महोत्सवले स्थानीय उत्पादन, संस्कृति, कला तथा पर्यटन प्रवर्धनमा टेवा पु¥याउनेछ : अध्यक्ष केसी [अन्तर्वार्ता]
तुलसीपुरमा महोत्सव लाग्दै छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले ‘प्रथम तुलसीपुर महोत्सव’ २०८२ लगाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बर्सेनि तुलसीपुरमा महोत्सव लाग्दा विभिन्न गुनासाहरु र विरोधका स्वरहरु सुन्निने गरेका छन् । यस पटक पनि महोत्सव लाग्दै छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौँ औद्योगिक वातावरणको सुधार दिगो अर्थतन्त्रको आधार भन्ने मुल नाराका साथ यही पुस ४ गते देखि १९ गतेसम्म महोत्सव लाग्दै छ ।
स्थानीय उत्पादनलाई प्रोत्सान गर्न तथा यहाँ रहेका धार्मिक, पर्यटकीय स्थलको विकास विस्तार गरी स्थानीय उत्पादनलाई देश विदेशसम्म चिनाउन तथा व्यापार व्यवसायलाई बढवा दिन महोत्सव लाग्ने गरे पनि त्यसले खासै महत्व नपाएको गुनासा आउने गरेका छन् । विगतका दिनमा पनि महोत्वस लाग्ने गरेका थिए । लागेका महोत्सवले के–कति सार्थकता पाए वा यहाँको उद्योगी व्यवसायी, कृषि र पर्यटनको विकासमा कतिको टेवा पुग्यो भन्ने कुरामा भने बहस छलफल भने हुन सकेको छैन ।
यसै सन्दर्भमा तुलसीपुरमा सञ्चालन हुन थालेको महोत्सव मुल आयोजनक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीसँग गोरक्षकर्मी बालाराम खड्काले सातावार्तामा गरिएको संप्क्षिप्त कुराकानी ।
स्वागत छ यहाँलाई सातावार्तामा ?
धन्यवाद तपाई अनि तपाईको पत्रिकालाई महोत्सव सम्बन्धी केही कुराहरू राख्न दिएकोमा ।
महोत्सव लगाउँदै हुनुहुन्छ तयारी कहाँसम्म पुगेको छ ?
यही पुस ४ गतेदेखि तुलसीपुरमा सुरु हुने महोत्सवको तयारीको हामीहरू अन्तिम चरणमा पुगेका छौँ । स्टलहरू बुकिङदेखि विभिन्न महोत्सव स्थलमा तयारीका कुराहरू पूरा हुने चरणमा छन् । हामीहरूले अब सबै कुराहरू पूरा गर्ने गरी काम गरिरहेका छौँ ।
तपाईहरूले लगाउन लागेको महोत्सवको मुल उद्देश्य के हो ?
महोत्सवको लगाउनुको उद्धेश्य त स्थानीय उत्पादनको प्रर्वद्धन, यहाँको पर्यटन, संस्कृति, कला पर्यटकीय क्षेत्रको विकास विस्तार र यहाँ उद्यमशिलताको विकास र यहाँको उद्यमशिलतादेखि अन्य कुराहरूलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रका प्रचारप्रसार गर्ने नै हो । त्यसका साथै हाम्रो अन्य उद्देश्यहरू पनि रहेका छन् । तुलसीपुरको गौरवकै आयोजनाका रूपमा रहेको तुलसीपुर औद्योगिक ग्रामको प्रचारप्रसारका साथै औद्योगिक ग्राम सञ्चालन, तुलसीपुरमा स्थानीय सरकारको समन्वयमा तरकारी हाटबजार सञ्चालन, व्यावसायिक नवीनतम सोचको विकास गर्न महोत्सव आयोजना गरिएको हो ।
त्यसका साथै विभिन्न प्रकार तथा सम्भावनात्मक साना व्यवसाय क्षेत्रमा हुने जोखिमजन्य समस्याहरूको प्रारम्भिक चरणसम्मको पहिचानकारी लिन नसक्दा हुने ठूलो क्षतिलाई न्यूनीकरणका लागि विशेष सावधानी अपनाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरूमार्फत् प्रचारप्रसार गर्नुका साथै आगजनी नियन्त्रणका लागि आगो निभाउने उपकरणको प्रयोगमा स्थानीय सरकारको सहयोगको साझेदारीमा निःशुल्क रिफिलको व्यवस्था र विपद् न्यूनीकरणका अन्य कार्यक्रममा साझेदारी गर्ने तथा युवाहरूलाई व्यवसायमा प्रोत्साहित गरी विभिन्न व्यवसायमा नविनतम आइडियाहरू छनोट गर्ने र सफल व्यवसायीका रूपमा स्थापित हुने उद्देश्यका गाउँको व्यवसाय सम्वद्र्धन केन्द्र व्यापार इन्क्युवेशन केन्द्रको अवधारणा अन्तर्गत सञ्चालन र परिचालन गर्ने कार्यालयको स्थापना गरी सेवा प्रदान गरिने हाम्रो उद्देश्य छ ।
त्यस्तै संस्थाले आफ्नै भवनबाट सम्पूर्ण गतिविधिहरू सञ्चालन गर्न उपयुक्त स्थान छनोट गरी भवन निर्माण गर्ने, न्यूनोत्तम र साना व्यवसायहरूलाई उत्पादनको नमुना बनाउने र उत्पादनहरू प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्ने र महिला तथा युवा उद्यमशीलता सशक्तिकरण सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ । स्टार्टअप र साना व्यवसायलाई प्रवर्धन र उत्पादनलाई महोत्सवमा प्राथमिकता दिइने छ ।
महोत्सवका आकर्षणहरू के–के हुन् ?
