बाढीले क्षति पु¥याएको बबई पुल डेढ वर्षसम्म भएन मर्मत

गोरक्ष समाचारदाता
दाङ, २९ मङ्सिर । घोराही उपमहानगरपालिका–५ र ६ को सीमाका रूपमा रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्ष बढी समय भइसक्दा पनि मर्मत हुन सकेको छैन । घोराही–धारापानी सडकखण्ड अन्तर्गत पर्ने बबई पुल मर्मत नहुँदा सवारी आवागमनमा समस्या हुने गरेको छ ।

२०८१ साल असार महिनामा आएको बाढीले पुलको उत्तरतर्फको भागमा क्षति पु¥याएपछि हाल पुलमा एकतर्फी मात्रै सवारी सञ्चालन गर्नुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–५ धर्ना निवासी बिमल नेपालीले बताए । जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको धारापानी जोड्ने मुख्य सडकमा पर्ने उक्त पुल लामो समयसम्म मर्मत नहुँदा सवारी दुर्घटनाको जोखिम बढेको स्थानीय नेपालीले बताए ।

पर्यटन मार्गका रूपमा रहेको मुख्य सडकको पुल मर्मत गर्नु आवश्यक रहेको भन्दै उनले भने, ‘लामो समयसम्म क्षतिग्रस्त पुल मर्मत नहुँदा खाडलमा परेर अर्काे दुर्घटना हुनसक्ने खतरा रहेको छ । दुर्घटनाबाट बच्न समयमै पुल मर्मत गर्नुपर्छ ।’ बाढीले पुलको किनारा भत्किँदा सडक साँघुरो बनेको छ भने जोखिम मोलेर सवारी सञ्चालन गर्नुपर्ने बाध्यता छ । पर्यटकीय तथा धार्मिक दृष्टिले महत्वपूर्ण सडकखण्ड लामो समयसम्म अलपत्र पर्दा सम्बन्धित निकायको बेवास्ता गरेको स्थानीयको आरोप छ ।

सडक डिभिजन कार्यालय दाङले भने बजेट अभावका कारण पुल मर्मत अघि बढाउन नसकिएको जनाएको छ । सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अशोक चौधरीले मर्मतका लागि बजेट नहुँदा पुलमा क्षति भएको लामो समय हुँदा पनि मर्मत हुन नसकेको बताउँछन् । बाढीका कारण क्षति भएको पुलको वाल निर्माणका लागि गत वर्ष नै विभागमा पत्राचार गरी मर्मतका लागि बजेट माग गरिएको भए पनि विभागबाट आवश्यक बजेट प्राप्त नभएकाले हालसम्म मर्मत गर्न नसकिएको बताए ।

आर्थिक सङ्कटका कारण सरकारको ध्यान मुख्य सडक निर्माणमा केन्द्रित रहँदा सहायक सडक प्राथमिकता नपरेको भन्दै सूचना अधिकारी चौधरीले भने, ‘अहिले सरकारको ध्यान मुख्य सडक बनाउनतर्फ रहेको छ, त्यसले गर्दा पनि सहायक धेरै सडक छुटेका छन् । सोही कारण बबइ नदी पुलमा पनि बजेट आउन सकेको छैन ।’ उनका अनुसार भत्किएको पुलमा मर्मतका दापथ करिब ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।a