कालिका सामुदायिक वनको ३०औँ साधारणसभा

गोरक्ष समाचारदाता
दाङ, २८ मङ्सिर । घोराही उपमहानगरपालिका–१८ मा रहेको कालिका सामुदायिक वन उपभोक्ता समुहको ३० औँ साधारणसभा शनिवार जलुकेमा सम्पन्न भएको छ ।

समूहका अध्यक्ष यसोदा पाण्डेको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य टीका थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक वनको संरक्षण गर्नुका साथै यसको सदुपयोग गर्न लाग्नुपर्ने बताएका थिए । उनीहरूले सामुदायिक बनलाई आयआर्जनसँग जोड्न आग्रह गरेका थिए ।

सरकारले विभिन्न वहानामा वन संरक्षण गर्ने उपभोक्तालाई नै दुःख दिने गरेको भन्दै यस्ता कार्य रोकिनुपर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा जिल्ला वन महासंघका प्रतिनिधि रोबर केसी, स्थानीय वन महासंघ घोराही उपमहानगरपालिका अध्यक्ष सोभाराम चौधरी, टोल विकास संंस्थाको तर्फबाट मात्रिकाप्रसाद पाण्डे, उपभोक्ताका तर्फबाट डम्बरबहादुर रावत, रेखा पाण्डेलगायतले भनाइ राखेका थिए ।

साधारणसभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष सोभिलाल पुन, वार्षिक प्रतिवेदन सचिव केशरबहादुर पुनले प्रस्तुत गरेका थिए । साधारणसभाले आर्थिक प्रतिवेदन तथा वार्षिक प्रतिवेदन पारित गरेको समूहले जनाएको छ । सभाले वन समूहको १० वर्षीय कार्ययोजना पारित गरेको छ । उपाध्यक्ष हिमकला केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशरबहादुर पुनले गरेका थिए ।