अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कानुन अस्वीकार्य :अध्यक्ष शर्मा

पत्रकार महासंघ दाङको ३३औँ स्थापना दिवस
लीलाधर वली
दाङ, ५ पुस । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने बताएकी छिन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३औँ स्थापना दिवसको अवसरमा घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी आउने कानुनविरुद्ध महासंघ लाग्ने बताइन् ।

अध्यक्ष शर्माले केन्द्र, प्रदेशसँगै स्थानीय तह गरी तीनै तहका सरकारमा कानुन निर्माणको प्रक्रिया जारी रहेकाले नीति निर्माणका क्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन बनिरहेको छ कि छैन भन्ने विषयमा ध्यान दिनुपर्ने बताइन् । प्रेस स्वतन्त्रताविरुद्ध जाने कानुनी प्रावधानहरू पत्रकारिता र लोकतन्त्र दुवैका लागि खतर्नाक हुने भएकाले त्यसविरुद्ध एकजुट हुन आवश्यक रहेको बताउँदै कार्यक्रमकी प्रमुख अतिथि शर्माले भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने प्रयासको विरुद्ध जहाँबाट भए पनि प्रतिवाद गर्न पत्रकार एकजुट हुन आवश्यक छ ।’

देशका तीनै तहका सरकारले कानुन निर्माण प्रक्रियामा रहेको अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रातालाई कुण्ठित गर्ने गरी कानुन आउन सक्ने भएकाले पत्रकार स्वयम् सचेत बन्नुपर्ने बताइन । पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले पत्रकारितालाई कमजोर बनाउने प्रयासविरुद्ध पत्रकार एकजुट भएर बोल्नुपर्ने बताइन् ।

कार्यक्रममा संविधान जोगाउन समयमै निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष शर्माले निर्वाचनको वातावरण निर्माणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताइन् । अहिलेको संक्रमणकालीन अवस्थाबाट देशलाई पार लगाउन समयमै निर्वाचन हुन आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘कानुन बचे मात्रै पत्रकारिता बच्छ, कानुनलाई बचाउन संविधानको रक्षा गर्न समयमै निर्वाचन हुने वातावरण निर्माण गर्न सञ्चार माध्यमले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ ।’ उनले पत्रकारहरूले सामाजिक सञ्जाल प्रयोग गर्दासमेत सचेत हुनुपर्ने बताइन् ।

सामाजिक सञ्जालमा आउने गलत सूचना र अफवाहका कारण समाजमा भ्रम फैलिने भएकाले पत्रकारले सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्रवाहमा जिम्मेवारीपूर्वक पेसा गर्नुपर्ने बताइन् । नागरिकलाई सत्य, तथ्य सूचना प्रवाह गर्नु पत्रकारको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष शर्माले जिम्मेवार पत्रकारबाटै पत्रकारिता र प्रेसमाथि जनविश्वास मजबुत हुने धारणा व्यक्त गरिन् ।

प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्यले प्रेस काउन्सिलले पत्रकार संरक्षणका लागि काम गर्ने भएको हुँदा गल्ती गर्नेलाई प्रश्रय दिन नसकिने बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका आचार्यले पत्रकारले प्रेस काउन्सिलको आचारसंहिताको पूर्ण पालन गर्नुपर्ने र काम गर्ने क्रममा केही गल्ती, कमजोरी हुनसक्ने भएकाले गल्ती तत्काल सच्याउने तत्परता पत्रकारमा हुनु आवश्यक रहेको बताए ।

महासंघका केन्द्रीय सचिव सविन प्रियासनले प्रविधिकोसँगै सामाजिक सञ्जालको विकासले पत्रकारिता क्षेत्रमा चुनौती थपिँदै गएको बताए । त्यससँगै देशमा परेको आर्थिक मन्दीका कारण मिडिया बन्द हुने अवस्था पुगेको भन्दै साना लगानीका मिडिया बचाउन राज्यले सहयोगी भूमिका खेल्नुपर्ने बताए ।

