Goraksha

National Daily

तुलनाले होइन, बुझाइले टिक्ने सम्बन्ध

मनोज पौडेल

जति धेरै कुराकानी हुन्छ, त्यति नै प्रेम सास फेर्छ। प्रेमलाई शब्द चाहिन्छ, तर शब्दभन्दा बढी सुन्ने मन चाहिन्छ। बोल्न पाउने ठाउँ नहुँदा भावना मनभित्रै कुहिन थाल्छन्। बाहिर हाँसो देखिए पनि भित्र असन्तोष थुप्रिँदै जान्छ। धेरै सम्बन्धहरू प्रेमको कमीले होइन, कुराकानीको अभावले थाकेका हुन्छन्। जब बोल्न डर लाग्छ, प्रश्न गर्न हिचकिचाहट हुन्छ, तब प्रेम आफैँ चुपचाप ओझेल पर्न थाल्छ।

जति धेरै संवाद हुन्छ, त्यति धेरै बुझाइ गहिरिन्छ। बुझाइ भनेको सधैँ सहमत हुनु होइन, फरक भएर पनि स्वीकार गर्न सक्नु हो। सबै भावना एउटै समयमा, एउटै शब्दमा व्यक्त हुँदैनन्। कहिलेकाहीँ शब्द कडा हुन्छन्, तर नियत कडो हुँदैन। बुझ्ने प्रयास नभए शब्दलाई नै हतियार बनाइन्छ, र त्यही हतियारले सम्बन्धलाई घाइते बनाउँछ। बुझाइ बढ्दा चोट कम हुन्छ, किनकि मनले मनको अवस्था पढ्न थाल्छ।

जति धेरै बाँडफाँड हुन्छ, त्यति नै आत्मीयता बढ्छ। खुशी बाँड्नु सजिलो हुन्छ, तर पीडा बाँड्नु साहस हो। डर, असुरक्षा, कमजोरी र असफलता जसको सामु राख्न सकिन्छ, त्यही सम्बन्धमा आत्मीयता हुन्छ। जहाँ आफैँलाई लुकाउनुपर्दैन, त्यहाँ मन हलुका हुन्छ। आत्मीयता त्यहाँ जन्मिन्छ जहाँ अभिनय सकिन्छ, जहाँ आफू जस्तो छौँ त्यस्तै स्वीकारिन्छौँ।

जति धेरै हेरचाह हुन्छ, त्यति नै ममता गहिरिन्छ। ममता ठूला वचनमा होइन, साना व्यवहारमा देखिन्छ। समयमै सोधिएको “ठीक छ?” ले कहिलेकाहीँ हजार शब्दभन्दा ठूलो काम गर्छ। ममता अधिकार होइन, भरोसा हो। जसले माया गर्छ, ऊ बाँध्न खोज्दैन, बुझ्न खोज्छ। जहाँ ममता हुन्छ, त्यहाँ डर टिक्न सक्दैन।

तर जति धेरै शंका हुन्छ, त्यति नै सम्बन्धमा तिक्तता बढ्छ। शंका आफैँमा अपराध होइन, तर त्यसलाई पालिराख्नु सम्बन्धका लागि घातक हुन्छ। शंकाले प्रमाण खोज्छ, प्रमाणले प्रश्न, प्रश्नले आरोप, र आरोपले दूरी। एकपटक विश्वास चिरा परेपछि सत्य पनि अपूरो लाग्न थाल्छ। संवाद घट्छ, अनुमान बढ्छ, र अनुमानले सम्बन्धलाई थकाइदिन्छ।

