खेमराज रिजाल
दाङ, २६ मङ्सिर । नदीजन्य पदार्थ उत्खनन्का लागि जिल्लाका पाँच पालिकाका ६६ वटा घाट सिफारिस गरिएको छ । जिल्ला अनुगमन समिति, दाङले आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत आइइई प्रतिवेदन स्वीकृत भएका पाँच पालिकाका सम्भावित नदीजन्य पदार्थ उत्खनन् क्षेत्रहरूको स्थलगत अनुगमन गरी ६६ वटा घाटमा नदीजन्य पदार्थ उत्खनन्का लागि सिफारिस गरेको हो ।
आइइई गरिएका ती घाटमा उत्खनन् गर्न उपयुक्त हुने भन्दै अनुगमन समितिले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति खुमलटार काठमार्डौलाई सिफारिस गरेको छ ।
जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरी सिफारिस गरिएका ती क्षेत्रहरूमा चुरेबाट आवश्यक परेमा पुनः स्थलगत अनुगमन गरी सम्बन्धित पालिकालाई नदीजन्य पदार्थ उत्खनन् र सङ्कलनका लागि अनुमति दिएपछि मात्र पालिकाहरूले ती स्थानमा नदीजन्य पदार्थ उत्खनन् र घाटगद्दीको ठेक्का आह्वान गर्न पाउने वैधानिक प्रावधान रहेको छ ।
हरेक वर्ष ठेक्का लगाउनुपूर्व जिल्ला अनुगमन समितिलाई अनुगमन गराएर चुरेमा सिफारिस पठाएपछि मात्र स्थानीय सरकारले नदीजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउन पाउने छन् । नदीजन्य पदार्थको ठेक्का समयमै लाग्न सकोस् र नदीजन्य पदार्थको चोरी निकासी रोकियोस् भनेर छिटो छिटो अनुगमनको काम सुरु भएको जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समिति संयोजक नित्यानन्द शर्माले बताए ।
वर्षात् सकिना साथ नदीजन्य पदार्थको चोरी निकासी हुन थालेको गुनासो आएपछि हतार हतार अनुगमनको काम थालिएको उनले बताए । वर्षात सकिएसँगै धमाधम विकास निर्माणका काम सुरु हुने भएकाले निर्माण व्यवसायीले चाँडो ठेक्का लगाउन आवाज उठाउन थालेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्ला नदीजन्य पदार्थ अनुगमन एवम् व्यवस्थापन समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख वा निजले तोकेको प्रतिनिधि, सशस्त्र प्रहरी प्रमुख वा निजले तोकेको व्यक्ति, आन्तरिक राजस्व कार्यालयका प्रमुख वा प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका इन्जिनियर र सम्बन्धित स्थानीय पालिकाका प्रमुख सदस्य रहने छन् ।
अनुगमन समितिको सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी रहने व्यवस्था छ । ‘आइइई स्वीकृत भएका जिल्लाका पाँच वटा पालिकाको अनुगमन गरी प्रतिवेदनसहित उत्खनन्का लागि चुरेमा सिफारिस गरी पठाइसकेका छौँ’, अनुगमन समितिका सदस्य सचिव तथा जिल्ला समन्वय समितिका सदस्य सचिव सावित्री श्रेष्ठले गोरक्षलाई भनिन् ।
अनुगमन समितिले पछिल्लो दुई साता यता पाँच वटा पालिकाका ६६ घाटको अनुगमन सकिसकेको छ । यसै साता घोराहीको पनि अनुगमन सक्ने गरी तयारी गरिएको छ । अनुगमन समितिका अनुसार दंगीशरण गाउपालिकामा आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत आइइई उल्लिखित भएका १० वटा घाटमा उत्खनन्को सिफारिस गरिएको छ ।
सिफारिस गरिएका घाटहरूमा दंगीशरण–२ को कुइरीगनार घाट, वडा नं १ को बारबदिया घाट, दंगीशरण–१ र ४ को पातु खोला र बबई दोभान सीमाना, वडा नं ६ स्थित बबई र चिराघाटको दोभान, ६ नं वडाकै चिराघाट खोला हेडबक्स, वडा नं ७ को सिमथाना बबई घाट–१ र सिमथाना बबई घाट २, वडा नं ७ कै थपगाउ क्षेत्र, दंगीशरण–६ स्थित माया खोला दोभान घाट, र वडा नं ५ मा रहेको सलौरा पातु खोला घाट रहेका छन् ।
