दिपन महिला सहकारीको १३औँ साधारणसभा

टेकबहादुर पुन
लमही, १ पुस । दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको १३औँ साधारणसभा सम्पन्न भएको थियो । संस्थाले साधारणसभाको अवसरमा महिला किसान तथा ज्येष्ठ नागरिक र विद्यार्थी गरी दुई दर्जन बढीलाई सम्मान गरेको छ । वार्षिक साधारणसभाको अवसर पारी संस्थामा आवद्ध ज्येष्ठ नागरिक, महिला किसानसँगै जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको हो ।

कार्यक्रम संस्थाका अध्यक्ष पुनम घर्ती मगरको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवम् लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीको प्रमुख आतिथ्य र हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत डा. गान्धी उपाध्यायको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोहन गिरीले सहकारीले महिलालाई आर्थिक रूपमा सक्षम बनाउँदै सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरे ।

उनले नगरपालिका र वडा कार्यालयको तर्फबाट सहकारीसँग सहकार्य गर्दै कृषि, पशुपालन र उद्यम विकासमा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरे । संस्थाकी कोषाध्यक्ष सुनिता बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लेखा संयोजक गीता चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सचिव निर्मला शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

संस्थाका व्यवस्थापक हरिनारायण चौधरीले आगामी वार्षिक कार्ययोजना प्रस्तुत गर्दै तरकारी खेती, बाख्रापालन, भैँसी पालनलगायतका क्षेत्रमा व्यवसायिक विस्तार गर्ने, बजार पहुँच बढाउने र सदस्यको सिप तथा क्षमता अभिवृद्धि गर्ने योजना रहेको बताए । किसानलाई व्यवसायिक बनाउँदै आम्दानी वृद्धिमा जोड्ने सहकारीको लक्ष्य अझ प्रभावकारी ढंगले अघि बढाइने उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष पुनम घर्ती मगरले सहकारीलाई अझ सशक्त, पारदर्शी र सदस्य–मैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । सहकारीले महिलालाई आत्मनिर्भर बनाउने, कृषि तथा पशुपालनमार्फत् उद्यमशीलता विकास गर्ने र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने दिशामा निरन्तर काम गरिरहेको उनले उल्लेख गरिन् । कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका कार्यक्रम अधिकृत हिमाल खड्का, हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत डा. गान्धी उपाध्यायलगायतका वक्ताले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण संस्थाकी उपाध्यक्ष लक्ष्मी चौधरीले गरेकी थिइन् । २०७० साल कात्तिकमा स्थापना भएको यस सहकारी २५ जना सदस्यबाट सुरु भई हाल एक हजार दुई सयभन्दा बढी सदस्य रहेको संस्थाले जनाएको छ ।