उपभोक्ता समितिलाई योजनासम्बन्धी अभिमुखीकरण

प्रमोद आचार्य
दंगीशरण, १ पुस दंगीशरण गाउँपालिकाको योजना शाखाले उपभोक्ता समितिका लागि योजनासम्बन्धी अभिमुखीकरण दिन थालेको छ । आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाले ७ वटै वडामा पुगेर उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण प्रदान गर्ने योजना बनाएको हो ।

सोमवार वडा नं. ३ मा उपभोक्ता समितिका पदाधिकारीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिएका छन् । उनका अनुसार उपभोक्ता समिति गठनदेखि लिएर भुक्तानी प्रक्रियासम्म देखिने समस्या समाधान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

गाउँपालिकाका लेखा अधिकृत ध्रुवराज न्यौपानेले उपभोक्ता समितिका पदाधिकारीले योजना कार्यान्वयनका क्रममा भोग्दै आएका व्यवहारिक कठिनाइलाई मध्यनजर गर्दै ७ वटै वडामा अभिमुखीकरण कार्यक्रम थालिएको जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले यस कार्यक्रमबाट उपभोक्ता समितिका पदाधिकारीले भुक्तानी प्रक्रियामा आउने समस्या न्यूनीकरण हुने विश्वास व्यक्त गरे । उनले आफ्ना गाउँबस्तीमा हुने हरेक विकास निर्माणका कार्यमा श्रमदानमार्फत् सहभागी हुन स्थानीयबासीलाई आग्रह गरे ।

वडा नं. ३ मा सम्पन्न अभिमुखीकरण कार्यक्रम गाउँपालिकाका सबै ७ वटै वडामा सञ्चालन गरिने जनाइएको छ । वडा नं. ३ मा भएको कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता एवम् प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

अभिमुखीकरण तालिमका प्रशिक्षक गाउँपालिकाका लेखा अधिकृत ध्रुवराज न्यौपाने रहेका थिए । कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख भक्तिराम पाण्डेले समीक्षा गरेका गरेका थिए । कार्यक्रमको सहजीकरण रेग्मी समाजका वरिष्ठ सदस्य पद्मप्रसाद रेग्मीले गरेका थिए ।