आलोक भावुक
गढवा, ५ पुस । गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु आहारा दाना बनाउने मेसिन तथा घाँस काट्ने च्याप कटर वितरण गरिएको छ ।
कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोेख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा भैँसीपालक तथा पशुपालक किसानलाई कृषि औजार वितरण गरिएको हो । परियोजना अन्तर्गत गठन भएका पाँच वटा समूहलाई शतप्रतिशत अनुदानमा दाना बनाउने मिल वितरण गरिएको छ भने १० जना किसानलाई ५० प्रतिशत अनुदानमा च्याप कटर प्रदान गरिएको छ ।
गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल तथा ग्रामीण महिला उत्थान केन्द्रसँगको साझेदारीमा भिटा परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजनाबाट गढवा गाउँपालिकाका कृषक तथा पशुपालक किसानले प्रत्यक्ष लाभ लिइरहेका छन् ।
भिटा परियोजना कार्यक्रम संयोजक वसन्तकुमार शर्माका अनुसार भैँसीपालक किसानलाई घाँस काट्न र दाना बनाउन सहज होस् भन्ने उद्देश्यले च्याप कटर तथा दाना बनाउने मेसिन वितरण गरिएको हो । परियोजनामार्फत यसअघि भैँसीपालक किसानका लागि गोठ तथा भकारो सुधार, नश्ल सुधारका लागि उन्नत जातको राँगो वितरणलगायतका कार्यक्रम सञ्चालन भइसकेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कृषकको आयस्तर वृद्धि र पशुपालनलाई व्यावसायिक बनाउने लक्ष्यसहित पालिकाले निरन्तर सहयोग गरिरहेको बताए । उनले भने, ‘गढवा गाउँपालिकामा पशुपालन सम्भावनाको क्षेत्र हो । किसानलाई उत्पादन लागत घटाउन र कामलाई सहज बनाउन आधुनिक कृषि औजार आवश्यक छ । भिटा परियोजनामार्फत् किसानलाई आत्मनिर्भर बनाउने दिशामा पालिका अघि बढिरहेको छ ।’
अध्यक्ष पोख्रेलले गढवामा लामो समयदेखि रहेको दुग्ध बजारीकरणको समस्या समाधानतर्फ पालिका सफलतापूर्वक अघि बढिरहेको बताए । हाल गढवा सामाजिक महिला उद्यमी सहकारी संस्था लिमिटेडमार्फत् किसानको दुध सरकारी दर रेटमा खरिद गरी बिक्री वितरण भइरहेको जानकारी दिए । पालिकाले आगामी दिनमा पनि भैँसीपालनलाई व्यावसायिक, व्यवस्थित र दिगो बनाउने उद्देश्यले सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।