गुटको नाममा विभाजन अस्वीकार्य : सहमहामन्त्री राठौर

प्रिया स्मृती गजमेर
लमही, २७ मङ्सिर । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले गुटको नाममा विभाजनको भूमिका खेल्नु अस्वीकार्य भएको बताएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले शुक्रवार लमहीमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले वडादेखि केन्द्रसम्म सर्वसम्मत रूपमा प्रतिनिधि छनोट हुने गरेर महाधिवेसनको तयारीमा लाग्न आग्रह गर्दै गुटको नाममा विभाजन गर्न खोज्नेसँग सजक हुन आग्रह गरेका हुन् ।

सहमहामन्त्री राठौरले नेताले कार्यकर्तालाई न्याय दिन नसके कार्यकर्ताको भरोसा र मनोबल दुवै गुम्ने भएकाले नेतृत्वले कार्यकर्ताप्रति माया र जिम्मेवारीबोध राख्न आवश्यक रहेको बताए । पार्टीले प्रभावकारी प्रशिक्षण नदिनु पनि कार्यकर्तामा नकारात्मक सोच बढ्नुका कारण भएको उनको भनाइ थियो । ‘बुढापाकाले धानेको पार्टी हो, गुट उपगुट हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ’, सहमहामन्त्री राठौरले भने, ‘तर गुटको नाममा विभाजनको भूमिका खेल्नु अस्वीकार्य छ ।’ उनले जेन–जीको नाममा पार्टीभित्र विवाद सिर्जना गर्नु गैरजिम्मेवार कदम भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका सहमहामन्त्री राठोरले पार्टीको पन्ध्रौँ महाधिवेशनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । पार्टीमा निर्वाचनको महोल सुरु भएको भन्दै इमानदार र पार्टीको हितको पक्षमा काम गर्ने नेतालाई बिर्सन नहुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले जेन–जी आन्दोलनका नाममा भएका गतिविधिलाई लिएर पार्टीभित्र केही व्यक्तिहरूले विभाजनतर्फ लैजाने षड्यन्त्र गरेको आरोप लगाए । उनले आन्दोलनका क्रममा अराजक समूहबाट कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणप्रति सहानुभूति नदेखाई उल्टै हस्ताक्षर सङ्कलन गर्दै देश दौडाहा गर्नु गलत सङ्केत भएको बताए ।

राणाशासन र पञ्चायत दुवै हटाउन सफल भएको कांग्रेसलाई विचलित हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै राठौरले भने, ‘राजनीतिमा व्यक्तिले होइन, विचार र इमानदारीले नेतृत्वको पहिचान तय गर्छ ।’ कांग्रेसले शान्ति र विकासका काम गरे पनि सुशासन र भ्रष्टाचार नियन्त्रणमा कमजोरी रहेको कुरालाई पार्टीले आत्मसात् गर्नुपर्ने उनको धारणा थियो ।

यसैगरी कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका नाममा अराजक समूहले नेपालमा घुसपैठ गरेको दाबी गरे । भूराजनीतिक असन्तुलन बुझ्न नसक्दा देश अस्थिर विद्रोहको शिकार बन्न पुगेको उनले बताए । उनका अनुसार गठबन्धन सरकारको नेतृत्वमा रहेका बेला आन्दोलन सुरु हुँदा कांग्रेसलाई गठबन्धन बचाउने दायित्व थियो । ‘गठबन्धन नतोड्नु अपराध हो र ?’ भन्दै उनले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अराजक क्रियाकलापको समर्थन कहिल्यै नगर्ने बताए । लमहीमा भएको भेला आगामी पन्ध्रौँ महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपनाउने रणनीतिसम्बन्धी छलफल भएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालको अध्यक्षता र केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौरको प्रमुख आतिथ्यता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले स्वागतबाट सुरु भएको भेलामा केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रुपा विक, गुरु बराल, पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, रोल्पा, प्युठान, रुकुम पूर्व, बाँके र बर्दियाका नेताहरूले धारणा राखेका थिए ।