दाङमा एम्बुलेन्स भाडादर निर्धारण, २१ दिनभित्र जिपिएस प्रणाली जडान गर्न निर्देशन

लीलाधर वली
दाङ, १ पुस । दाङमा एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउँदै नागरिकको सहजताका लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले सोमवार एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो ।

एम्बुलेन्सको भाडा मनोमानी ढंगले आफू खुसी लिने गर्दा त्यसको मारमा सर्वसाधारण नागरिक पर्ने गरेको जनगुनासो बढेपछि २०८२ असोजको २९ गते बसेको समितिको बैठकले भाडादर निर्धारणका लागि जिल्ला एम्बुलेन्स सेवा शुल्क भाडादर निर्धारण उपसमिति गठन गरेको थियो । उक्त समितिले सरोकारवालासँग छलफल र छिमेकी जिल्लामा लागु गरिएको भाडादर अध्ययन गरेर दाङका घोराही, तुलसीपुर, लमही र भालुवाङलाई केन्द्र मानेर तयार गरेको भाडादर कायम गरिएको छ ।

समितिले जिल्लाका विभिन्न सडकखण्डसँगै बाहिरी जिल्लाका लागि भाडादर कायम गर्दै एम्बुलेन्स सञ्चालक संस्थालाई आफ्ना एम्बुलेन्समा २१ दिनभित्र जिपिएस प्रणाली जडान गर्न समेत निर्देशन दिएको छ । प्रादेशिक एम्बुलेन्स प्रेषण केन्द्र भालुवाङका अनुसार दाङमा हालसम्म १५ वटा एम्बुलेन्समा मात्र जिपिएस प्रणाली जडान गरिएको छ । जिल्लामा रहेका करिब ७३ वटा एम्बुलेन्समध्ये ४८ वटा केन्द्रको सम्पर्कमा रहे पनि १५ वटाले मात्र जिपिएस प्रणाली जडान गरेका छन् ।

समितिले घोराहीदेखि विभिन्न गन्तव्यका लागि भाडादर कायम गरेको छ । जसअनुसार घोराही–तुलसीपुर सडकखण्डमा दुई हजार दुई सय, घोराही–कोहलपुर छ हजार पाँच सय, घोराही–नेपालगन्ज सात हजार, घोराही–बुटवल आठ हजार, घोराही–भैरहवा आठ हजार पाँच सय, घोराही–चितवन १६ हजार, घोराही–काठमाडौँ २२ हजार, घोराही–मुर्कटी सडकखण्डमा चार हजार पाँच सय, घोराही कमिरेचौर÷स्युजा तीन हजार पाँच सय, घोराही–सैघा तीन हजार, घोराही–हाँसीपुर चार हजार पाँच र घोराही–लमही सडकमा दुई हजार पाँच सय भाडादर कायम गरिएको छ ।

त्यसैगरी बैठकले तुलसीपुर–कोहलपुर पाँच हजार पाँच सय, तुलसीपुर–नेपालगन्ज छ हजार सय, तुलसीपुर–बुटवल नौ हजार, तुलसीपुर–भैरहवा नौ हजार पाँच सय, तुलसीपुर–चितवन १७ हजार, तुलसीपुर–काठमाडौँ २३ हजार रुपैयाँ भाडादर निर्धारण गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख एवम् समितिका सदस्य सचिव टिवी गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार लमही–तुलसीपुर सडकखण्डमा चार हजार, लमही–कोहलपुर पाँच हजार पाँच सय, लमही–नेपालगन्ज छ हजार, लमही–बुटवल छ हजार पाँच सय, लमही–भैरहवा सात हजार, लमही–चितवन १४ हजार, लमही–काठमाडौँ २० हजार, भालुवाङ–लमही दुई हजार, भालुवाङ–घोराही चार हजार, भालुवाङ–तुलसीपुर छ हजार, भालुवाङ–कोहलपुर छ हजार पाँच सय, भालुवाङ–नेपालगन्ज सात हजार, भालुवाङ–बुटवल पाँच हजार पाँच सय, भालुवाङ–भैरहवा छ हजार, भालुवाङ–चितवन १३ हजार र भालुवाङ–काठमाडौँ १९ हजार भाडादर कायम गरिएको छ ।

साथै स्थानीय रुटमा नगरक्षेत्रभित्र पाँच किलोमिटरसम्म पक्की सडकमा पाँच रुपैयाँ र कच्ची सडकमा सात सय कायम गरिएको छ । पाँच किलोमिटरभन्दा बढी पक्की सडकमा जानुपरेमा प्रतिकिलोमिटर एक सय रुपैयाँ र कच्ची सडकमा जानुपरेमा एक सय ५० रुपैयाँ प्रतिकिलो मिटर भाडा लिन सकिने निर्णय गरिएको छ । बैठकले एम्बुलेन्स सञ्चालन गर्ने संस्थाहरूलाई २१ दिनभित्र एम्बुलेन्समा जिपिएस जडान गर्न समेत निर्देशन दिएको छ । जिल्लामा सञ्चालन भएका एम्बुलेन्सलाई कानुनी दायरामा ल्याउँदै नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले भाडा निर्धारणसँगै जिपिएस जडान गर्ने निर्णय गरिएको बताए । यो भाडादर जिल्लामा सञ्चालित ‘ख’ र ‘ग’ वर्गका एम्बुलेन्सका हकमा लागु हुनेछ ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसी, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरी, यातायात व्यवस्था कार्यालय तुलसीपुरका विनोद पौडेल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दिपक श्रेष्ठलगायत एम्बुलेन्स सञ्चालक, चालकसँगै विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । बैठकमा स्वास्थ्य कार्यालय दाङका प्रमुख गुरुङ एम्बुलेन्स सञ्चालन निर्देशिकाका बारेमा जानकारी गराएका थिए ।