गोरक्ष समाचारदाता
तुलसीपुर, २८ मङ्सिर । तुलसीपुर–४ स्थित श्री गादीवराह सामुदायिक वन उपभोक्ता समूहको ३३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समूहका अध्यक्ष ठाकुरप्रसाद बन्जाडेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–४ का वडाध्यक्ष तुलसी थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वक्ताले सामुदायिक वनको संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको जिकिर गरेका थिए । सामुदायिक वनले ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागेको विज्ञान पार्कको विकासका लागि आआफ्नो क्षेत्रबाट सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन सचिव कल्पना रेग्मी वलीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मेनका पार्धेले प्रस्तुत गरेका थिए ।
सधारणसभामा गादीवराह सामुदायिक वन उपभोक्ता समितिभित्रका ज्येष्ठ नागरिक एक जना पुरुष र एक जना महिला तथा गुरु जजुर माविमा पढ्ने उपभोक्ता समितिबाट एसइईमा उत्कृष्ट अङ्क ल्याई प्रथम हुने एक÷एक जना छात्रछात्रालाई सम्मान गरिएको थियो ।
सहसचिव चेतराजसिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा श्री गणेश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज भण्डारी, बरिष्ठ सल्लाहकार सुरेन्द्रबहादुर खड्का, लेखा संयोजक तुल्सीप्रसाद भण्डारी, वन कार्यालयमा प्रतिनिधि हेमन्तकुमार वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सामुदायिक वन समूहमा सात सय ५८ वटा सदस्य घर रहेका छन् । कार्यक्रमको सहजीकरण सदस्य वेदबहादुर वलीले गरेका थिए ।