‘सरकारसँग सहकार्य गर्न तयार छौँ’

गोरक्ष समाचारदाता
दाङ, ४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकारले सहकार्य गर्न चाहेमा प्याब्सनले शैक्षिक नेतृत्व गर्न तयार रहेको बताएका छन् । घोराहीमा प्याब्सन दाङले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् ।

देशको शैक्षिक नेतृत्व लिन प्याब्सन तयार रहेको बताउँदै उनले भने, ‘निजी विद्यालय नेपालको शैक्षिक प्रणालीको मेरुदण्ड हुन् । देशको शैक्षिक गुणस्तरलाई कायम राख्न तथा उन्नयन गर्न निजी विद्यालयको योगदान अतुलनीय छ । यद्यपि यसको मूल्याङ्कन खुला हृदयले सरकारले गर्न आवश्यक छ । निजी विद्यालयलाई टाढा राखेर होइन नजिक राखेर शिक्षाको क्षेत्रमा सरकार अगाडि बढ्न आवश्यक छ’, अध्यक्ष अधिकारीले भने, ‘शैक्षिक रणनीति निर्माण गर्न तथा शैक्षिक योजना बनाउन सरकारले आवश्यकताको महसुस गरे हामी तयार छौँ ।’

समृद्ध राष्ट्र निर्माणमा पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्ने अध्यक्ष अधिकारीले बताए । नेपाललाई शैक्षिक हब बनाउन सरकारसँग सहकार्यका लागि प्याब्सन तयार रहेको उनले बताए । निजी विद्यालयले देशकै शैक्षिक उन्नयमा महत्वपूर्ण भूमिका खेलेको उनले दाबी गर्दै भने, ‘नेपालको शैक्षिक गुणस्तरको अभिवृद्धिमा निजी विद्यालय पहिलो नै छन् । शिक्षा क्षेत्रमा राज्यको इज्जत र प्रतिष्ठासँग निजी विद्यालय जोडिएका छन् । सिङ्गो देशलाई विश्वका लागि शैक्षिक हब बनाउन सरकारसँग सहकार्य गर्न हामी तयार छौँ ।’

प्याब्सन दाङको दोस्रो जिल्ला परिषद् भेला २०८२ पुस ३ र ४ गते हुँदैछ । भेलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्यले दाङका निजी विद्यालयको अवस्था र परिषद् भेलाको उद्देश्यबारे जानकारी गराएका थिए । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।