पुस्तक तथा स्टेसनरी व्यवसायी समितिमा नयाँ नेतृत्व, अध्यक्षमा आचार्य

गोरक्ष समाचारदाता
दाङ, २८ मङ्सिर । पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङको अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । शनिवार घोराहीमा सम्पन्न २७ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी समितिको निवर्तमान अध्यक्षमा केशवराज सुवेदी, वरिष्ठ उपाध्यक्षमा तिर्थ बहादुर डाँगी, उपाध्यक्षमा प्रेम प्रकाश डिसी र ताराप्रसाद चुदाली, सचिवमा विष्णु बहादुर अधिकारी, सहसचिवमा गंगामणि डाँगी र कोषाध्यक्षमा रमेश शर्मा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा गणेश केसी, अनिल पौडेल, जुगराम चौधरी, पुजा चौधरी, कृष्णभक्त गुप्ता र सुभाष शर्मा चयन भएका छन् ।

यसैगरी लेखा संयोजकमा दिलिप खड्का, सदस्यहरूमा खेमराज खनाल र दिपक खनाललाई चयन गरिएको छ । त्यस्तै क्षत्रीय संयोजकमा घोराहीमा देवीराम पोख्रेल, तुलसीपुरमा गणेश कुमार न्यूरे र लमहीमा पदम प्रसाद भण्डारी चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
यसैगरी साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले पुस्तक तथा स्टेसनरी व्यवसाय शैक्षिक तथा बौद्धिक क्षेत्रसँग जोडिएको व्यवसाय भएको भन्दै यसलाई मर्यादित बनाउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले पछिल्लो समयमा यो व्यवसायमा विभिन्न चुनौती र समस्या थपिँदै गएको उल्लेख गर्दै समस्या र चुनौतीलाई निराकरण गर्न व्यावसायिक एकताको आवश्यकता औल्याए । यो व्यवसाय शैक्षिक र बौद्धिक क्षेत्रसँग जोडिएकाले मर्यादित बनाउनु पर्ने उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका उपाध्यक्ष बुद्धप्रसाद अधिकारीले महासंघ पुस्तक तथा स्टेसनरी व्यवसायीका अधिकार प्राप्ति र समस्या सामाधानका लागि लागिपरेको उल्लेख गर्दै यसका लागि जिल्लादेखि प्रदेश र केन्द्रसम्ममा व्यावसायिक एकता आवश्यक रहेको बताए ।

अर्का विशिष्ट अतिथि पुस्तक तथा स्टेसनरी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमानन्द शर्माले यो व्यवसायलाई व्यावसायिक मर्यादित राख्नका लागि व्यवसायी नै जुट्नुपर्ने बताए । देशको अवस्थाका कारण पछिल्लो समयमा पुस्तक तथा स्टेसनरी व्यवसाय नै सङ्कटमा पर्दै गएको भन्दै शर्माले सुधार गर्न सकिएन भने व्यवसायी आफ्नो व्यवसायबाटै पलायन हुने अवस्था आउनसक्ने बताए ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङका अध्यक्ष केशवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका निवर्तमान लुम्बिनी प्रदेश अध्यक्ष भैरवबहादुर रावल, पुस्तक तथा स्टेसनरी समिति रुपन्देहीका अध्यक्ष गोपाल बस्याल, सल्यानका अध्यक्ष डम्मर केसी, दाङ जिल्ला पूर्व अध्यक्षहरू लालमणि लम्साल, देवीप्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सम्मानित व्यक्तित्व पूर्णबहादुर मल्ललगायतले शुभकामना व्यक्त गरेका थिए ।

पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङका वरिष्ठ उपाध्यक्ष सन्तोष आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाको संगठानिक प्रतिवेदन सचिव प्रेमप्रकाश डिसीले प्रस्तुत गरेका थिए । कार्यक्रममा दाङमा पुस्तक तथा स्टेसनरी व्यवसायीलाई संगठित गर्ने तदर्थ समितिका पदाधिकारी एवम् सदस्यहरू, संस्थापक पदाधिकारी एवम् सदस्यलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव डिसीले गरेका थिए ।