प्रतिक्रियामा अल्झेको राजनीति

के.पी. सुवेदी

मुलुकको राजनीतिले यति छिटै नयाँ मोड लिनसक्छ भन्ने कल्पनासम्म कसैले नगरेको परिस्थितिमा यति छोटो अवधिमा यसरी आमूल परिवर्तन हुन सम्भव रहेछ । त्यसैले राजनीति सम्भावनाको खेल हो भन्ने भनाइ राम्ररी चरितार्थ भएको यो घटना, सकारात्मक सोंच राखेर र देश र जनताप्रति इमानदारीपूर्वक काम गर्नेहरुलाई प्रेरणको प्रस्थानविन्दु बन्नुपर्ने हो ।

किनभने लामो सङ्घर्षले बहुदलीय प्रजातान्त्रिक प्रणाली स्थापना भयो । निरङ्कुशताको पुनरावृत्ति हुन सक्ने सम्भावनालाई निमिट्यान्न पार्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाले सुख, शान्ति र समृद्धिको नयाँ बाटो तयार भएको र त्यसलाई नेतृत्वले सही गति र दिशानिर्देश गर्नसक्ने अपेक्षा आम नागरिकको रहनु स्वाभाविक थियो तर अपेक्षाकृत हुन सकेन । त्यसको मुख्य कारण निरङ्कुशताविरुद्ध लामो लडाइँ गर्दाको उद्देश्य र त्यसको परिपूर्तिको लागि आफैँले गरेको सङ्कल्प बिर्सेर सुविधाको लालचमा फँस्दा गन्तव्यमा पुग्न नसकेको हो ।

राजनीतिक सम्भावनाको यथार्थतामा मौकापरस्त व्यक्तिहरु राजनीतिको वर्णमाला पढ्दै गर्दा लोकतान्त्रिक गणतन्त्रविरुद्धको जेहाद भन्ठानेर सक्दो उपयोग उनीहरुले गर्न खोजेका हुन् तर त्यो उनीहरुको दुस्साहस हो भन्ने उनीहरुले बुझ्नुपर्छ । यो परिवर्तनको ढोका आँधीले खोले पनि दुर्घटनाले खुले पनि व्यक्तिको सर्वोच्चता पुनःस्थापित गर्न खोलिएको होइन । विधिको सर्वोच्चता कायम गर्न खुलेको छ र त्यसलाई दलीय प्रतिस्पर्धा अपरिहार्य छ ।

निरङ्कुशतन्त्रका हिमायतीहरुले बगेर सात समुद्रमा पुगेको खोला थुनेर त्यहीँ पानि गाग्रोमा भर्न सकिन्न भन्ने राम्ररी बुझ्नुपर्छ । नयाँ बाटो तय गर्ने भनेको पुरानोलाई सुविधाजनक बनाउने हो किनभने त्यसमा सबैको रगत पसिनाको अंश सङ्ग्रहित छ । त्यसलाई अपवाद बाहेक सबैले आत्मसात गरिसकेको ठान्नुपर्छ । किनभने अब मुलुकमा निर्वाचनबाट देश निर्माणको अभियानमा जोडिन दलको साधनलाई अपरिहार्य ठानेर दल दर्ताको उत्साहपूर्ण स्पर्धाको झलकहरु देखिसक्यौँ साथै दलमार्फत् नवीन शैली र दृष्टिकोणसहित नयाँ नेतृत्वबाट यो देशको शासन भार ग्रहण गर्ने अवसरको सिर्जना हुनेछ ।

विगतको नेतृत्वले उद्देश्य, गन्तव्य र अठोट बिर्सेर हामी पछाडि पा¥यौँ । अधिनायकवाद र सर्वसत्तावादको विरुद्धमा लडेर पनि त्यही बाटो पछ्याउन खोजेका नेतातन्त्र अब स्वीकार्य हुँदैन भन्नेसम्मको सन्देश परिवर्तीत राजनीतिक परिवेशले स्पष्ट गरेको छ । यसैबिच एउटा असान्दर्भिक प्रसङ्ग बहसमा ल्याउने दुष्चेष्टा गरिएको छ । व्यक्तिगत कमजोरीलाई दल वा व्यवस्थाको कमजोरी अथ्र्याएर जबर्जस्ती निषेधको राजनीतिमा मुलुकलाई धकेल्ने दुष्प्रयासहरु सुनिन्छन् र सार्वजनिक सञ्चारमा प्रवेश गरेको देखिन्छ । यो प्रयास स्वीकार्य छैन ।

