रमा शुद्धताता आवश्यक योग्यता हो ।