महदेवा टोल संस्थाको वार्षिक साधारणसभा

घोराही,५ पुस । घोराही–१८ मा रहेका महदेवा टोल संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मिना रेग्मीको अध्यक्षता तथा संस्थाकी संस्थापक अध्यक्ष शान्ता पोख्रेलको प्रमुख आतिथ्यता एवं सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको विशिष्ट आतिथ्यतामा भएको हो ।

साधारणसभामा बोल्ने वक्ताहरूले टोल विकास संस्थाको महत्व र आवश्यकता बारे चर्चा गर्दै स्थानीय विकास, समन्वय र सेवा प्रवाहमा टोल विकास संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए । उनीहरूले पछिल्लो समय विभिन्न सेवा, सुविधा तथा सिफारिसका लागि टोल विकास संस्थामार्फत प्रक्रिया अघि बढाउनुपर्ने अवस्था रहेकाले यसको आवश्यकता बढ्दै गएको बताएका थिए ।

प्रमुख अतिथि तथा संस्थाकी संस्थापक अध्यक्ष शान्ता पोख्रेलले स्थापना कालमा विभिन्न समस्याबीच सुरु गरिएको संस्था अहिले विस्तार हुँदै गएको उल्लेख गर्दै संस्थाको दिगो विकासका लागि आफू अझै सक्रिय रूपमा लागिरहने बताइन् ।

साधारणसभामा सचिव सुलोचना गौतमले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष निरन्जना घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । बार्षिकसाधारणसभामा टोल विकास संस्थाकी ज्येष्ठ नागरिक कोकिला देवी पौडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सुरुवात निवर्तमान अध्यक्ष गोविन्द रेग्मीको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकी सचिव सुलोचना गौतमले गरेकी थिइन् ।