यसले राजनीतिक सङ्क्रमण लम्बिएर अगाडि बढ्ने सबै बाटोहरुमा तगारो सावित हुनेछ र नागरिकको अपेक्षाप्रति कुठाराघात हुनेछ । त्यसैले राजनीतिक दल भित्रको स्वइच्छाचारी प्रवृत्ति निरुत्साहित गर्दै समयानुकूल निर्णय लिन र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरेर जनाकाङ्क्षा सम्बोधन गर्न सक्षम नेतृत्व अगाडि सार्नुप¥यो । अवसर पाएर प्रस्तुति देखाउन नसकेका वा असफल भएका व्यक्तिहरु पैसाको बलमा वा आशीर्वाद लिएर परिर्विीत सत्ताराजनीतिको नेतृत्व पाउनु हुँदैन ।

युवा, शिक्षित तथा विभिन्न विषयमा दक्षता भएका विज्ञहरु पनि हाम्रो मुलुकमा बहकिने गरेको देखिन्छ । मुलुकमा प्रतिक्रियामा सीमित रहने शक्तिले व्याप्त भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गर्न कहल्यै सकारात्मक योगदान दिन सक्तैन । किनभने नराम्रो भइरहेको सबैले देखेर व्यहोरेर अनुभवगरेको कुरा हो तर त्यसको अन्त्यको वैकल्पिक उपाय के हो त्यो सुझाउनुले मात्र समयको मागलाई सम्बोधन गरेको मानिन्छ । त्यसैले व्यक्तिको योग्यता, उमेर वा वाकपटुताले कुनै सान्दर्भिकता पुष्टि गर्दैन ।

अहिले केही नजानेका, अनुशासन केहो थाहा नभएका, मर्यादा कसरी राख्नुपर्छ थाहा नएका दोहोरो चरित्रका मानिसले धम्क्याइरहेका, आफूलाई सर्वज्ञता सम्झिरहेका हुन्छन् । वास्तविकता त्यसको विपरीत छ । तिनीहरु विभिन्न सामाजिक विकृतिहरुको गोटी बनिरहेका, कुलतमा फसिरहेका, अवैधानिक गतिविधिमा संलग्न भएका मानिसहरु आफ्नो कुकृत्य सार्वजनिक नहुन्जेल यसिी माजको सर्वश्रेष्ठ हुने कोसिस गर्छ । कतै त्यसले राजनीतिक संरक्षणमा हुर्किने अवसर पनि प्राप्त गरेको हुनसक्छ ।

त्यसले आफूभन्दा अरुलाई खराब देखाउन प्रयत्न गर्छ । यसैले अपराधलाई राजनीतिकीकरण र राजनीतिलाई आपराधिकीकरणतर्फ धकेल्ने अवस्था आउने हुँंदा राजनीतिक दल शुद्धीकरण एउटा नियमित प्रक्रिया अपनाउन जरुरी जस्तो भइसक्यो । पद पैसा र प्रतिष्ठा एउटै कोटीमा राखेर नेतृत्वको दाउ चलाउनेहरुसँग समाज बदल्ने सङ्कल्प हुँदैन ।

पहिचान र प्रतिनिधित्व प्रणालीको जटिलताले असल र योग्य व्यक्ति प्रतिस्पर्धात्मक विधिमा छिर्न असमर्थ हुन्छन् । यही असमर्थताभित्र लुकेको छ कि जस्तो लाग्छ देशको समृद्धिको खाका । लोकतन्त्रको आत्मासँग साक्षात्कार गर्ने विधा । आफ्नो विचार सुनाउन र त्यसलाई उत्कृष्ट हो भन्न मानिसलाई भनिरहन नपर्ने योग्य र विवेकवान् कहिले हुने हो ? त्यस्तो नहुन्जेलसम्म मत प्रभावित गर्न अनेक थरिका उपाय प्रयोग गर्ने अनुभवीहरु शक्तिमान भइरहने देखिन्छ । यस पटक थोरै भए पनि यो पुरानो विकृति अन्त्यको सुरुवात हो, आम अपेक्षा सायद यही नै हो ।