बालाराम खड्का
तुलसीपुर, २८ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अहिले देश आर्थिक जर्जर र जटिल अवस्थामा रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरको प्रथम अधिवेशनमा बोल्दै डा. वाग्लेले अहिले वैदेशिक रोजगारीकै कारण देशको अर्थतन्त्र चलिरहेको बताएका हुन् ।
उनले दाँत कोट्याउने सिङ्कादेखि हात पुछ्ने पेपरसम्म विदेशबाट आयत हुने गरेको बताए । बहुदलीय व्यवस्थापछि २०४८ सालको गिरिजाप्रसाद कोइरालाको सरकारले आर्थिक सुधार गरेको उल्लेख गर्दै अर्थतन्त्रलाई सुधार र चलायमान गराउन त्यतिबेलाको सरकारले गरेको पहल यथावत् निरन्तरता दिन सकेको भए देशले आर्थिक विकासमा फड्को मार्ने अवस्था रहेको उनले बताए ।
डा वाग्लेले त्यही अवस्थामा अर्थतन्त्रलाई चलायमान गराएको भए अहिले नेपालको अर्थतन्त्र एक सय ३० खर्ब हुने अवस्था रहेको बताए । ६५ खर्बको अर्थतन्त्रमा आज देश रहेको र ठुलो आर्थिक हिस्सा कुशासनको कारण गुमाउनु परेको उनको भनाइ थियो । ‘कुशासन, देशमा थोपरिएको बेथिति, असल शासन र असल नेता नभएका कारण देशको विकास हुन सकेन’, डा. वाग्लेले भने ।
उनले देशमा रहेको यस्तो बेथिति हटाउन राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको र पुरानो राजनीतिक प्रणालीलाई हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले खोलेको र अप्ठ्यारो बाटो रोजेको बताए । उनले व्यक्ति स्वार्थभन्दा देश बन्नुपर्ने भन्दै देशलाई कसरी समृद्ध बनाउने भन्नेमा आफूहरू लागेको बताएका थिए ।
कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले सङ्ख्यात्मक रूपमा पार्टीमा कार्यकर्ता धेरै भए भनेर आफूहरू मात्तिनु नहुने बताए । उनले शालीन, भद्र भएर यिनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र नेता हुन् भन्ने देखाउन आग्रह गरे । ‘अब हामी मात्र नयाँ र विकल्पको दल देशमा रहेनौँ, एक सय २४ दल दर्ता छन्’, झाले भने । उनले मनस्थिति, प्रस्थिति, संस्कृति र रणनीतिक रूपमा तयार भएर सबैलाई अगाडि बढ्नसमेत आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी नगर समितिका अध्यक्ष अर्जुनकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सभापति देवराज पाठक, केन्द्रीय सदस्य गणेश पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाशचन्द्र परियार, विकास अधिकारी, हरिप्रसाद रिजाल, कमल सुवेदीलगायत विभिन्न नेताले बोलेका थिए । कार्यक्रमको सहजीकरण सोमराज बस्नेतले गरेका थिए ।
नगर सभापतिमा भण्डारी
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरको नगर सभापतिमा जीवन भण्डारी चयन भएका छन् । तुलसीपुरमा सम्पन्न रास्वपाको भेलाले भण्डारीको नेतृत्वमा १५ सदस्यीय पालिका तदर्थ समिति गठन गरेको हो । जसको उपसभापतिमा निर्मला वली (केसी), सचिव कमल बस्नेत, सहसचिव टङ्क नेपाली, कोषाध्यक्ष राजन भण्डारी, सदस्यमा शोभा सुवेदी, पार्वती आचार्य, पहलमान रावत, सुमन विश्वकर्मा, वसन्त खत्री, कमल बस्नेत, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायणप्रसाद केसी र भेषराज आचार्य चयन भएका छन् ।