महोत्सवका आकर्षणमा औद्योगिक व्यापार हस्तकला प्रदर्शनी, राष्ट्रिय लोकदोहोरी तथा लोकनृत्य प्रतियोगिता, जातीय पहिचान भल्काउने सांस्कृतिक नृत्य तथा झाँकी, वित्तीय तथा अन्य सेवामूलक संस्थानबारे जानकारी, अटो मोवाइल्स सूचना प्रविधिहरूको प्रदर्शनी, लण्डन व्रिज जलपरी प्रदर्शनी स्टार्टअप सम्मेलन र स्थानीय उत्पादनको प्रदर्शनी तथा स्थानीय जातजातिहरूको फुड फेस्टिवललगायतका आकर्षणहरू रहने छन् ।
महोत्सवमा कति स्टलहरू रहेका छन् र स्थानीय किसानलाई कस्तो सहुलियत छ ?
हामीहरूले महोत्सवमा साढे चार सय स्टलहरू राखेका छौँ । त्यसमा कृषिलाई स्थानीय उद्यमीलाई प्राथमिकता दिने छाँै । किसानलाई ५० वटा स्टल निःशुल्क उपलब्ध गराउने भन्ने हाम्रो निर्णय रहेको छ । महोत्सवमा कृषिजन्य वस्तुको बिक्री वितरणलाई प्राथमिकता दिइने मैले पहिले नै भनि सके साढे चार सय स्टलमध्ये ५० वटा स्टल स्थानीय किसानले उत्पादन गरेका सामग्री प्रवद्र्धनका लागि निःशुल्क पाउने छन् ।
यस्तै स्टलमार्फत् बढी वस्तु बिक्री वितरण गर्ने किसान समूहलाई पुरस्कार प्रदान गरिने व्यवस्था पनि गरिएको छ । स्थानीय उत्पादन प्रवद्र्धनका लागि विभिन्न संघसंस्थासँग समन्वय भइरहेको छ । महोत्सवमा महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शनी गरिने छ । विशेषगरी तुलसीपुर उपमहानगरपालिका भित्रका कृषिजन्य उपज र हस्तकलाका सामग्रीलाई प्राथमिकता दिइने छ । महोत्सवमा नेपालमै पहिलो पटक ‘युवा उद्यम नयाँ प्रवद्र्धन छनोट प्रतियोगिता’ आयोजना गरिने छ । युवाहरूलाई आफ्नो व्यवसायिक ज्ञान र सिप प्रतिस्पर्धामार्फत् प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको छ ।
महोत्सवको उद्घाटन कसरी गर्दै हुनु हुन्छ ?
महोत्सवमा पहिलो दिन पुस ४ गते बिहान ११ बजेदेखि तुलसीपुरको बसपार्कबाट भव्य र ¥याली निकालिने छ । त्यसमा विभिन्न जातजाति, कला संस्कृति झलकने झाँकीहरू प्रदर्शन हुने छन् । त्यस पछि महोत्सव स्थलमा २ बजे उद्घाटन गर्ने छौँ । तुलसीपुरको गौरव इज्जतसँग जोडिएको हुनाले हामीहरूले ¥यालीमा सबै संघ, संस्थालाई बोलाएका छौँ । त्यसमा पनि पहिलो हुनेलाई १५ हजार दोस्रो हुने लाई १० हजार तोस्रो हुने झाँकीलाई पाँच हजार र शान्तोना पुरस्कारको व्यवस्था हामीहरूले गरेका छौँ ।
महोत्सव स्थलमा प्रवेशका लागि कति शुल्क छ ?
हामीहरूले पहिले जस्तै एक सयको टिकट महोत्सव अवलोकनका लागि लिने छौँ । उक्त टिकटले सबै महोत्सवभित्र प्रवेश गरेर महोत्सवको स्टलहरूमा रहेका विभिन्न कुराहरू अलोकन गर्न पाउनु हुने छ ।
महोत्सवको विरोध पनि भइरहेको छ साथ सहयोग कस्तो पाउनु भएको छ ?
त्यस्तो विरोध त छैन । हामीहरूले महोत्सव सञ्चालनका लागि सबैसँग सल्लाह सुझाव लिएका छौँ र साथ सहयोग पाउने छौँ हामीहरू उत्साहित छौँ । सबैले सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नु भएको छ । सामान्य तया विरोध नआउने होइन काम गर्ने क्रममा आउँछ तर हामीले सबैलाई समेटेर महोत्सवलाई सफल पार्ने छौँ र यहाँका सबै संघ संस्था तथा छिमेकी जिल्ला तथा पालिकाहरूले पनि सहयोग गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु र साथ सहयोग र सहभागीता जनाई दिन हुन पनि म अनुरोध गर्दछु ।
अन्तमा केही भन्नु छ ?
अन्तमा म सबैलाई यस महोत्सवलाई सफल पार्न साथ सहयोग गर्न आग्रह गर्दछु । महोत्सव हामी सबैको हो त्यसमा पनि तुलसीपुरको विशेष सहयोगको हामीहरूले अपेक्षा गरेका छौँ । यसमा सबैको साथ सहयोग आवश्यक पर्छ । म यसै सञ्चार माध्यमबाट महोत्सवमा आउन चुले निम्तो समेत गर्न चाहान्छु ।
उद्घाटनका दिन सबैलाई सहभागी जनाई दिन र त्यस पछि पनि महोत्सवमा आयर अवलोकदेखि केही महत्वपूर्ण सल्लाह सुझाव दिन पनि अनुरोध गर्न चाहान्छु । साथै मेरो कुराहरू राख्ने अवसर दिनुभएकोमा तपाईहरूको सञ्चार माध्यमलाई विशेष धन्यवाद दिन चाहान्छु ।
