सिटिजन बैङ्कद्वारा विद्यार्थीलाई न्यानो कपडा

मधुसूदन गिरी
कमिरेचौर, ५ पुस । सिटिजन बैङ्क बंगलाचुली शाखाले ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बंगलचाचुली गाउँपालिका–५ स्थित सुधा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो ।

विद्यालयमा कक्षा १ देखि ५ सम्मका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको सिटिजन बैङ्क बंगलाचुलीका शाखा प्रबन्धक सन्तोषकुमार श्रेष्ठले जानकारी दिए । सुधा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एनुराज खत्रीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका–५ का वडा सदस्य डम्बरबहादुर बैजाली पुन मगरको प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण गरिएको हो ।

चिसो मौसममा विद्यार्थीलाई समस्या नहोस् भन्ने उद्देश्यले बैङ्कले बर्सेनि गर्दै आइरहेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्यक्रमलाई प्राथमिकता दिएको शाखा प्रबन्धक श्रेष्ठले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक डिल्लीकान्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक वविता पुनले गरेकी थिइन् ।