प्रेरणाको विन्दु : मुठ्ठीभर भ्यागुता

तुफानबाबु श्रेष्ठ
धेरै समयअघि एउटा गाउँमा सरोज नामको एक किसान बस्थ्यो । ऊ मेहनति, इमानदार र असल स्वभावको व्यक्ति थियो । उसको व्यवहार र कर्मको कारण ऊ टाढासम्म परिचित थियो र सबैले उसको प्रशंसा गर्थे ।
एक साँझ, सरोज खेतमा काम सकेर घर फर्कँदै गर्दा बाटोमा केही मानिस कुरा गरिरहेका थिए । उसलाई लाग्यो, सायद ती मानिसहरू उसको प्रशंसा गरिरहेका होलान् । ऊ विस्तारै उनीहरूको नजिक पुग्यो तर जब उसले ध्यानपूर्वक सुन्यो, तब थाहा भयो कि ती मानिसहरू त उसको निन्दा गरिरहेका रहेछन् !
कोही भन्थ्यो– ‘सरोज त घमण्डी छ ।’ अर्को भन्थ्यो– ‘ऊ त असल देखिन खोज्ने मात्रै हो ।’ पहिले सरोजले कहिल्यै पनि आफ्नो बारेमा यस्तो कुरा गरेको सुनेको थिएन तर त्यो रातको घटनाले उसको मनमा गहिरो चोट पु¥यायो ।
त्यसपछि जब पनि उसले कसैलाई कुरा गर्दै गरेको देख्थ्यो तब उसलाई लाग्थ्यो कि ‘यिनिहरू मेरो निन्दा गर्दैछन् ।’ यहाँसम्म कि, जब कसैले उसको प्रशंसा गथ्र्यो, तब पनि उसले सोच्थ्यो–  ‘यीनिहरूले मेरो मजाक उडाइरहेका छन् ।’ क्रमशः गाउँका सबैले महसुस गर्न थाले कि सरोज पहिले जस्तो खुसी र सकारात्मक रहेन ।
उसकी श्रीमती पनि श्रीमानको बदलिएको व्यवहारले चिन्तित भइन् । एकदिन उनले सोधिन्– ‘के भयो, आजकल तपाई यति चिन्तित किन हुनुहुन्छ ?’
सरोजले उदास हुँदै त्यो रातको घटना सुनायो । श्रीमतीले केही समय सोचिन् र भनिन्– ‘स्वामी, मैले सुनेकी छु, छेउको गाउँमा एक सिद्ध साधु आएका छन् । हामी उहाँसँग सल्लाह गर्न जाऔँ ।’
अर्को दिन बिहानै सरोज र उसकी श्रीमती ती महात्मा जहाँ बसिरहेका थिए त्यहाँ पुगे । सरोजले सबै कुरा विस्तारले सुनायो र अन्त्यमा भन्यो– ‘महाराज, त्यस दिनदेखि सबै मानिस मलाई निन्दा र झूटो प्रशंसा मात्रै गर्छन् । म फेरि कसरी आफ्नो प्रतिष्ठा फर्काउन सक्छु ?’
महात्माले मुस्कुराउँदै भने– ‘पुत्र, आज तिम्रो श्रीमतीलाई घर पठाऊ र आज रात मेरो आश्रममै बस ।’ सरोजले आज्ञा पालन ग¥यो तर रात पर्नासाथ नजिकको पोखरीबाट ठूलो आवाज आउन थाल्यो – ‘टर्र–टर्र–टर्र !’ सरोजले कान थुन्दै भन्यो– ’महाराज, यो कस्तो आवाज हो ? यहाँ त निकै हल्ला छ ।’
महात्माले हाँस्दै भने– ‘पुत्र, यो आवाज पोखरीमा रहेका भ्यागुताहरूको हो । रात परेपछि तिनीहरू आफ्नो गीत गाउन थाल्छन् ।’सरोजले भन्यो– ‘तर यस्तो आवाजमा त कसैलाई निद्रा लाग्दैन । केही गर्न सकिन्न र ?’ महात्माले उत्तर दिए– ‘यदि सक्छौँ भने तिमी नै केही उपाय गर ।’
सरोजले तुरुन्तै भन्यो– ‘महाराज, यस्तो स्वर सुन्दा लाग्छ, पोखरीमा हजारौँ भ्यागुता होलान् । म भोलिपल्ट गाउँका मजदुर ल्याएर यी सबैलाई समातेर टाढाको खोलामा छोडिदिन्छु ।’
अर्को बिहान सरोजले ६० जना मजदुर लिएर आयो । साथै महात्मा पनि पोखरी छेउमा आइपुगे । मजदुरहरूले पोखरीको चारैतिर जाल हालेर भ्यागुता समात्न थाले । थोरै समयमै सबै भ्यागुता समातिए तर गन्ने बेला थाहा भयो कि त्यहाँ त जम्मा ५०–६० वटा मात्र भ्यागुता रहेछन् !
सरोज अचम्ममा प¥यो र भन्यो– ‘महाराज, हिजो त यस्तो लाग्थ्यो कि मानौँ हजारौँ भ्यागुता टर्र–टर्र गर्दै थिए । आज त मुट्ठीभर मात्रै भेटिए । बाँकी सबै कहाँ गए ?’ महात्माले मुस्कुराउँदै गम्भीर स्वरमा भने– ‘पुत्र, कुनै भ्यागुता हराएका छैनन् । यही मुट्ठीभर भ्यागुताले नै हिजो रात यस्तो हल्ला गरेका थिए तर तिमीलाई लाग्यो सारा पोखरी नै गुञ्जिएको छ ।
त्यस्तै, जब तिमीले केही मानिसलाई आफ्नो निन्दा गर्दै सुनेउ, तब तिमीले पनि  यही गल्ती ग¥र्यौँ । वास्तवमा तिमीबारे गलत बोल्ने थोरै मात्रै थिए, तर तिमीले सोचेउ कि सबै तिम्रो विरोधी छन् ।’
महात्माको यस्तो कुरा सुनेर सरोजको आँखा रसायो । उसले गहिरो सास फे¥यो र भन्यो– ‘महाराज, मैले बुझेँ । साँचोमा मैले मुट्ठीभर भ्यागुतालाई हजारौँ सम्झेँ ।’ महात्माले मुस्कुराउँदै आशिर्वाद दिए– ‘पुत्र, जीवनमा जब कसैले तिम्रो आलोचना गर्छ, त्यस्तो केही भ्यागुताको आवाज मात्रै हो । त्यसले तिम्रो असलियत बदल्दैन ।’ त्यस दिनपछि सरोज फेरि पहिले जस्तै खुसी, सकारात्मक र इमानदार बन्यो ।
त्यसकारण हामीले कहिल्यै पनि केही मानिसको नकारात्मक व्यवहारलाई सबैको व्यवहार सम्झिनु हुँदैन । जीवनमा सधैं सकारात्मक सोच राखौँ र समस्याको समाधान खोज्ने प्रयास गरौँ– किनकि हल्ला सधैं मुट्ठीभर भ्यागुताबाट मात्रै उठ्ने गर्छ ।