गोरक्ष समाचारदाता
काठमाडौं, २८ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै उपाधि उचालेको हो ।
कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले १९ दशमलव एक ओभरमा ८५ रनमै अलआउट भएको थियो । ८६ रनको लक्ष्य पच्छाएको लुम्बिनीले नौ ओभरको समाप्तिमा पूरा गरेको हो । लुम्बिनीका ओपनार दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै चार छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो ।
दिनेशले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४२ रन बनाएका थिए । पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग चार ओभरमै ५८ रनको साझेदारी गरेका थिए तर हेमन्त धामीले पाँचौ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडेका थिए । सर्ट १४ बलमा १३ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा बोल्ड भए । हेमन्तले दिनेशलाई सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट गराएका थिए ।
सुदूरपश्चिमले बनाएको ८५ रन एनपिएलको संयुक्त रुपमा चौथो कम स्कोर हो भने एनपिएल फाइनलको कम योगफल हो । लुम्बिनी कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यानले धारिलो बलिङ गरेपछि सुदूरपश्चिमको इनिङस ध्वस्त बनेको थियो । सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । ५१ लब खेलेका उनले एक चौका रहार गरेका थिए ।
चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी गरे । कप्तान दीपेन्द्रले २० बलमा एक छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडेका थिए ।
सुदूरपश्चिमको इनिङ्स धरासायी बनाउने क्रममा लुम्बिनीका कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले सानदार बलिङ गर्दै तीन÷तीन विकेट लिए । रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक नै पुरा गरे । रोहितले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए ।
उनले चार ओभर स्पेलमा जम्मा १२ रन खर्चिए । रुबेन ट्रम्पलम्यानले दुई दशमलव एक ओभरमा तीन रन मात्र खर्चेर तीन विकेट लिए भने शेरले चार ओभरमा १८ रन खर्चेर तीन विकेट लिए । तिलक भण्डारीले चार ओभरमा २६ रन खर्चेर एक विकेट लिए ।
एनपिएल कसले के पुरस्कार जिते ?
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सर्वोत्कृष्ट नेपाली खेलाडीका रूपमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल घोषित भएका छन् । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले दुई सय ७६ रन बनाउनुका साथै १० विकेट पनि लिए । त्यस्तै रेडबुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछानेले पनि पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याट घोषित भएका र रोहित पौडेलले पल्सर बाइक प्राप्त गरेका छन् । यसैगरी लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् ।
लुम्बिनीमा क्रिकेटको उज्ज्वल भविष्य
यसैबिच नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि जित्दै लुम्बिनी लायन्सले प्रदेशमा खेलकुदको नयाँ युग सुरु गर्न सफल भएको छ । पहिलो संस्करणमा अन्तिम स्थानमा रहेको टोलीले दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेपछि खेलाडी र खेलप्रेमीमा मात्र होइन, सम्पूर्ण प्रदेशवासीमा उत्साह थपेको छ ।
यो जितले लुम्बिनी प्रदेशमा क्रिकेटको विकासका लागि प्रभाव पार्ने नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँ बताउँछन् । अहिलेको जितले राष्ट्रिय क्रिकेटमा लुम्बिनीलाई बलियो टिमका रूपमा स्थापित गर्नेदेखि खेलकुदका क्षेत्रमा लगानी गर्ने अवसर देखाइदिएको बताए ।
लुम्बिनीको खेललाई अझै माथि उठाउनका लागि लगानी गर्नुपर्ने आवश्यकता यो जितले प्रमाणित गरेको भन्दै मजगैयाँले भने, ‘क्रिकेट खेलमा खेलाडी र पूर्वाधारका दृष्टिले लुम्बिनी प्रदेश बलियो छ, त्यो आजको जितले पनि प्रमाणित गरेको छ ।’
यो उपलब्धिले नयाँ पुस्तामा क्रिकेटको आकर्षण बढाउनुका साथै सिद्धार्थ रङ्गशाला भैरहवा, लमही क्रिकेट मैदान र घोराहीको गुलरिया क्रिकेट मैदानको विकासमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औल्याइएको छ । फाइनल खेलमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, खेलकुद मन्त्री र भौतिक पूर्वाधार मन्त्री, सदस्यसचिव लगायतको उपस्थिति र खेलकुदको विकासका लागि गरेको प्रतिबद्धताले उत्साहित बनाएको बताए ।
क्यान लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरले यो विजयले खेलाडीसँगै खेलप्रेमीलाई उत्साहित बनाउनेदेखि तीनै तहका सरकारलाई खेलाडीलाई नियमित खेल्ने वातावरण सिर्जना गर्न र पूर्वाधार विकासमा लगानी बढाउन जिम्मेवार बनाउने काम गरेको बताए । एनपिएलको दोस्रो संस्करणको जितले लुम्बिनी प्रदेशमा क्रिकेटको उज्यालो भविष्यको सङ्केत गरेको भन्दै उनले नयाँ खेलाडी उत्पादन गर्नेदेखि खेल पूर्वाधारको विकासमा ध्यानुपर्ने देखाएको छ ।
अन्तर्राष्ट्रिय स्तरसम्म नेपाललाई चिनाउने ठुलो प्रतियोगिता लुम्बिनी रोयल्सले जित्दा पछिल्लो पुस्ताका खेलाडीलाई उत्साहितसँगै नियमित खेल्ने वातावरण भइदिए अघि बढ्न सकिन्छ भनेर प्रमाणित गरेको क्रिकेट खेलाडी सुशान्तसिंह थापा बताउँछन् ।
गत वर्षको संस्करणमा सबैभन्दा पुछारमा रहेको टिम दोस्रो संस्करणमा उत्कृष्ट खेल्दै च्याम्पियन बन्नु खेलाडीको मिहिनेत र टिमवर्कले सम्भव भएको भन्दै यसले प्रदेशमा क्रिकेटको क्रेज बढाउने काम गरेको बताए । प्रदेशका १२ वटै जिल्लामा खेलकुदमा लगानी बढाएर पूर्वाधार विकास, नयाँ खेलाडी उत्पादन गर्ने र खेलाडीलाई नियमित खेल्ने वातावरण सिर्जना गर्नुपर्ने स्पष्ट सङ्केत गरेको भन्दै उनले भने, ‘यसले आगामी दिनमा प्रदेशबाट थप उत्कृष्ट खेलाडी उत्पादन हुने र क्रिकेट खेलको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।