स्थानीय र उद्योगबीच १९ बुँदे सहमतिसँगै चल्ने भए टिप्पर

मधुसूदन गिरी
दाङ, ३ पुस । दाङको बंगलाचुली गाउँपालिकामा सिमेन्ट उद्योगका कारण प्रभावित स्थानीय र उद्योगीबीच उत्पन्न विवाद १९ बुँदे सहमतिसँगै समाधान भएको छ ।बिहीबार भएको छलफलसंगै स्थानीय र सिमेन्ट उद्योग [घोराही सिमेन्ट र सम्राट सिमेन्ट उद्योग] काबिचमा १९ बुँदे सहमतिसँगै टिप्पर संचालन हुने भएका हुन । सिमेन्ट उद्योग प्रभावित बङ्ग्लाचुली गाउँपालिका(३ र ४ का स्थानीयले टिप्पर संचालनमा रोक लगाएका थिए ।

सहमति अनुसार घोराही उपमहानगरपालिकाको बंगलाचुली सिमानादेखि पूर्वतर्फको एक किलोमिटर सडक घोराही सिमेन्ट र सम्राट सिमेन्ट उद्योगले संयुक्त रूपमा २०८२ फागुन मसान्तसम्म कालोपत्रे गर्ने समहती भएको बङगलाचुली गाउँपालिका–४ पन्त टोल निवासी छबिलाल डागीले जानकारी दिएका छन् ।उनका अनुसार बाँकी एक किलोमिटर सडक बंगलाचुली गाउँपालिकाको पहलमा सम्बन्धित निकायसँग समन्वय गरी २०८३ कात्तिक मसान्तसम्म कालोपत्रे गर्ने सहमति भएको छ ।

यसैगरी तापाचोकदेखि तापा सम्मको सडक तत्काल मर्मत गर्ने, संवेदनशील क्षेत्रमा सुरक्षा पिलर निर्माणको काम २०८२ पुस १२ गतेदेखि सुरु गर्ने, खानी प्रभावित क्षेत्रमा पानीका मुहान तथा ढल निकासको व्यवस्था स्थानीयसँग समन्वय गरी अघि बढाउने सहमति भएको छ । खानी प्रभावित क्षेत्रको जमिन खरिद गर्ने विषयमा दाङवाङ खोलाको किनारमा रहेको १२४ रोपनी खेत दुवै उद्योगले संयुक्त रूपमा खरिद गर्ने, एक महिनाभित्र बैना गर्ने तथा खमारी क्षेत्रमा सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको जनाइएको छ । यस्तै ओभरलोड, गति नियन्त्रण तथा टाइमकार्डको व्यवस्था तत्काल कार्यान्वयन गर्ने, ट्राफिक नियम पालना गराउन प्रहरी र गाउँपालिकाको सहयोग लिने सहमति भएको छ । टिप्पर व्यवसायी समितिका तर्फबाट टिंकु वराललाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ ।

घोराही–तापाचोक सडक आवश्यकताअनुसार मर्मत गर्ने, टिप्पर दुर्घटनाबाट घाइते बंगलाचुली–४ की सुस्मा रोकालाई ६० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरिएको छ । साथै माइनिङ समय बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कायम गर्ने, प्रभावित क्षेत्रमा धुलो नियन्त्रणका लागि पानी छर्कने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने सहमति भएको छ ।

छलफलमा छलफल कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन, उपाध्यक्ष भक्तबहादुर जिसी, बंगलाचुली गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्मा, घोराही सिमेन्ट उद्योगका तर्फबाट जनसम्पर्क अधिकारी अमर सुवेदी, सम्राट समेन्ट उद्योगको तर्फबाट बलदेब मल्ललगायत प्रभावित क्षेत्र वडा नम्बर ३, ४ र ६ का स्थानीयको सहभागिता रहेको थियो ।