प्रतिष्ठानले बिमाबापतको साढे ११ करोड नपाउँदा समस्या

अमरराज आचार्य
दाङ, ३ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमाबापत साढे ११ करोड रुपैयाँ पाउन पाएको छैन । पाउनुपर्ने बिमा रकम प्रतिष्ठानले नपाउँदा प्रतिष्ठान सञ्चालनमा समस्या भएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिएका छन् ।

प्रतिष्ठानले भुक्तानी दाबी गरेको ११ करोड ५३ लाख रुपैयाँ पाउन बाँकी रहेको उनले बताए । ‘बिमाबापतको रकम समयमा नआउँदा प्रतिष्ठानको प्रशासनिक काममा प्रभाव पर्दै आएको छ । हाम्रो पैसा खर्च भइरहन्छ तर समयमा पैसा आउँदैन’, उनले भने, ‘रकम नआएको कारण नागरिकलाई सेवा रोक्नु भएन ।’ रकम पाउनका लागि पटकपटक मागसमेत गर्दै आएको तर समयमा रकम पाउन नसकेको प्रतिष्ठानले जनाएको छ ।

समयमा रकम नपाउँदा प्रतिष्ठानले व्यवसायीलाई भुक्तानी गर्नसमेत समस्या हुने गरेको उनले बताए । ‘समयमै बिमामार्फत्को रकम उपलब्ध भए प्रतिष्ठान सञ्चालन सहज हुनेछ’, उनले भने । विभिन्न समस्याका वावजुद पनि प्रतिष्ठानले आफ्नो उद्देश्य अनुसारको सेवा सेवाग्राहीलाई उपलब्ध गराइराखेको बताएको छ । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा अनुसन्धान सँगसँगै प्रशासनिक काम सञ्चालन गरिरहेको रजिस्ट्रार लम्साल बताउँछन् ।

‘स्वास्थ्य शिक्षा तथा अनुसन्धानमा भन्दा स्वास्थ्य सेवाको विषयमा नागरिकको बढी चासो देखिने गरेको छ तर हामीले उद्देश्य अनुसारकै सेवा सेवाग्राहीलाई उपलब्ध गराइरहेका छौँ’, रजिस्ट्रार लम्सालले पत्रकारसँग कुरा गर्दै भने । नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहको लागि प्रयास जारी राखेको बताउँदै लम्सालले सेवा थप तथा विस्तार गर्दै लगिएको र नागरिकलाई सहज सेवा उपलब्ध गराउन लागिपरेको बताए ।

प्रतिष्ठानको क्षमता वृद्धि तथा अन्य संस्थासँग सहकार्य गरेर सेवा उपलब्ध गराउनुका साथै सरकारले सञ्चालन गरेका प्राथमिकताका सबै कार्यक्रम प्रतिष्ठानले सञ्चालन गरिरहेको उनले बताए । सेवा लिन आएका बिरामीलाई सकेसम्म फर्केर अन्त जान नपर्ने गरी सेवा उपलब्ध गराउने प्रयासमा प्रतिष्ठान रहेको पनि उनले बताए ।

प्रतिष्ठानको जग्गा अतिक्रमण र जग्गा प्राप्ति तथा भौतिक विकास चुनौतीका रूपमा रहेको रजिस्ट्रार लम्साल बताउँछन् । जग्गा अतिक्रमण हटाएर प्रतिष्ठानको विकासमा सरोकारवाला तथा आम नागरिक सबैले सहयोग गर्नुपर्ने उनले बताए । ‘प्रतिष्ठान यस क्षेत्रको सम्पत्ति हो, यसको संरक्षण र विकासमा सबैको सहयोग आवश्यक छ’, रजिस्ट्रार लम्सालले भने । प्रतिष्ठानले चार सय बेडको अस्पताल निर्माण अगाडि बढाउने बताउँदै लम्सालले अहिले प्रतिष्ठानमा तीन सय २६ बेड रहेको जानकारी दिए । थप चार सय बेडको अस्पताल निर्माण गर्न सके सेवामा सहज हुनेछ ।

अस्पतालको भवनको ठेक्का आह्वानका लागि बजेटको सुनिश्चितता नहुँदा समस्या भएको उनले बताए । ‘अहिले हामीसँग ८८ करोड बजेट छ तर अर्थ मन्त्रालयले थप बजेटको सुनिश्चितता नगर्दा ठेक्का आह्वान हुन सकेको छैन’, रजिस्ट्रार लम्सालले भने । बजेट सुनिश्चितता गर्न पटकपटक पहल भएको उनले बताए । सबैको सहयोग भएमा बजेटको सुनिश्चिततासँगै भवन निर्माणका लागि काम अगाडि बढ्ने उनको भनाइ छ ।

जनस्वास्थ्य सचेतना तथा सिकलसेल एनेमिया न्यूनीकरणमा पत्रकारको भूमिका विषयमा अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक लम्सालले प्रतिष्ठानको अवस्था र चुनौतीका विषयमा, सहनिर्देशक प्राडा सुरेश रसाइलीले चिकित्सकका लागि आचारसंहिता विषयमा, डा. अजयराज गौतमले सिकलसेल रोगका विषयमा, डा. सुदीप गौतमले स्वास्थ्य पत्रकारिता अवधारणा र अभ्यास विषयमा तथा डा. सुलभ रेग्मीले जनस्वास्थ्य विषयमा जानकारी गराएका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जेएन सागरले गरेका थिए ।