अहिले छापा सञ्चारमाध्यम बढी सङ्कटमा पुगेको बताउँदै सचिव प्रियासनले नयाँ खुलेका सञ्चारमाध्यमले जनविश्वास जित्न नसेको बताए । उनले प्रविधिको युग भित्रिसकेकाले नयाँ प्रविधिको प्रयोगलाई सञ्चारमाध्यमले आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋृषि चौलागाईंले पछिल्लो समय प्रविधिको विकासले सहजतासँगै पत्रकारितामा चुनौती थपिदिएको बताए । सामाजिक सञ्चालनमा पत्रकारिताको दुरुपयोग हुँदै गएकाले नयाँ र पुराना पुस्ताका पत्रकारले पत्रकारिताको मूल्य र मान्यतालाई आत्मसात गर्न आवश्यक रहेकोमा जोड दिए ।

पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले स्वतन्त्र पत्रकारिता आजको अपरिहार्य आवश्यकता भएको बताए । पछिल्लो समय पत्रकारिता पार्टी र सत्तासँग नजिकिँदै जाँदा पत्रकारिताको गरिमा घट्दै गएको महसुस भएको बताउँदै संस्थापक अध्यक्ष शर्माले पत्रकारितालाई सत्ता र राजनीतिदेखि अलग्यै राखेर निष्पक्ष र स्वतन्त्र पत्रकारितामा सबै पत्रकार तत्पर हुनुपर्ने बताए । प्रविधिमा भएको तीव्र विकासले पत्रकारिता क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै पत्रकारहरूले समयानुकूल क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य, क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय सदस्य सुशीला आचार्य, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेपाल कम्युनिस्ट पार्टीका नेता विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल बार एसोसिएसन दाङका अध्यक्ष गोमा महरा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी तथा सञ्चारिका समूह दाङकी अध्यक्ष रञ्जिता अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकारिताका माध्यमबाट योगदान पु¥याउने चार जना अग्रज पत्रकारलाई सम्मानसँगै महासंघमा स्थापना गरिएका विभिन्न पुरस्कारबाट २० जना पत्रकारलाई पुरस्कृत गरिएको थियो । जसमा स्थापना दिवसका अवसरमा पत्रकारिता योगदान सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, पूर्व केन्द्रीय उपाध्यक्ष उदय जिएम, रामप्रसाद पौडेल र भुवन देवकोटालाई सम्मान गरिएको थियो ।

यसैगरी खगराज लोहनी स्मृति क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट पत्रकार वसुन्धरा गौतम, अकिल–टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट दुर्गालाल केसी, उमाकान्त–गीता–हरिी स्मृति पत्रकारिता पुरस्कारबाट आरके शीतल, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गौरव पौडेल, दीपक भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट जीवन रोका, देवकी नन्दन प्रतिभा पुरस्कारबाट केशरमान बुढाथोकी, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट शरद रेग्मी, ओमप्रकाश शुभदेवी स्मृति पत्रकारिता पुरस्कारबाट रेखा शर्मा, लोककुमारी स्मृति प्रतिभा पत्रकारिता पुरस्कारबाट गोविन्द खड्का, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कारबाट दीप्तिशिखा चौधरी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट नवीन नेपाली, टीका–नारायणी स्मृति पत्रकारिता पुरस्कारबाट जयन्ती चौधरी, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट कुलदीप न्यौपाने, पत्रकारिता प्रतिभा पुरस्कारबाट गोकर्ण पौडेल, महिला सिर्जनशील पुरस्कारबाट अञ्जना चौधरी, पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रेम पुन, मेघमन बुढा, शान्तकुमार बुढा मगर, लक्ष्मी पोख्रेल, टेकराज भण्डारी र अर्जुन परियारलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

यसैगरी कार्यक्रममा महासंघले स्थापना दिवसका अवसरमा आयोजना गरिएका प्रतियोगिताका विजेतासँगै रक्तदान कार्यक्रममा सहभागी हुनेलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जेएन सागरले गरेका थिए ।