कृषि खाद्य प्रणाली रूपान्तरणमा सरोकारवालाबीच सहकार्यको आवश्यकता

काठमाडौँ,२९ मंसिर । समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालबीच सहकार्यको आवश्यकता औँल्याइएको छ ।

सरकारी निकायका उच्च पदाधिकारी, युवा नवप्रवर्तक, निजी क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता, आदिवासी समुदायका प्रतिनिधि तथा विकास साझेदारहरूको सहभागितामा आज ललितपुरमा भएको ूनेपाल फुड फोरम २०२५ू मा सहभागीहरूले कृषि नीति बनाउँदा र कार्यान्वयमा ल्याउँदा पनि संवाद र छलफल बढाउन सरोकारवालाले अनुरोध गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन एफएओ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा साझेदारी तथा सहकार्यको प्रवर्द्धन, युवामुखी नवप्रवर्तनलाई प्रोत्साहन तथा खाद्य सुरक्षा, ग्रामीण जीविकोपार्जन र दिगो आर्थिक वृद्धिलाई सुदृढ गर्ने बारेमा छलफल भएको छ । फोरममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा। मदन प्रसाद परियारले कृषि क्षेत्रमा नवप्रवर्तन, लगानी र समावेशीतामार्फत आधुनिकीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

उहाँले कृषि खाद्य प्रणाली रूपान्तरणमा युवा, महिला तथा आदिवासी समुदायको सक्रिय सहभागिता महत्त्वपूर्ण रहेको बताउँदै दीर्घकालीन उत्पादकत्व र उत्थानशीलताका लागि समावेशी सहभागीता अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियारले युवाहरू नेपालको कृषि क्षेत्रको भविष्यको मेरुदण्ड भएको र विशेषगरी कृषि लगानी दशक (२०२४–२०३४) अन्तर्गत उत्पादन, प्रतिस्पर्धा तथा दिगोपनामा सुधार ल्याउन युवाको भूमिका निर्णायक रहने धारणा राख्नुभयो ।

सकारात्मक नीतिहरू, उद्यमशीलता प्रवर्द्धन, सीप विकास, वित्तीय पहुँच तथा सुदृढ बजार पहुँचका माध्यमबाट युवाका लागि सकारात्मक वातावरण बनाउन सरकारले प्रयास गरेको उल्लेख गर्दै मन्त्री परियारले भन्नुभयो,‘युवाले नेतृत्व गरेका कृषि व्यवसाय तथा जलवायु अनुकूल कृषि अभ्यासहरूले रोजगारी सिर्जना, कृषि उत्पादनको मूल्य अभिवृद्धि तथा ग्रामीण अर्थतन्त्रको पुनर्जीवनमा महत्त्वपूर्ण योगदान पुयाइरहेको छ ।’ न्यायपूर्ण र कसैलाई नछुटाउने किसिमको कृषि रूपान्तरणका लागि युवा महिला, आदिवासी युवा तथा पहाडी र दुर्गम क्षेत्रका युवाको समावेशीता सुनिश्चित गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभएको छ।

उद्घाटन सत्रमा सम्बोधन गर्दै खाद्य तथा कृषि सङ्गठनका नेपाल तथा भुटानका प्रतिनिधिकेन शिमिजुले नेपालको कृषि खाद्य प्रणालीको भविष्य निर्माणमा युवाको भूमिकामाथि विशेष जोड दिनुभयो । खाद्य तथा कृषि सङ्गठनका नेपाल तथा भुटानका प्रतिनिधिकेन शिमिजुले युवाहरू अब विकास कार्यक्रमका लाभग्राही मात्र नभ कृषि खाद्य प्रणाली रूपान्तरणका प्रमुख साझेदार तथा नेता भएको धारणा व्यक्त गर्नुभयो ।

युवामा रहेको नवप्रवर्तनशील सोच, प्राविधिक सीप, तथा उद्यमशील ऊर्जाले जलवायु परिवर्तन, खाद्य असुरक्षा, ग्रामीण बेरोजगारी तथा वैदेशिक पलायनजस्ता चुनौती समाधान गर्न महत्त्वपूर्ण योगदान पुयाउने उहाँको भनाइ थियो। शिमिजुले युवालाई ज्ञान, नवप्रवर्तन गर्ने मञ्च, लगानीका अवसर तथा नीतिगत संवादमा पहुँच प्रदान गर्दै आएको वर्ल्ड फुड फोरम तथा ह्यान्ड–इनह्यान्ड पहललगायतका विश्वव्यापी तथा राष्ट्रिय पहलका माध्यमबाट युवाहरूको सशक्तिकरण गर्नमा खाद्य तथा कृषि सङ्गठनको प्रतिबद्धता निरन्तर रहेको जानकारी दिनुभयो ।

