खानपिनको प्रभाव

एकराज शर्मा अधिकारी

कुनै पनि खानाले शरीरमा असर पार्दछ । यो हाम्रो शरीर अन्नमय शरीर हो । अन्नबाट बनेको छ । कलियुग मानिसमा अन्न प्राण छ । अन्न नखाए हामी बाँच्न सक्दैनौँ ।

त्यसैले मानिसले सबैभन्दा पहिले शरीरको रक्षा गर्नुपर्छ । किनभने जीवनमा हामीले कुनै न कुनै कर्म नगरी चुप लागेर बस्न सक्दैनौँ । कर्म गर्छौ । शरीर साधन हो । साध्य होइन । जसरी भए पनि शरीरको रक्षा गर्न खानपिनमा ध्यान दिनुपर्छ । खानपिनले शरीरलाई मात्र होइन, हाम्रो मन, बुद्धि, चित्त र विचारलाई पनि असर पार्दछ ।

त्यसैले गीतामा कृष्णले भन्नुभएको छ– आहार तीन प्रकारको हुन्छ । सात्विक, राजसिक, तामसिक मानिस तीन किसिमका हुन्छन्, शत्तोगुिण, रजोगुणि, तमोगुणि । शत्तोगुणिले सात्विक आहार मन पराउँछन् । मानिसको रुची भिन्न–भिन्न हुन्छ ।

विचार भिन्न–भिन्न हुन्छ । बुद्धि भिन्न–भिन्न हुन्छ । मन भिन्न–भिन्न हुन्छ । जस्तो किसिमको खानपिन गरिन्छ । मन, बुद्धि पनि त्यस्तै हुन्छ । सास्विक खाना भनेको शरीर थीर रहने, मन पर्ने, आयु, बुद्धि, बल बढाउने खाना हो । सास्विक व्यक्तिले यस्तो खाना मन पराउँछन् । आहार पनि चार प्रकारका हुन्छन् ।

भक्ष, भोज्य, लेह्य, चोस्य । खाना खान्छौँ, दुध पिउँछौँ, आँप चुस्छौँ, रस चाट्छौँ । यिनीहरुलाई आहार भनिन्छ । शारीरिक, मानसिक रोग हटाएर शरीर र मनलाई स्वस्थ्य तुल्याउन सक्ने मनमा आनन्द पैदा गर्ने, प्रेमको भाव पैदा गर्ने यस्तो किसिमको आहार सात्विक आहार हो ।

सात्विक खानपिनबाट मन शुद्ध हुन्छ, बुद्धि शुद्ध हुन्छ, विचार शुद्ध हुन्छ त्यस्तो खानपिन गर्ने मानिस सोजो हुन्छ, परोपकारी हुन्छ, अहिंसक हुन्छ । अर्कोथरी खाना हो, राजासिक खाना । राजासिक खानामा पिरो, अमिलो, नुनिलो, तातो आहार हो ।

यस्तो खानाले बल, व्रिर्य बढाउँछ, उत्तेजित गराउँछ, घमण्ड बढाउँछ, मार्न मर्न नडराउने गराउँछ । तेस्रो आहार तामसिक आहार हो । यो आहार रुखो हुन्छ, रस नभएको हुन्छ, बासी हुन्छ, सडेगलेको हुन्छ, झुठो हुन्छ यस्तो आहार तामसिक मानिसलाई मन पर्छ । आजभोलिको समाजमा दुईथरी खानाको प्रचलन छ ।

शाकाहार र मांसाहार । शाकाहारलाई सात्विक आहार भन्छन् । बुद्धिलाई तिखो बनाउन सात्विक आहारको आवश्यक पर्छ । मोटो बुद्धिले परम तत्वलाई ग्रहण गर्न सक्दैन । आहार शुद्ध भए बुद्धि शुद्ध हुन्छ, बुद्धि शुद्ध भए अज्ञानको नास हुन्छ । ज्ञान मार्गमा प्रवेश गर्न सात्विक आहारको आवश्यक पर्छ । लसुन, प्याज तामसिक आहार हो ।

मांस मदिरा तामसिक आहार हो । यो आहारले शोक र रोग बढाउँछ । सुक्ष्म दृष्टिले विचार गर्ने हो भने सात्विक आहारबाट नै सबैको हित हुन्छ । कर्म मार्ग, भक्ति मार्ग, ज्ञान मार्गमा प्रवेश हुनको लागि सात्विक आहारको आवश्यकता पर्छ । आजकाल मानिसले सात्विक आहारमा ध्यान दिएको देखिँदैन । त्यसैले आजभोलि धेरै मानिस रोगी देखिन्छन् । यो तामसिक आहारको परिणाम हो ।