६० लाखमा धाराखर्क खानेपानी योजना

भरत विश्वकर्मा
रोल्पा, २ पुस । रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ अरेश धाराखर्कमा एक घर एक धारा निर्माण गरिएको छ । आइएनएफ (इन्टरनेशनल नेपाल फेलोसिप) नेपाल र सुनिलस्मृति गाउँपालिकाको समन्वयमा खानेपानी योजना सम्पन्न गरी धाराखर्क गाउँमा एक घर एक धारा निर्माण गरिएको हो ।

धाराखर्कमा खडारे खोला खानेपानी उपयोजना र गोगनपानी खोला खानेपानी उपयोजनाबाट धाराखर्क गाउँमा खानेपानी विस्तार भएको हो । यी दुई योजनाको लागत ४१ लाख रहेको छ । जसमा संस्थाको १८ लाख, गाउँपालिकाको तीन लाख र समुदायको १९ लाख लागत साझेदारी रहेको आइएनएफ नेपाल रोल्पाका कार्यालय प्रमुख तिलक भण्डारीले जानकारी दिए ।

खडारेखोला खानेपानी उपयोजना २५ लाख ४८ हजारमा सम्पन्न भएको छ । जसमा आइएनएफ नेपालको १० लाख, गाउँपालिकाको तीन लाख र समुदायको १२ लाख १६ हजार रुपैयाँको लागतमा सम्पन्न भएको छ । यसैगरी गोगनपानी खोला खानेपानी उपयोजना कुल १५ लाख ९४ हजार रुपैयाँमा सम्पन्न भएको छ । जसमा आइएनएफ नेपालको आठ लाख र समुदायको सात लाख ४९ हजार रुपैयाँ रहेको छ । आइएनएफ नेपाल र समुदायको लागत साझेदारीमा सरसफाइ तथा स्वच्छतासम्बन्धी काम पनि भएको कार्यालयले जनाएको छ ।

आइएनएफ नेपालको चार लाख ७० हजार र समुदायको १४ लाख आठ हजार रुपैयाँ गरी १९ लाख पाँच हजार रुपैयाँमा चङ निर्माण ४५ र करेसाबारी खेती प्रवर्धन गर्न धाराको फोहोर पानी सङ्कलन ट्याङ्की ४५ वटा निर्माण गरिएको कार्यालयले जनाएको छ । आइएनएफ नेपाल र गाउँपालिकाको साझेदारीमा सञ्चालित यस योजनाले धाराखर्कका ४५ घरधुरी र एक विद्यायल लाभान्वित भएको कार्यालयले जनाएको छ ।

वर्षौँदेखि पानीको अभाव झेल्दै आएका स्थानीयका लागि घरघरमा धारा पुगेसँगै उत्साहित बनेका छन् । यसअघि खानेपानी र सिँचाइ अभाव भोग्दै आएकोमा अब त्यसको अन्त्य भएको स्थानीय रशे पुन मगर बताउँछन् । घरघरमा धारा आएपछि पानीको अभाव हटेको उनको भनाइ छ । योजना सम्पन्न गर्न समुदायको योगदान महत्वपूर्ण रहेको आइएनएफ नेपालका सामुदायिक विकास विभाग प्रमुख लेखनाथ केसीले बताए । ‘योजना सम्पन्न गर्नमा धेरै योगदान समुदायको रहेको छ’, उनले भने ।

योजना संरक्षण र दिगो प्रयोगका लागि समुदायले अपनत्व लिनुपर्ने उनले बताए । गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले खानेपानी योजना सम्पन्न भएसँगै समुदायलाई राहत भएको बताए । खानेपानीको अभाव भोग्दै आएका समुदायको लागि संस्थाको सहयोगमा गाउँ नै सक्रिय भएर योजना सम्पन्न गरेको बताए ।