घोराहीमा गोर्खा लोटस बुट क्याम्प सञ्चालन

दाङ,२६ मङ्सिर । घोराहीमा गोर्खा लोटस बुट क्याम्प सञ्चालनमा आएको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकायमा इच्छुक युवाहरुलाई प्रशिक्षण दिने उद्देश्यले घोराही–१४ नयाँ बजारमा गोर्खा लोटस बुट क्याम्प सञ्चालनमा आएको हो ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरि क्याम्पसको उद्घाटन गरिएको हो । क्याम्पका अध्यक्ष तथा सञ्चालक बलबहादुर बुढाका अनुसार लाहुनेमा इच्छुक युवाहरुलाई प्रशिक्षण दिने उद्देश्यले होस्टेलको व्यवस्थासहित क्याम्पस सञ्चालन गरिएको बताए । सुरक्षित, अनुशासित र प्रेरणादायी वातावरण सिर्जना गर्दै युवालाई प्रतिस्पर्धी बनाउन क्याम्प प्रतिबद्ध रहेको छ । क्याम्पको उद्घाटन गर्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशीले युवालाई सही दिशामा लैजानका लागि क्याम्पसले सहयोग गर्ने बताए ।

बुट क्याम्पहरूले बिभिन्न क्षेत्रमा आत्मनिर्भरता, रोजगार र कौशल विकासमा महत्वपूर्ण योगदान पुयाउन सहयोग पुग्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ दाङ शाखाका पुर्व अध्यक्ष डा. सुदिप गौतमले सुरक्षा निकायमा भर्नाका लागि इच्छुक युवा राष्ट्रको मेरुदण्ड भएको भन्दै उनीहरुलाई सही तालिम र मार्गदर्शनका लागि गोर्खा लोटस बुट क्याम्प सहयोगी बन्ने बताए । उनले भने,‘गोर्खा लोटस बुट क्याम्पले युवालाई अनुशासन, आत्मविश्वास र सकारात्मक सोचतर्फ उन्मुख गराउने छ । केवल तालिम होइन, चरित्र निर्माणमा पनि यसको भूमिका महत्वपूर्ण रहने छ ।’

न्युन बर्गीय परिवारले तालिम लिन सक्ने गरी खाना तथा बस्नेको प्रबन्ध गरिएको सञ्चालकको भनाई छ । कार्यक्रममा भुतपूर्व प्रहरी संगठनका कोषाध्यक्ष पूर्व प्रहरी नायव निरीक्षक घनश्याम केसी, समाजसेवी रुपक थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन पत्रकार दीपक वलीले गरेका थिए ।