गोरक्ष समाचारदाता
दाङ, ५ पुस । नेपाल थारू संघ दाङ जिल्लाको आयोजनामा भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल थारू संघ का दाङ जिल्ला अध्यक्ष श्री शेषदत्त चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको र थारू समुदायको समुन्नतिका लागि नेपाल थारू संघ स्थापना गरेको बताउँदै त्यसको सदुपयोग गर्न सबैमा अनुरोध गरे ।
कार्यक्रममा दाङ जिल्ला क्षेत्र नं. १ का सभापति गोकुलप्रसाद चौधरी, क्षेत्र नं. २ का सभापति रुपशङ्कर चौधरी, क्षेत्र नं. ३ का सभापति यादव चौधरीले आउँदो १५ औँ महाधिवेशनमा सम्पूर्ण कर्यकर्ता एकजुट हुनुका साथै पार्टीका हरेक तह तप्कामा थारू समुदायको समान सहभागिता हुनुपर्ने विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख चेतना चौधरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् नेपाल थारू संघका केन्द्रीय सदस्य उषा चौधरी र पृथ्वी चौधरीले, नेपाली काँग्रेसको कान्छो भ्रातृ सङ्गठन नेपाल थारू संघले आफ्ना गतिविधि तीव्र रूपमा अगाडि बढाएकोप्रति खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य गणेश चौधरी, जग्गुलाल चौधरी, कल्पना चौधरी, नरुत्तम चौधरी, जिल्ला समितिका सम्पूर्ण पदाधिकारी, क्षेत्रीय पदाधिकारी, पालिका पदाधिकारी, जनप्रतिनिधि, वडाका पदाधिकारीलगायत नेपाली कांग्रेसका नेताहरूको उपस्थिति रहेको थियो ।
जिल्ला उपाध्यक्ष शोभाराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव द्वय राजेश चौधरी र फागुराम चौधरीले गरेका थिए । कार्यक्रममा थारू नाच समेत प्रस्तुत गरिएको थियो ।