युवाले नेतृत्व गरेका कृषि व्यवसाय, कृषि प्रविधि समाधान तथा हरित रोजगारीमा लगानी गर्नु दिगो तथा समावेशी कृषि खाद्य प्रणाली निर्माणको आधार भएको उल्लेख गर्लै उहाँले दीर्घकालीन खाद्य सुरक्षा र ग्रामीण समृद्धिको लागि उत्पादन र प्रशोधनदेखि व्यापार प्रवर्धन, डिजिटल नवप्रवर्तन र सुशासनसम्मको सम्पूर्ण मूल्य शृङ्खलामा अर्थपूर्ण युवा संलग्नता महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो ।

खाद्य तथा कृषि सङ्गठनको ८०औँ वार्षिकोत्सवको सन्दर्भ उल्लेख गर्दै शिमिजुले खाद्य तथा कृषि सङ्गठन र नेपालको दीर्घकालीन साझेदारीका बारेमा चर्चा पनि गर्नुभयो । उहाँले नेपाल फुड फोरम २०२५ ले उत्पादन वृद्धि, पोषणमा सुधार, वातावरणमा सुधार तथा समृद्ध जीवनयापनसम्बन्धी खाद्य तथा कृषि सङ्गठनको दृष्टिकोणलाई व्यवहारमा उतार्ने प्रतिबद्धता झल्काएको बताउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक हाना सिंगर ह्याम्डीले कृषि खाद्य प्रणाली रूपान्तरणका लागि बहुक्षेत्रीय तथा एकीकृत दृष्टिकोण आवश्यक रहेको औँल्याउनुभयो । उहाँले दिगो खाद्य प्रणाली दिगो विकास लक्ष्य प्राप्तिको केन्द्रमा रहेको उल्लेख गर्दै कृषि, पोषण, जलवायु, स्वास्थ्य तथा सामाजिक संरक्षणबीच सहकार्य सुदृढ गर्न आह्वान गर्नुभयो । कोही पनि नछुटुन् भन्ने कुरा सुनिश्चित गर्नका लागि विकासका कार्यक्रमको केन्द्रमा विशेष गरी युवा, महिला र सीमान्तकृत समुदायलाई राख्नुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्र प्रसाद मिश्रले कृषि, जैविक विविधता संरक्षण र जलवायु उत्थानशीलताबीचको घनिष्ठ सम्बन्ध रहेको धारणा राख्नुभयो । उहाँले नेपालको समृद्ध प्राकृतिक स्रोतसाधनको सुरक्षा गर्दै खाद्य सुरक्षालाई सुदृढ पार्न प्रकृतिप्रति सकारात्मक कृषि, दिगो भूमि व्यवस्थापन र पारिस्थितिकीय प्रणालीमा आधारित दृष्टिकोणलाई प्रवर्द्धन गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपक कुमार खरालले कृषि खाद्य रूपान्तरणलाई अगाडि बढाउन सरकारले प्रमाणमा आधारित नीति निर्माण, नवप्रवर्तन र साझेदारीमा ध्यान केन्द्रित गरेको जानकारी गराउनुभयो । उहाँले कृषि मूल्य शृङ्खलाहरूमा उत्पादकत्व, उत्थानशीलता र दिगोपन सुधार गर्न विज्ञान, प्रविधि र तथ्याङ्कको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । फोरमका प्यानल छलफल तथा विषयगत सत्रहरूमा कृषि खाद्य प्रणाली रूपान्तरणलाई तीव्रता दिनका लागि व्यावहारिक उपायहरूमाथि विमर्श गरिएको थियो ।

जैविक विविधताको संरक्षकको रूपमा युवा, ग्रामीण महिला, अपाङ्गता भएका व्यक्ति तथा आदिवासी समुदायको परम्परागत ज्ञान, नेतृत्व र भूमिकालाई मान्यता उनीहरूका आवाजलाई विशेष सत्रमार्फत उजागर गरिएको छ ।

विभिन्न क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याएर भएको नेपाल फुड फोरम २०२५ ले सरकारी निकाय, निजी क्षेत्र, अनुसन्धान संस्था र विकास साझेदारबीच सहकार्य सुदृढ गरेको फोरमले नीति संवाद, लगानी परिचालन र युवामुखी पहलमा योगदान दिने अपेक्षा गरिएको छ ।

यसले वर्तमान तथा भावी पुस्ताका लागि दिगो, समावेशी र उत्थानशील कृषि- खाद्य प्रणाली निर्माणमा सघाउने विश्वास व्यक्त गरिएको एफएओले जनाएको छ ।