यही बिन्दुमा एउटा गहिरो यथार्थ जोडिनुपर्छ, जुन धेरै सम्बन्धमा नबुझिएकै कारण समस्या बन्छ। सबै मानिसको कामको प्रकृति एउटै हुँदैन। त्यसैले सबैको समय, थकान र उपलब्धता पनि एउटै हुन सक्दैन। पहरेदार बाह्र घण्टा ड्युटीमा उभिन्छ, उसको थकान घडीले होइन शरीरले मापन गर्छ। सरकारी कर्मचारीका लागि दशदेखि पाँच समयको कठोर सीमा हुन्छ, एक मिनेट पनि तलमाथि चल्दैन। निजी क्षेत्रमा काम गर्नेहरूका लागि आठ घण्टा भन्ने कुरा कागजमा मात्र सीमित हुन्छ, व्यवहारमा समयले होइन कामले शासन गर्छ, कहिलेकाहीँ अठार घण्टा पनि सामान्य लाग्छ। विकास क्षेत्रमा काम गर्नेहरूका लागि शनिबार र बिदाका दिनहरू नामका लागि मात्र हुन्छन्। कहिले फिल्ड, कहिले प्रतिवेदन, कहिले लक्ष्य, कहिले परिणाम—उनीहरू सधैँ दौडिरहेका हुन्छन्। यहाँ काम गरेँ कि गरिनँ भन्ने होइन, परिणाम आयो कि आएन भन्नेले मूल्यांकन हुन्छ। प्रदर्शनकै आधारमा जागिर टिक्छ।

यस्तो अवस्थामा समय नदिनु बेवास्ता होइन, बाध्यता हुन सक्छ। ढिलो घर फर्कनु माया घट्नु होइन, जिम्मेवारीको मूल्य हुन सक्छ। थाकेर चुप लाग्नु उदासीनता होइन, शरीर र मनको सीमा हुन सक्छ। यो कुरा नबुझ्दा घरभित्रै शंका जन्मिन्छ। कामको प्रकृति नबुझी गरिएका अपेक्षाले सम्बन्धमा दबाब थप्छ। बुझाइ नहुँदा प्रेम पनि दोषी जस्तो देखिन थाल्छ।

र जब तुलना सुरु हुन्छ, त्यहीँबाट कुरा बिग्रिन्छ। अरूको जीवन, अरूको समय, अरूको सहजता हेरेर आफ्नै सम्बन्ध तौल्न थालिन्छ। तुलना भनेको कृतज्ञताको मृत्यु हो। हरेक मान्छेको परिस्थिति फरक हुन्छ, हरेक जिम्मेवारीको भार फरक हुन्छ। तुलना गर्दा हामी मान्छेलाई होइन, कल्पनालाई प्रेम गर्न थाल्छौँ, र कल्पनाले कहिल्यै सन्तुष्टि दिँदैन।

सम्बन्ध सहयात्रा हो, प्रतिस्पर्धा होइन। कसले कति समय दियो भन्ने हिसाबले होइन, कसले कति इमानदारीले निभायो भन्ने भावनाले सम्बन्ध टिक्छ। कहिलेकाहीँ चुप लाग्नु कमजोरी होइन, समझदारी हो। कहिलेकाहीँ झुक्नु हार होइन, सम्बन्ध जोगाउने बुद्धिमानी हो।

प्रेम बदल्ने चाहनाबाट होइन, स्वीकार्ने साहसबाट बलियो हुन्छ। मानिस अपूर्ण हुन्छ, र त्यही अपूर्णतामा उसको सत्य हुन्छ। पूर्णता खोज्दै हिँड्नेले अन्ततः एक्लोपन भेट्छ। अपूर्णतालाई अंगाल्न सक्नु नै परिपक्व प्रेम हो।

अन्ततः सम्बन्ध कुनै दिनको निर्णय होइन, यो हरेक दिनको रोजाइ हो। बोल्ने कि चुप बस्ने, बुझ्ने कि आरोप लगाउने, विश्वास गर्ने कि शंका गर्ने, स्वीकार्ने कि तुलना गर्ने—यिनै रोजाइहरूले सम्बन्धको दिशा तय गर्छन्। जति धेरै कुराकानी, त्यति धेरै प्रेम। जति धेरै संवाद, त्यति धेरै बुझाइ। जति धेरै बाँडफाँड, त्यति धेरै आत्मीयता।

जति धेरै ममता, त्यति धेरै न्यानोपन। र जहाँ कामको प्रकृति, समय र यथार्थ नबुझी शंका र तुलना हावी हुन्छ, त्यहाँ सम्बन्ध आफैँ थाकेर बस्न थाल्छ।सम्बन्ध सबैले बुझ्नपर्ने कुरा के भने मन साँचो राख्न सक्नु र यथार्थ बुझ्न सक्नु नै आफ्नो परिवारको सम्मान गर्नु हो ।