यसैगरी समितिले बबई गाउँपालिकामा ११ घाटको स्थलगत अनुगमन गरी उत्खनन्का लागि चुरेमा सिफारिस गरिएको जनाएको छ । बबई–७ स्थित बबई नदीको बेलासपुर घाट, सोही वडामा रहेको बबई नदीको झारगजेरी घाट, बबई नदीकै सोही वडाको मदाने घाट, बबई–७ कै बबई नदीको कालीतारा घाट, बबई–६ स्थित बहुला खोलाको टिकुलीगैरा घाट, बबई–५ मा पर्ने बबई नदीको मकैतारा ट्वाङ खोला दोभान घाट साइट–१, रहेका छन् ।
बबई नदीको मकैतारा ट्वाङखोला दोभान घाट साइड–२, बबई–५ स्थित बबई खोलाको हुरुम घाट, सोही वडामा रहेको बबई नदीकै जलुके घाट र बबई–१ स्थित कल्लेरी बबई दोभान घाट रहेका छन् । अनुगमन गरिएका सबै घाटमा उत्खनन्का लागि अनुगमन समितिले चुरे समक्ष सिफारिस गरेको सदस्य सचिव श्रेष्ठले बताएकी छिन् ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा पनि विभिन्न वडाका १९ घाटमा नदीजन्य पदार्थ उत्खनन्का लागि स्थलगत अनुगमन गरिएको छ । स्थलगत अनुगमन गरिएका घाटहरूमा तुलसीपुर–८ स्थित भमके र पातु खोला दोभान उत्तर एरिया, वडा नं ८ कै पक्की पुलको दक्षिण बटोलपुर क्षेत्र, सोही वडाकै बटोलपुर एरिया, तुलसीपुर–१० स्थित राइखलियान क्षेत्र, वडा नं ११ को मोतीपुर घाट, १२ नं. वडामा रहेको शीतलपुर बबई नदीदेखि पूर्वतर्फको क्षेत्र छन् ।
यसैगरी तुलसीपुर–१३ को शीतलपुर बबई नदीदेखि पश्चिमतर्फको क्षेत्र, तुलसीपुर–१४ मा रहेको ग्वार खोला दोभान पुलदेखि दक्षिण तर्फको क्षेत्र, सोही वडाकै चौपर्या घाट, हापुर खोला र बबई दोभान, सोही वडाको डवकपुर घाट, तुलसीपुर–१७ स्थित पत्रे खोला र सक्राम खोला क्षेत्र १, २, ३, वडा नं १६ मा रहेको समावेशी क्रसरदेखि दक्षिणतर्फको क्षेत्र, सोही वडामा पुकार पसलदेखि भोजपर जाने बाटोको उत्तरतर्फको क्षेत्र, तुलसीपुर उपमहानगरपालिका १९ स्थित ग्वार खोला पुलदेखि पाँच सय मिटर माथिको क्षेत्र, तुलसीपुर उपमहानगरपालिका–४ र १९ मा रहेको ग्वार खोलाको तेल्या कुलोदेखि माथिको क्षेत्र र तुलसीपुर–४ स्थित वायो खोला क्षेत्रको स्थलगत अनुगमन गरी चुरेमा सिफारिस भइसकेका छन् ।
राप्ती गाउँपालिकामा अनुगमन समितिले राप्ती नदीको विभिन्न क्षेत्रमा चार वटा घाटको अनुगमन गरी उत्खनन्का लागि सिफारिससमेत गरेको छ । सिफारिस गरिएका घाटहरूमा राप्ती गाउँपालिकामा चार घाट राप्ती नदीको कटाहा घाट ‘क’ तथा ‘ख’ क्षेत्र, राप्ती नदीकै खुररिया घाट बगर क्षेत्र, राप्ती नदीकै बगरापुर घाट रहेका छन् । राप्तीको पनि सिफारिस चुरे समक्ष पठाइसकिएको अनुगमन समितिले जनाएको छ ।
लमहीमा विभिन्न नदी क्षेत्रका २२ वटा घाटको अनुगमन गरी उत्खनन्का लागि चुरेमा सिफारिस भइसकेको छ । लमही नगरपालिका वडा नं १ स्थित सानो नदी, लमही–२ स्थित केरुनिया घाट, छिङ्गटपुर घाट, हनियापुर घाट र राजपुर बठनिया घाट, वडा नं. ४ मा रहेका बुट्कहवा घाट, बर्का घुङ्ना घाट र सेम्रहवा घाट, लमही–५ मा रहेको कोलही ढिकपुर सीमाना घाट, वडा नं ६ मा रहेको बलरामपुर घाट र ढिकपुर घाट, वडा नं ७ मा रहेको हस्नापुर घाट, वनघुस्री घाट, वनगै घाट र कस्यापुर घाट छन् ।
लमही–८ मा रहेका गिधनिया घाट, धनपुरुवा घाट, माथिल्लो असानी घाट र खोलीगाउँ बाघखोली घाट र लमही–९ मा रहेका रिहार डेरा घाट, रिहार पैते घाट र खयरबट्टी घाटको अनुगमन गरी सिफारिस पठाइसकिएको बताइएको छ । समितिले अनुगमन गर्न बाँकी राजपुर गाउँपालिका, गढवा गाउपालिका, शान्तिनगर गाउँपालिका, बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका रहेका छन् । घोराही उपमहानगरपालिकामा अनुगमन सुरु भैसकेको छ ।